विरही अधिकारीका दुई कृति “अक्षरका अस्त्र” र “रगतको भेटी”

0
265

नेपाली साहित्य आकाशमा दुई कृतिहरु उदाएका छन् । सुन्दर काव्य कृतिका रुपमा कवि तथा साहित्यकार ‘विरही अधिकारी’का दुई सिर्जनाहरु ‘अक्षरका अस्त्र’ र ‘रगतको भेटी’ पाठक समक्ष आएका हुन् । जसले नेपाली भाषा तथा साहित्य क्षेत्रको उन्नयनमा ठूलो टेवा पुग्ने देखिन्छ ।

अक्षरका अस्त्र (कविता संग्रह) :

यस कृतिको विशेषताबारे विभिन्न विद्वान साहित्यकारहरुका उद्गारबाट जानौं– ‘गरिबीका पीडा साह्रै चर्को छ । नेपालमा केही केही सुविधा थपिए पनि यस्ता पीडितका समस्या बिना क्रान्ति समाधान हुन सक्दैन भन्ने पूर्ण आशय र प्रगतिवादी सोचको उपज हो यो पुस्तक । समसायिक देशको लथालिङ्ग स्थितिमा यो निश्चय नै अक्षरको अस्त्र नै हो । यो कृतिले नेपाली साहित्यमा ठूलै योगदान दिनेछ । कवि विरही अधिकारीलाई यो कृतिले नेपाली समाजमा विभिन्न राष्टिूय कवि सरह स्थापित गर्नेछ भन्नेमा म विश्वत छु ।’ – चूडामणि रेग्मी ।

‘विरही अधिकारीका कवितामा कवि, आडम्बरी, दुराचारी, पाखण्डीहरु प्रति कतै अरिङ्गाल भएर खनिएका छन्, कतै बाघ भएर झम्टेका छन्, कतै सिंह गर्जेका छन् र कतै अभाव, असन्तोष, निराशा, कुण्ठाभित्र पग्लेर बगेका छन् । गद्य शैलीमा लेखिएका विरहीका कवितामा समसामयिक विविध पक्ष माथि औँला ठड्याउँदै प्रगतिवादी विचार सल्बलाएको छ । अन्याय अत्याचार, व्यभिचारका माझमा आफै बम बनेर पड्कन चाहने कवि सबै युवाहरुलाई अन्यायको विरुद्ध बन्दुक बोकेर सद्ज्ञान पड्काउन आव्हान गर्छन् ।’ – चूडामणि वशिष्ट ।

‘धेरै कविहरु कविता लेख्छन् । सुनौं–सुनौं लाग्ने पनि लेख्छन् । तर पढौं–पढौं लाग्नु, सुनौं–सुनौं लाग्नु एउटा कुरा हो भने कविताले जनताका पसिनासँग माया लगाएका छन् कि छैनन्, उनीहरुका सुस्केरासँग खुइय गरेका छन् कि छैनन् वा उनीहरुको उकालीमा लठ्ठी बनेका छन् कि छैनन् भन्ने कुरा मुख्य हो । विरही अधिकारी प्रगतिवादी विचारले प्रष्ट, रुप तथा सौन्दर्यले झरिझुट्ट कविता सृजनामा माहिर हुनुहुन्छ ।

पुस्तक समीक्षा

कवितामा शोषित, पीडित, दलित, जातीय विभेदमा परेका लैङ्गिक विभेद भोगेका, विदेशिन बाध्य र विदेशको भुक्तमान बेहोरेका जनताको हुर्मत व्यक्तिन्छ, त्यो हुर्मतबाट उम्किने आशा व्यक्तिन्छ । उहाँका कवितामा देशभक्ति, विद्रोह त हुन्छ नै क्रान्तिप्रतिको विश्वास र क्रान्तिपछिको समानतापूर्ण समाजको सपना पनि देखिन्छ । विरही अधिकारी आजको प्रगतिवादी कविका एक आइकन हुन् ।’ – पुण्यप्रसाद खरेल ।

‘विरही अधिकारी होइनन्, विद्रोही अधिकारी हुन् । कविगोष्ठीहरुमा प्राय मुखाग्र कविता सुनाउने अधिकारीले आफ्ना कविता मार्फत् समाजमा शोषण, दवाव, अन्याय, अत्याचार, भ्रष्टाचार र घुसखोरी गर्ने दृष्टहरुमाथि बज्रमुक्का प्रहार गरेका छन् । उनको व्यङ्ग्यवाण धर्तीमा हेरेर आकाशको निसाना झार्ने अर्जुनको धनुवाण भन्दा सयौँ गुना तिखो छ । त्यसैले व्यञ्जनालाई सधैँ आफूसँगै राख्ने यिनलाई म विरही नभनेर विद्रोही कवि भन्छु ।’ – हरिनारायण भट्टराई ।

‘हजुरबाले नबुझेको गणतन्त्र, आमा कति रोयौ रोयौ, आफ्नै देश कहाली लाग्छ, शिक्षक, तिमी लोकतन्त्र, कालेकी आमा, सिमाना, यो देश मेरो पनि हो, स्वास्नी हुनुको अर्थ, तिहार अलपत्र परेको छ, एउटा बुढो सिस्नोको बोट’ लगायत ४८ वटा कविता समेटिएका छन् यस कृतिमा । यी शीर्षकहरुबाट पनि अनुमान लगाउन सकिन्छ कि कवि विरहीका कविताहरु उच्च कोटीका छन् ।

‘सिमाना’ कविताको अंश पढौँ– सिमाना भन्नु त इतिहासले एकिन गरेको अमिट अभिलेख पो रहेछ, रगतपक्ष हातहरुले कुँदेको अमर शिलालेख पो रहेछ, शत्रुले शूल रोप्न थालेपछि मेरै भूमिमा दिउँसै राँको बालेपछि अनि पो थाहा पाएँ । सिमाना भन्नु त आफ्नै रक्षार्थ गाडिएको फलामको सगरमाथा पो रहेछ, साहसको प्रतीक मात्र होइन देशको गौरवगाथा पो रहेछ । यस्तै यस्तै कविताहरुले सजिएका छन् यस कृति ।

कृतिभित्र यस कविता संग्रहबारे ‘नेपाली साहित्य आकाशमा विरही अधिकारी’ शीर्षकमा विद्वान साहित्यकार सरोज ओली र ‘कवि विरहीको यात्रा राष्टिूय गौरवको शिखर तिर’ शीर्षकमा तेराख झापाका विचारहरु प्रकाशित भएका छन् । २०७८ भाद्रमा प्रकाशित यस कृतिको प्रकाशक सुमना अधिकारी रहेकी छन् ।

रगतको भेटी (कविता संग्रह) :

यस कृति ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ खण्डमा बिभक्त छ । खण्ड ‘क’ मा बीस, खण्ड ‘ख’ मा छ वटा, खण्ड ‘ग’ मा तीन वटा र खण्ड ‘घ’ मा एक कविता समेटिएका छन् । कविताहरु– रगतको भेटी, नदीहरुको गती, प्रजातन्त्र, नेता, आफै गरौँ उन्नति, नेपाल आमा, सहिदप्रति, क्रान्तीसँग डराउँदा, प्रकृतिप्रेम–इन्दे्रणी लगायत शीर्षकका कविताहरु समेटिएका छन् । खण्ड ‘ख’ भने मङ्गलाचरण, प्रथमोध्यायदेखि पञ्चमोध्याय सम्म छन् । यस खण्डलाई विकृतिविरुद्ध रक्सी महात्म्य खण्ड उल्लेख गरिएको छ ।

कृतिभित्रको ‘नेता’ शिर्षकको कविताको एक अंश पढौँ, ‘सुन्दा भाषण हुन्छ जुर्मुर यहाँ झुट्टा बुझे तापनि, चिप्ला शब्द लिएर गाउँघरमा खेती गरे तापनि, माग्दा भोट विनम्र हुन्छ पछि ता थाहा न पत्ता भयो, नेता हो शुभनाम गाउँ घरको मान्ने र गन्ने छ यो ।’ ‘क्रान्तीसँग डराउँदा’ कविताको एक अंक प्रकार छ– ‘आफ्नो अस्तित्वको लागि एकटुक्रा जमिनमा, जिन्गीभर संघर्ष गर्दा पनि कुनै दिन, ठडिएन कुनै यौटा झोपडी बास खातिर, चेतनाहीन भै बाँच्यौँ दुःखमा जिन्दगीभर ।’ यस कृति यस्तै यस्तै सिर्जनाले सजिएको छ । संग्रहका कविताहरु भुजङ्गप्रयात, अनुष्टुप, शार्दुलविक्रीडित छन्दमा सिर्जना गरिएका छन् ।

कृतिभित्र, प्रस्तुत कृतिबारे, मेची बहुमुखी क्याम्पसका सह प्रा. डा. ठाकुरप्रसाद पोखे्रलको विचार प्रकाशित भएका छन्– ‘कवि विरही अधिकारीका सिर्जनाहरुमा शोषक, सामन्ती र जालीहरुका मानवताहीन स्वार्थी व्यबहारको चित्रण भएको पाइन्छ । समाजमा देखापर्दै आएका विकृति, विसंगति, अन्याय, अत्याचारयुक्त व्यबहारलाई विषयका रुपमा प्रस्तुत गरिएको छ । शोषित उत्पीडित वर्गले भोगेका करुण, क्रन्दन कृतिहरुमा गुञ्जिरहेका भेटिन्छन् । यस्तै प्रसंगमा आधारित भएर आएको छ रगतको भेटी कविता संगह ।’ २०७९ मा प्रकाशित यस चोटिलो तथा रोचक कृतिको प्रकाशक मुना न्यौपाने अधिकारी रहेकी छन् ।

भद्रपुर–१० चन्द्रगढीमा बसोबास रहेका कवि विरहीका अन्य प्रकाशित कृतिहरुः मुटु रेटिएको कथा, इन्द्रेणी, विकृति र मान्छे, विसंगतिको क्षेप्यास्त्र, प्रतिविम्व बोल्छ (कथा सग्रह), गरीब (प्रगतिबादी लघु कथा), जिन्दगीको अनुभूति (निबन्ध संग्रह), तिमी स्वास्नी हुनुको अर्थ (कविता संग्रह) लगायत दर्जनौं कृतिहरु प्रकाशित भएका छन् । पत्रपत्रिकाहरुमा पनि सिर्जनाहरु प्रकाशित हुने गरेका छन् ।

प्रलेस झापा, लेखनाथ पुस्तकालय चन्द्रगढी, प्रश्रित प्रतिष्ठान लगायत दर्जनौ संघ–संस्थामा आबद्ध रही नेपाली साहित्य र समाज सेवामा समर्पित रहेका कवि विहरी, देवकोटा स्मारक संरक्षण समिति भद्रपुर, प्रलेस झापा, साहित्य कला संगम भद्रपुर, लेखनाथ पुस्तकालय चन्द्रगढी लगायत दर्जनौ संघ–संस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् । जिन्दगीलाई नै कविता मान्ने, जिन्दगीभित्र तितो, पिरो, टर्रो, अमिलो, थोरै मिठो धेरै नमिठो, थोरै हाँसो धेरै आँशु, थोरै आराम धेरै संघर्ष, यस्तै हो जिन्दगीको परिभाषा र कविताको पनि परिभाषा मान्ने कवि ‘विरही अधिकारी’का कविताहरु अबश्य पढौँ र उनका नयाँ कृतिका नामहरु ‘अक्षरका अस्त्र’ र ‘रगतको भेटी’को अर्थ मनन गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here