झापा,
झापामा पार्टीविरुद्ध बागी उम्मेदवारी दिने दुई उम्मेदवारसहित तीन जनालाई राप्रपाले कारबाही गरेको छ ।
राप्रपाले खुश्वु ओली, कल्याण खड्का र श्याम ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । खुश्वुले झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र पदमा उम्मेदवारी दिएकी छिन् ।
त्यस्तै कल्याणले झापा- १ (१)मा अन्य पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् । उनी राप्रपा नेपालबाट उम्मेदवार बनेका छन् । श्याम स्वतन्त्र उम्मेदवार खुश्वुको मुख्य प्रचारकमा रहेका छन् ।
पार्टीको निर्णय विपरीत गतिविधि गर्ने तीनै जनालाई कारबाही गरिएको राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए । झापामा नेकपा (एमाले) र राप्रपा बीच चुनावी तालमेल भएको छ। तालमेलविरुद्ध खुश्वु र कल्याणले बागी उम्मेदवारी दिएका छन् ।
झापा ३ मा राजेन्द्रप्रसाद लिङदे्नविरुद्ध उम्मेदवारी दिएकोमा एमालेले यस अघि नै जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।



























