राजनीतिको स्पष्ट ध्रुवीकरण : देउवा भर्सेस ओली

0
163

नेपाली राजनीति पटक–पटक पश्चगामी हुने गर्छ । निरंकुशताबिरुद्ध दलहरुले २०६२÷०६३ तथा त्यसअघि २०४६ सालको जनआन्दोलनमा लोकतन्त्र ल्याउन गरिएको कार्यगत एकतालाई उदाहरणका रुपमा प्रस्तुत गरेर अहिले आएर दलहरुका शीर्ष नेताहरुले सत्ताका लागि गरिएको गठबन्धनलाई सही कदम भन्दै जनता झुक्याउने काम गर्दैछन्, गरिरहेका छन् ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा राजाको निरंकुश पञ्चायती शासनबिरुद्ध लडेर प्रजातन्त्रको पुनर्बहाली गर्न कम्युनिष्टहरुसँग कांग्रेसले कार्यगत एकता ग¥यो । कम्युनिष्टहरु सर्वसत्तावादी अर्थात सर्बहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई मान्ने एकप्रकारको निरंकुश शासनकै पक्षपाती भए पनि समय अनुसार परिवर्तन हुनुपर्छ भन्ने केही प्रभावशाली बाम नेताहरुका कारण बहुदलको पक्षमा कांग्रेससँग मिल्न तयार भएका थिए । त्यो एकता सत्ताको लागि नभएर व्यवस्था परिवर्तनका लागि थियो र हो ।

त्यसैगरी २०६२/०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलन बहुदलीय पद्धतिभन्दा एक कदम अघि बढेर बहुल पक्षीय राजनीतिक विचारका आधारमा राजतन्त्रलाई समाप्त पारेर संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि कांग्रेस, एमालेसहितका अन्य बाम दल र माओवादीले १२ बुँदे सहमति गरेपछि भएको थियो ।

यस आन्दोलनलाई सफल बनाउन बन्दुकको नालबाट व्यवस्था परिवर्तन गर्न हतियार बोकेर जंगल चहार्दै हिँडेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर अन्य बाम दलहरुसँग पनि कार्यगत एकता गर्दै कांग्रेसले पनि संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको सैद्धान्तिक आधारमा परिवर्तन गर्दै राजतन्त्रलाई समाप्त पार्न अग्रसर भई कार्यगत एकता गर्न तयार भएको थियो ।

यी दुईवटा ऐतिहासिक जनआन्दोलनमा जनताको अभूतपूर्व सहभागिता र समर्थन थियो । यसैले दुई सय ४० बर्षदेखि जरो गाडेर बसेको राजतन्त्र र यसका शासक राजा सत्ता छोडेर सामान्य जनता बन्न तयार भएका थिए । यो चानचुने कुरा थिएन । शासन व्यवस्था र सामाजिक रुपान्तरणको यत्रो महान कामका लागि गरिएको कार्यगत एकतालाई सत्ता गठबन्धनको तत्कालिन उपलब्धिसँग तुलना गरेर अहिले जुन किसिमले ब्याख्या गरिँदैछ त्यही नै पश्चगामी हो । अधोगामी हो ।

उध्र्वगामी र पश्चगामी राजनीति :

राजनीति उध्र्वगामी हुनुपर्छ । तर, यहाँ पश्चगामी मात्र होइन अधोगामी भइरहेको छ । माथि उल्लेख गरिएका शब्दहरुले २०४६ सालभन्दा २०६२/०६३ को राजनीतिक आन्दोलन उध्र्वगामी थियो र हो भन्ने पुष्टि गर्छ । वास्तवमा हो पनि त्यही । तर, अहिलेका ठूला दलकै शीर्ष नेताहरुले सत्तामुखी गठबन्धनलाई पुष्टि गर्न भन्ने गरेको सुनिन्छ, २०४६ सालमा कांग्रेस र कम्युनिष्ट मिलेकै थिए त ? २०६२/०६३ को जनआन्दोलनमा अझ बन्दुक बोकेर हामीलाई नै मार्दै आएको माओवादीसँग पनि कार्यगत एकता गरेकै हो त ? अनि अहिले गठबन्धन गर्न किन नहुने ? तिनै दल त हुन् आज पनि ।

कांग्रेस त्यही भन्छ भने एमाले त अझ अघि बढेर राजतन्त्र ल्याउन पाइँदैन भन्ने वर्तमान संविधानको प्रस्तावना विपरीत गएर राजतन्त्र पुनस्र्थापना गर्छु, संघीयता खारेज हुनुपर्छ भनेर मुल राजनीतिक सिद्धान्त नै बनाएको राप्रपासँग गठबन्धन गरेर त्यसैलाई पुष्टि गर्दै हिँडेको छ । यसलाई पश्चगामी वा अधोगामी भनेर किन नभन्ने ?

उध्र्वगामी राजनीति त अहिले स्थापना गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तिर दल र तिनका शीर्ष नेताहरु लाग्नुपर्ने हो । अहिलेको संविधानलाई कार्यान्वयन गर्दै यसमा भएका कमी–कमजोरीलई संशोधन गर्दै यसलाई अझ लोकतान्त्रिक र समावेशी बनाउँदै संघीयताका अवयवहरु प्रदेश र स्थानीय तहलाई बलियो र सक्षम बनाउँदै जनताका मौलिक हकको जगेर्ना गरी सोही अनुसार जनतालाई थप सुविधा दिँदै जानु उध्र्वगामी राजनीति हो ।

तर, संघीयता मास्छु भन्नेसँग पनि मिलेकै छ, संविधान जलाउनेसँग पनि मिलेकै छ । राजतन्त्र पुनस्र्थापना गर्छु, गणतन्त्र समाप्त पार्छु भन्नेसँग पनि मिलेकै छ । अनि गणतन्त्र पक्षधर आम मतदाताहरुलाई गणतन्त्र विरोधीलाई मत हाल्न गणतन्त्र स्थापना गर्ने नेताहरु नै उद्घोष गर्दै आएका छन् । निर्देशन दिँदै छन् । यो भनेको पश्चगामी मात्र होइन अधोगामी राजनीति हो ।

देउवा भर्सेस ओली :

नेपाली राजनीति यस पटकको चुनावमा स्पष्ट ध्रुवीकरणतिर उन्मुख छ । यो ध्रुबीकरण स्पष्ट भए पनि राजनीति शास्त्रको मूल्य, मान्यता र सिद्धान्त अनुसार होइन । त्यसैले यसलाई पंक्तिकारले देउवा भर्सेस ओली राजनीतिको ध्रुबीकरण भनेको हो ।

देउवाले माओवादी, लोसपा, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेका छन् । देउवाले संघीयता नमान्ने राजमो र संविधान जलाउने लोसपाका नेताहरुसँग गठबन्धन गरेकाले सबै नेता र शुभेच्छुकले मन पराएका छैनन् ।

अर्कातिर ओलीले सत्ताधारीको गठबन्धन अपवित्र हो, एमाले कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ भन्ने उद्घोष गरिरहे पनि अन्त्यमा जसपा र राप्रपासँग गठबन्धन गर्न पुगे भने राप्रपा नेपालका कमल थापालाई सूर्य चिन्हमै चुनाव लड्न समर्थन पनि दिए ।

यी दुबै गठबन्धन कांग्रेसका देउवा र एमालेका ओलीको बल र हठले मात्र भएको हो । कांग्रेसका धेरै नेता र शुभेच्छुकले एक्लै चुनाव लड्नु पर्छ भनिरहेका थिए । तर, देउवाले एक सुनेन् दुई सुनेनन् । गठबन्धन गरेरै छोडे ।

त्यसैगरी एमालेका पनि अधिकांश नेता गठबन्धनका पक्षमा थिएनन् । तर, ओलीकै हठ र बलले अन्त्यमा गठबन्धन बन्यो । यो गठबन्धन गणतन्त्र मान्ने एमाले र नमान्ने अनि राजतन्त्र ल्याउँछु भन्ने सिद्धान्त र घोषणा पत्र बनाएको राप्रपासँग र अहिलेको संविधान जलाएको जसपासँग भएकोले अपवित्र भनिएको छ । यी दुबै गठबन्धनलाई पाठकहरुले के मान्छन् यो उनीहरुकै कुरा हो ।

तर, देउवाले अहिलेको संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि संविधानको धज्जी उडाउने, संविधान विपरीत दुई–दुई पटक संसद विघटन गरेर राजनीतिक अस्थीरता बढाउने ओली र ओली प्रवृत्तिबिरुद्ध भनेका छन् । तर, जनतासँग विकल्प छैन भने पनि हुन्छ । प्राविधिक मतदान हुने पक्कै छ । मन मारेर आमजनता आगामी मंसीर ४ गते मतदान गर्न जाँदैछन् । के गर्छन् मतदानको नतिजाले देखाउँछ ।

हुनुपर्ने कुरा :

जनता र दलका पनि केही नेता तथा दलका शुभेच्छुक र समर्थकहरु आम चुनावमा जनतालाई आफूले मन परेको सिद्धान्त बोक्ने पार्टी र तिनले दिएका उम्मेदवारलाई मत हालेर जिताउनु पर्छ भन्ने पक्षमा छन् । आम चुनाव स्थानीय तहको जस्तो चुनाव होइन । स्थानीय तहको चुनाव राजनीतिक भएर पनि राजनीतिक होइन । स्थानीय तहमा एउटा मेयर वा अध्यक्षले मात्रै स्वतन्त्र भएर होस् वा सानो दलको भएर होस चुनाव जित्यो भने काम गर्न सक्छ । उसलाई अधिकार हुन्छ । उसलाई बहुमतले फाल्न सक्दैन । उसले आफ्ना राम्रा योजना र विचारलाई कार्यान्वयन गर्न सक्छ ।

तर, आम चुनावमा स्वतन्त्र वा सानो दलको एउटा सांसद जित्यो भने उसले संसदमा मुर्मिरिनु बाहेक अरु केही गर्न सक्दैन । कहिले त उसले संसदमा बोल्ने समय पनि पाउँदैन । ऊ अल्पमतमा पर्ने भएकोले उसको राम्रो विचारले पनि स्थान पाउँदैन ।

त्यसैले अहिले दलका नेताहरुको गठबन्धलाई अधिकांश कार्यकर्ता, शुभेच्छुक र केही नेताहरुले मन पराएका छैनन् । तर, उनीहरु माथि शीर्ष नेताहरुको दबाबमूलक निर्देशन छ । त्यसैले मन नपरे पनि खुलेर सबैले विरोध गर्न सकेका छैनन् । नेताहरुको बिरुद्ध गएर मत हाल्न पनि सक्दैनन् । तर, केही नेता र कार्यकर्ता विद्रोही पनि भएका छन् । विद्रोही भएर आधिकारिक उम्मेदवारबिरुद्ध उम्मेदवारी पनि दिएका छन् । यस्ता नेता सीमित छन् । सीमित भए पनि तिनले विचार बोकेका छन् । आम चुनावको मूल्य, मान्यता र सिद्धान्त बोकेका छन् ।

अवस्था :

दलका शुभेच्छुक र सहयोगीहरु दलका नेताको निर्देशन मान्न बाध्य छैनन् र पनि सबैले विरोध गर्न सक्दैनन् । तर, जनतासँग विकल्प छैन भने पनि हुन्छ । उम्मेदवारी दिने पार्टी र तिनका नेताहरु र उम्मेदवार हेर्दा अहिलेका कांग्रेस र एमालेभन्दा र उनीहरुले उठाएका उम्मेदवारभन्दा गतिला छैनन् । त्यसैले यो आम चुनावमा प्राविधिक मतदान हुने पक्कै छ । मन मारेर आमजनता आगामी मंसीर ४ गते मतदान गर्न जाँदैछन् । मतदान गर्नै छ र गर्नु पनि पर्छ । तर, के गर्छन् मतदानको नतिजाले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here