निरपेक्ष सहभागिताले निर्वाचनको मर्यादा बढ्छ

0
319

जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न निर्वाचनमा उम्मेदवार हुनेहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । अबको पाँच हप्ताको समय तिनै उम्मेदवारहरुका लागि ‘गर वा मर’को हो । झापाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फका पाँच वटा सिटका लागि एक सय एक जनाले उम्मेदवारी दिएका थिए । प्रत्येक निर्वाचनमा उम्मेदवार हुन अथवा मतदाताका रुपमा मतदान गर्नु नागरिकको अधिकार हो र कर्तव्य पनि । अझ प्रजातन्त्रको मर्म र भावना भनेको बहुमतका आधारमा राज्यसत्ता सञ्चालन गुर्न हो । यसअर्थमा पनि नागरिकले प्रत्येक आवधिक निर्वाचनमा जनताद्वारा अनुमोदित भई राज्य सञ्चालनको हिस्सा हुन पाउनुपर्छ । त्यही आधारमा पाँच वटा सिटका लागि बीस गुणा बढी आकांक्षी प्रतिनिधिसभातर्फ मात्रै देखिएका छन् । ती मध्ये हरेक निर्वाचन क्षेत्रमा मुख्यतः दुई व्यक्ति कै बीच प्रतिष्पर्धा हुन्छ ।

झापालाई देशकै सचेत जिल्लामा गनिन्छ । विगतका राजनीतिक आन्दोलनहरुमा झापाले अग्रणी भूमिका निर्वाह गरेको हो । त्यसैले पनि चेतनाले झापालीलाई समृद्ध ठानिन्छ । तर, पछिल्लो समय राजनीतिमा सेवाभाव हराएको छ । व्यक्तिवादी चरित्र र स्वार्थ हावी हुँदै गएको छ । यस्तोमा मतदाताले कुनै मोहको आकर्षणमा अलमलिनु हुँदैन । बहुदलीय शासन पद्धतिमा उम्मेदवार दलकै हुन्छन् जो स्वभाविक पनि हो, तर मतदाताले कोद्वारा आफ्नो हकअधिकारको संरक्षण हुनसक्छ त्यसको मूल्यांकन गर्नुपर्छ । यसो गर्दा मतदाताको निरपेक्ष मतले योग्य, सक्षम व्यक्ति निर्वाचित हुन्छ, जसले देश र जनताको पक्षमा निर्णायक भूमिका निर्वाह गर्न सक्छ ।

यसपटकको निर्वाचन मूलतः दुई धु्रवका बीचको प्रतिष्पर्धामा केन्द्रीत छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन एकातिर छ भने अर्कातिर नेकपा एमाले नेतृत्वको गठबन्धन वा उनीहरुको भाषामा स्थानीय आवश्यकता अनुसारको तालमेल । हार र जीत यही दुई धु्रवका बीचबाट हुने जान्दाजान्दै उम्मेदवार बनिएकाहरु आफ्नो नागरिक अधिकारको प्रत्याभूतिका लागि चुनावी मैदानमा छन् । शक्ति, सामथ्र्य, पैसा र बाहुबल निर्वाचन जित्ने मूल आधार बनिएको र खर्चिलो, भड्किलो र अस्वस्थ हुँदैछ भन्ने जान्दाजान्दै त्यसलाई रोक्ने, नियन्त्रण गर्ने कुनै आधार नदेखिँदा पनि उत्साहित उम्मेवादरहरुको ऊर्जा सम्मानयोग्य छ । धेरैको उपस्थितिले मतभारको दम्भलाई नियन्त्रण पनि गर्छ । बढ्दो विकृति, विसंगति, धाँधली र भयपूर्ण निर्वाचनको निरन्तरतालाई निरुत्साहित गर्न पनि सहयोग गर्छ । साथै निर्वाचन आयोगले भने जस्तै स्वच्छ, स्वस्थ, निष्पक्ष, भयरहीत र स्वतन्त्र निर्वाचन गराउन पनि सबै मतदाताको समेत सहभागिता प्रभावपूर्ण हुनुपर्छ । यसले मात्र निर्वाचनको गरिमाको समेत रक्षा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here