नेताको घरमा पनिर रसबरी मतदाताकोमा कोला चिउरा

0
323

कथा

भुँडी छाम्दै माइलादाइ भन्छन्– ‘दशैंमा पिल्लिइसकेको कोला र ढुँडी परेको चिउरा खाएर होला मेरो त भुँडी अझै पनि ढुस्स भइरा’छ ।’ माइलादाइकी श्रीमती भन्छिन्– मेरो पनि भुँडी फुल्लिएर पड्केला जस्तो भा’छ त्यै कोला र चिउरा खाएर ।’ माइलादाई ठट्टा गर्दै भन्छन्– ‘तेरो भुँडी फुल्लिए मात्रै त भइहाल्थ्यो नि रातभरी पाधेर सुत्नै दिइनस्, पधुई ।’

‘अँ मैले चैँ पाधेँ हुँला बरु तिमी आफैंले कट्टुमै कोला र चिउरा जस्ताको तस्तै निकाल्या होइन राति र हुँदी । छ्या..छ्या..छ्या.. उ हु हु गनाएर खपिसक्नु न सुतिसक्नु ओछेन हगुवा कहिँको । दशैँमा केही गतिलो खानेकुरा जोहो गर्नु छैन ।’ छेवैमा बसेर बाबु र आमाको गन्थन सुनिरहेका छोराछोरीहरु सेम सेम भन्दै र नाक थुन्दै भाग्छन् ।

माइलादाइहरु ओत लागेर बसेको पुलमुनि कसैले पुलमाथीबाटै प्लाष्टिकका पोका भ्यात्त पारेर फालेर जान्छ । माइलादाइ पोकाहरु खोलेर हेर्छन् त नौ दश जनालाई पुग्ने मासु भात र मिठाइहरु रहेछन् । माइलादाइ खानेकुराका पोका हातमा झुण्ड्याउँदै खानेकुरा फालेर जाने मान्छे पछ्याउँदै जान्छन् । त्यो मानिस मेयरको घरमा पस्छ । माइलादाइको पालो ती खानेकुराहरुको पोको मेयरको घरमै फर्काइदिन्छन् । तर, त्यहाँ मेयरका कामदार माइलादाइसँग ठालु पल्टिँदै गलफत्ती गर्न थाल्छ । गलफत्ती सुनेर मेयर पनि आइपुग्छन् ।

मेयर सोध्छन्– के भो, यो को हो, कसरी हाम्रो घरको गेटभित्र छि¥यो ? मेयरका कामदार भन्छ– मैले दशैँमा उब्रेपाभे्रको मासु भात र मिठाइहरु लगेर दिएको तर यसले त उल्टै फिर्ता ल्यायो । मेयर भन्छन्– अनि मेरा कामदारले दया गरेर तँलाई खानेकुरा दिएको र’छ अनि किन फिर्ता गरेको ? माइलादाइ भन्छन्– मेरो परिवार गरीब होला तर मगन्ते होइन । हामीले दशैँमा मासु भात र मिठाइहरु खान नपाए पनि कोला र चिउरा खायौँ । मेयर भन्छन्– अनि गरीबले चैं मासुभात र मिठाइ खादैनन् ? माइलादाइ भन्छन्– खान्छन् तर अरुले सित्तैमा दिएको र मागेर खादैनन् । गच्छे अनुसार खान्छन्, जस्तो हजुरको गच्छे ठूलो छ, क्रयशक्ति धेरै छ र मासु भात र मिष्ठान्नहरु खान सक्नुहुन्छ । हामी गरीबको क्रय शक्ति कम छ, कोला र चिउरा खायौँ । मेयर भन्छन्– तिमेरलाई दया गरेर दिँदा पनि मात्तिन्छौ अनि कोला चिउरा नखाएर के खान्छौ त ? माइलादाइ भन्छन्– मेयरसाब यस्तो काम गर्नुहोस् कि कसैलाई दया गरिरहनु नपरोस् ।

मेयर भन्छन्– ल ठीकै छ तेरो कुरा तर यी खानेकुरा त्यतै फालिदिएको भए भइहाल्थ्यो त किन फर्काएको ? यहाँ मेरो घरमा फोहोर हुन्छ । माइलादाइ पनि के कम, भन्छन्– त्यही त भनेको हजुर, म र मेरा परिवार ओत लागेर बसेको पुल मुनी र वरपर पनि फोहोर होला भनेर हजुरको घरको फोहोर हजुरले नै व्यवस्थापन गर्नुहोस् भनेर फिर्ता ल्याइदिएको । मेयरको दिमाग रन्थनियो कि क्या हो, मेयर थाप्लोमा हात राख्दै वरपर टहलिन्छन् ।

केही क्षण पश्चात मेयर भन्छन्– अनि तिमेरलाई पुलमुनी बस्न कसले दियो ? पुलमुनीको जग्गा महानगरको पर्छ । तिमीहरु त्यहाँबाट हटिहाल नत्र नगर प्रहरी र डोजर लगाइदिन्छु । माइलादाइ भन्छन्– त्यो पुल मुनी मेरो परिवार मात्र होइन, अरु धेरै परिवार बस्छन् । तिमीहरु किन पुलमुनी बस्नु परेको तिमेरको घर छैन ? माइलादाइ भन्छन्– थियो । मेयर सोध्छन्– अनि ? माइलादाइ भन्छन्– महानगरले भत्काइदियो । मेयर फेरि सोध्छन् किन ? माइलादाइ भन्छन्– हाम्रा टिनका टहरा र छाप्राहरु थिए ।

महानगरले टिनको टहरा र छाप्रालाई पनि नक्सा खोइ ? भनेर देखिसहेन । मेयर भन्छन्– नक्सा बिनाका अवैध संरचना थिए नि त तिमेरको । बैध हुनलाई नक्सा पास भएको पक्की घर हुनुपर्छ । माइलादाइ भन्छन्– त्यसोभए मेरो परिवार र अरु परिवारले पक्की पुल मुनी बास बसेर ठीकै ग¥यौं । मेयर भन्छन्– कसरी ? माइलादाइ भन्छन्– किनकि पुलको नक्सा पास छ । नक्सा बिनाको त्यति ठूलो पुल बन्नै सक्दैन । त्यसैले बकाइदा बैध तथा नक्सा भएको पक्की संरचना मुनी हामीले ओत लिएका छौँ । मेयर भन्छन्– तिमीहरुले पुलमुनी बसेर अतिक्रमण गरेका छौ । माइलादाइ भन्छन्– हामीले पुलमुनी अतिक्रमण ग¥यौं भने पुलमाथि हिँड्ने तपाई मेयर लगायतका पधिकारी, हरेक मानिस, सवारी साधन, हवाईजहाज, चराहरु, बादल र आकाशले पनि अतिक्रमण गरेको मानिनुपर्छ । माइलादाइको कुरा सुनेर मेयर भन्छन्– लु मैले तँ जस्तो घटियासँग बोलेर सकिन ।

माइलादाइ भन्छन्– घटिया त को पो हो ? हजुर त नगर प्रहरीसम्म पनि हुन नसुहाउने मान्छेलाई मतदाताले भुलवश मेयर बनाएछन् । मेयर भन्छन्– अरु मेयरले भन्दा मैले राम्रो काम गरेको छु अनि कसरी भुलवश म मेयर भएँ । माइलादाइ भन्छन्– मेयर साब हजुरले गरेका कतिपय काम राम्रै छन्, तर हामी जस्ता मतदाताहरु बिचल्ली हुनुनपर्ने काम पनि गर्नुहोस् न मात्र भनेको क्या । मेयर भन्छन्– धेरै बाठो नहु तँ । माइलादाइ भन्छन्– मैले पनि हजुर वरिष्ठसँग तर्क गरेर सकिन । म हिँडे । मेयर भन्छन्– तर, म तँलाई मेरो घरको भान्छामा पाकेका मासु भात र शहरको नामी मिठाई पसलबाट किनेर ल्याएको मिठाइ खुवाएर पठाउन चाहन्छु ।

माइलादाइ भन्छन्– मेयर साबको घरको मासु भात र मिष्ठान्नहरु कस्को पैसाले आको ? मेयर भन्छन्– मेरो तलब, भत्ता आदिले । माइलादाइ भन्छन्– तपाईका भान्छाका पकवान र मिष्ठान्नहरु किन्नमा हाम्रो खल्तीको पैसा पनि परेको छ । मेयर सोध्छन्, कसरी ? माइलादाइ भन्छन्– हामीले कर तिरेको छौँ, प्रत्यक्ष र अप्रत्यक्ष, महानगरलाई पनि । त्यसै मध्येबाट मेयरसाबलाई मनग्गे पारिश्रमिक आउँछ, अनगिन्ती भत्ता आउँछ । त्यसमाथि कमिशन आउँछ, अण्डर टेबल आउँछ, उपहार आउँछ, बेनामी के–के आउँछ ।

यिनै कुराले त हजुरको भान्छा गुल्जार भएको हो । मेयर भन्छन्– त के हो त ? माइलादाइ भन्छन्– राज्यको ढुकुटी खाली गरेर तपाईहरु आफ्नो भान्छा भर्नु हुन्छ । हामी गरिब आफ्नो पेट खाली गरेर राज्य र तपाईहरु जस्ता नेताका भान्छामा मासु भात, पनिर, जुलेबी रसबरी र फलफूल भर्दछौँ । अनि हामी गरीब मतदाताकोमा चाहिँ कोला र चिउरा मात्तै । हद्दे भए कनिका र कुखुराका आन्द्रा, टाउका, खुट्टा र मुरई । माइलादाइ एकसुरमा आफ्नो कुरा भनिसक्छन् र मेयरतर्फ हेर्छन्, तर त्यहाँ न मेयर छन् न त उनका कामदार । र, देखिन्छन् त बढेमानको कुकुर । ह्वाङ् ह्वाङ् गरेर भुक्दै माइलादाइको छातीमै खुट्टाले धकेल्दै माइलादाइलाई गेट बाहिर बाटासम्म लखेटेर निकालिदिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here