निर्वाचन आयोगले मंसीर ४ गते आमनिर्वाचनका सन्दर्भका आमसभा, कोणसभा, जुलस तथा सम्मेलन आगामी कात्तिक १८ गतेदेखि मात्रै गर्न निर्देशन दिएको छ । त्यसअघि भने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले पच्चीस जनासम्म लिएर चुनावी प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भय तथा धाँधलीरहीत र मितव्ययी बनाउन आयोगले राजनीतिक दलहरुसँगको सहमतिका आधारमा निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको थियो । सोही सहमतिका आधारमा आचारसंहिता कडाइका साथ लागू गर्न लागेको आयोगले जनाएको छ । यद्यपि आयोगद्वारा जारी आचारसंहिता उम्मेदवारको मनोनयन दर्ताकै समय उल्लंघन भइसकेको छ । अझै पनि कतिपय क्षेत्रहरुमा सभा–गोष्ठी र तडकभडकपूर्ण प्रदर्शन गर्न रोकिएको छैन ।
निर्वाचनलाई भड्किलो नबनाउन र निर्वाचन स्वच्छ, स्वतन्त्र एवम् मर्यादित ढंगले सम्पन्न गर्न आयोगले दलहरुसँगै छलफल गरेर आचारसंहिता बनाएको हो । जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई आचारसंहिता कडाइका साथ लागू गर्न निर्देशनसहित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ । जसले आचारसंहिता विपरीतका गतिविधिको अनुगमन गर्दै कारवाही गर्ने अख्तियार पाएका छन् । आचारसंहिताले सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा सम्बद्ध व्यक्तिलाई कुनै उम्मेदवारका पक्ष–विपक्षमा लाग्न, प्रचारप्रसारमा सहभागी हुन रोक लगाउँदै सामाजिक सञ्जालमा समेत सूक्ष्म निगरानी गर्ने व्यवस्था गरेको छ ।

विगतका अनुभवले हाम्रा निर्वाचनहरु खर्चिलो, भड्किलो र भयपूर्ण हुने गरेको देखाएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई त्यस्ता विकृति र विसंगति रोक्ने प्रतिबद्धता जनाएको छ । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मितव्ययी र भयरहीत निर्वाचन नै प्रजातन्त्रको आधार हो । त्यसैले आयोगको पहलकदमी विद्यमान विकृतिको अन्त्यका लागि महत्वपूर्ण उपाय हुनसक्छ । तर, त्यसका लागि सबै जिम्मेवार अधिकारीहरु पनि नैष्ठिक, इमान्दार र कर्तव्यपरायण हुनुपर्छ । आयोग आफैंले सबै काम पूरा गर्न सक्दैन, त्यसैले जिल्ला, क्षेत्र, प्रदेश तथा केन्द्रका आधिकारिक इकाइ, संस्था वा व्यक्ति, प्रहरी प्रशासन लगायतले आ–आफ्नो जिम्मेवारी भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ । अनि मात्र आसन्न निर्वाचनमा मतदाताले स्वतन्त्र ढंगले मतदान गर्न सक्छन् । त्यसरी भएको मतदान र निर्वाचित प्रतिनिधिहरुले मात्र स्खलित राजनीतिलाई ‘बाटो’मा ल्याउन र मुलुकलाई नयाँ दिशासहितको गति दिन सक्छन् ।




























