महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा तथा पार्क निर्माण

0
401

झापा,

भद्रपुर-९ स्थित मुना सामुदायिक भवनसँगै जोडिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा तथा पार्क निर्माण गरिएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा निर्माण गरिएको सो पार्कको महाकवि देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटाको अर्धकदको शालिकको अनावरण गर्दै पार्कको उद्घाटन गरेका हुन्। २०५१ सालमा मेची राजमार्ग अन्तरगतको चाराआली केचना सडक खण्डको बीचमा स्थापना गरिएको महाकवि देवकोटाको शालिकमा ठोक्किएर धेरै सवारी दुर्घटना हुँदा मानवीय क्षति भएको थियो।

२०७८ भदौ १४ गते अज्ञात समूहले सो शालिक तोडफोड गरी क्षति समेत पुर्‍याएको थियो। महाकवि देवकोटाको शालिकमा क्षति पुर्याएपछि राजमार्गको मापदण्ड अनुसार सडकको बीचबाट संरचना हटाउँदै चन्द्रगढी वन समितिले भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित २४ लाख ७३ हजार ७४६ रुपैयाँको लगानीमा देवकोटाको शालिक पुनः निर्माण गरेको वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिए।

देवकोटा पार्क निर्माणका लागि भद्रपुर नगरपालिकाले १३ लाख ४५ हजार रुपैयाँ दिएको बताउँदै अध्यक्ष भट्टराईले भने, ‘बाँकी अपुग रकम वन समितिले दिएको हो।’ नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार तथा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, साहित्यकार पुण्यप्रसाद खरेलले मन्तव्य राख्दै देशको पहिचान भाषा र साहित्य रहेको भन्दै सर्जकको सम्मानले भाषा र साहित्यको उत्थानमा टेवा पुग्ने धारणा राखेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक देवराज खतिवडा, शुकबहादुर मगर, लवडकुमारी पोखरेललगायत पाँच जना अग्रजलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बाल कविहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here