गल्तीले एक जना महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि…….

0
251

तपाईंका खातामा झुक्किएर ९० करोड रुपैयाँ आयो भने के गर्नुहुन्छ ?

थेवामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो।

तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्।

अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ।

साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ।

सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो।

त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो। तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो।

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो।

पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ।

गल्तीको अनुभूति

मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन।

त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन्।

ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन।

उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन्।

चार कोठा, चार बाथरुम, सिनेमा हल, जिम र दुइटा ग्यारेज भएको उक्त भवनको क्षेत्रफल ५०० वर्गमिटर थियो र त्यो साढे १३ लाख डलरमा किनिएको थियो।

क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो।

अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटले अघिल्लो शुक्रवार भने, “यस्तो लाग्छ कि निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो।”

अदालतको फैसला

अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ।

अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो।

तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए।

मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन्।

उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ।bbc/nepali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here