मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास भएन’

0
302

रेसुङ्गा,

गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुन्नुभयो तर, लिलिङमा सडकको समस्या भने कहिल्यै समाधान हुन सकेन ।

जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको उहाँले गुनासो गर्नुभयो । “जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ ।” उहाँले भन्नुभयो, “पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ ।” वडादेखि केन्द्र तहका नेताले पटकपटक आश्वासन दिए पनि कहिल्यै पूरा नभएको स्थानीयवासी घर्तीमगरले गुनासो गर्नुभयो ।

लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताप्रति वाक्क हुनुहुन्छ । उहाँले पनि १८ वर्ष पुगेपछि पहिलोपटक २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुन्नुभयो । मङ्सिर ४ मा उहाँले पाँचौँ पटक सांसद चुन्दै हुनुहुन्छ तर, उहाँ पनि गाउँमा सडक नहुनाले नेताहरू प्रति वाक्क हुनुहुन्छ ।

गाउँमा लामो समयदेखि नेताले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो गर्नुभयो । “सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन् ।” उहाँले भन्नुभयो, “लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्रयाक खुले पनि एक झर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ ।” उहाँले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गर्नुभयो ।

लिलिङका यी दुई त केवल पात्र मात्र हुनुहुन्छ । लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सधैँ ग्रसित बनिरहेका छन् । गत वर्ष सडकको ट्रयाक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनेको छ । बडिगाड खोला पर बाग्लुङको भिमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था विजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो गर्नुभयो ।

यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन । मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघरपरिवार रु सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ ।

त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्रयाक खोल्दा घर जोखिममा परेको थियो तर, उहाँको समस्या अहिले पनि उस्तै रहेको छ । उहाँको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राख्नुभयो तर, चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताउनुभयो । “मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ ।” उहाँले भन्नुभयो, “आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक मतदान गर्ने इच्छा पनि छैन ।” उहाँले पटकको निर्वाचनमा जोखिममा रहेको घरमा सिमेन्टी पर्खाल उठाउने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here