आहा ! अनि पो दशैं आएझैं लाग्यो

0
262


माथ्लाघरे साल्दाई परदेशबाट सुटकेस बोकेर
सप्तमीको दिन घरमा टुप्लुक्क आइपुग्दा अनि पो
दशैं आएजस्तो लाग्यो ।

रातो माटो, कमेराले लिपेको , खरले छाएको
माकुराको जालो झार्दै गर्दा आमाले आँगनको
झार अनि चौकोटको लेउ खुर्किदै गर्दा अनि पो
दशैं आएजस्तो लाग्यो ।।

दशैंलाई भन्दै आमाले सुकेको थाङ्ग्रोमा
राखेको काक्रो पटपट फुट्दा पो
दशैं आएजस्तो लाग्यो ।।

लिङ्गेपिङ्ग हाल्न भन्दै बाँस माग्न तल्ला घरे
बडीबा र माथ्लाघरे काका अउनु हुँदा अनि पो
दशैं आएजस्तो लाग्यो ।।

दशैंलाई भनेर टेको लगाएर पकाउन राखेको
कमिले केरा लहलह बोटमा पहेलै हुँदा अनि पो
दशैं आएझैं लाग्यो ।।

दशैंलाई भन्दै चिउरे धान कुट्न घर
पछाडिको ढिकीमा रातभरि बडीआमा,
काकी, फुपुहरुको गन्थन सुन्दा पो
दशैं आएजस्तो लाग्यो ।।

काठमाण्डौ पढ्न जानु भएको काकाको
छोरो, घरको ठूलो दादा गुदपाकको
कोसेली बोकेर घटस्थापनाको भोलिपल्ट
नाइटबसबाट सात वजे घरमा आइपुग्दा अनि पो
दशैं आएजस्तो लाग्यो ।।

बा ले किनिदिनु भएको नयाँ लुगा गाउँभरिका
साथीहरुलाई देखाउँदै दराजमा राख्दै निकाल्दै गर्दा अनि पो
दशैं आएजस्तो लाग्यो ।।

मामल जाने म त, हजुरीसंग
बुढा मावल टिका लगाउन जाने भन्दै भाईसंग
भलाकुसारी गर्दा अनि पो
दशै आएजस्तो लाग्यो ।।

वरिपरि मासु काटेको अनि आज यति
मासु आइयो , भनेर गफ गरेको सुन्दा अनि पो
दशैं आएजस्तो लाग्यो ।।

आमाले नक्सल बजार गएर नाम्लो लगाएर
पुजारी तेलको टिन बोकेर हातमा मसलाको पोको लिएर
आउँदा पो दशैं आए जस्तो लाग्यो ।।

गाउँ घरका मठमन्दिर, दुर्गापिठहरुमा पुजा – आजा
शंखघण्टको ध्वनि सुनिदा पो
दशैं आए जस्तो लाग्यो ।।

यस पालिको दशैं आयो,आज विजया दशमी
देश परदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा
विजया दशमीको मंगलमय शुभकामना ।

लेखक : बाल्मीकि एजुकेशन फाउण्डेशनकी शिक्षक हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here