झापामा छठ पर्वको हर्षोल्लास

0
226

पार्थ मण्डल,
झापा ।

आज आइतवार बेलुका अस्ताउँदो सूर्य र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्वको सबैतिर तयारी पूरा भएको छ ।

नदी, तलाउका किनारहरु बेहुलीझैं सिंगारिएका छन् । सबैतिर छठको हर्षोल्लास छ । छठ मनाउन यसबर्ष पूर्वी सीमाको मेची नदी पनि सिंगारिएको छ । नेपाल–भारतको सीमा नाकासँग जोडिएको भद्रपुर–५स्थित मेची नदी किनारमा छठ पर्वको तयारी पूरा भएको छ ।

नेपाल र भारत दुवै देशका ब्रतालु परिवारजनले मेची नदी किनारमा एक साथ छठ पर्व मनाउँदै आएका छन् । भारतको बङ्गाल तथा विहार गरी दुई वटा राज्यसँग जोडिएको मेची नदीमा मनाइने प्रदेश १कै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्वको रुपमा चिनिएको छ । जसकारण यहाँ छठ पर्वको महत्व र विशेषता छुट्टै छ । अहिले नदी किनारको मसानघाट देखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा करिब ५ हजारभन्दा बढी पूजास्थल (घाट) निर्माणको काम लगभग पूरा भएको छ ।

घाट व्यवस्थापन, बिजुली जडान, पण्डाल निर्माण र सरसफाई लगायतका काममा मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिक रूपमा लागीपरेका छन् । उता मेची नदी पूर्वपट्टिको भागमा भातगाउँबासी पनि पण्डाल र घाट व्यवस्थापनको काममा जुटेका छन् ।

नदीमा किनारमा बिजुलीबत्ती जडान, एउटा अस्थायी बाँसे पुल निर्माण, सरसफाई, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्पडेस्क, सूर्य भगवानको मूर्तिस्थल निर्माणको काम पूरा भइसकेको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए । अनुमानित ४ लाख बजेट खर्च हुने बताउँदै उनले भने– ‘भद्रपुर नगरपालिका, चन्दादाता, भक्तजन, संघ–संस्थाबाट रकम सङ्कलन कार्य हुँदैछ ।’ ‘विवादका कारण मैथिल समाजले यसपल्ट घाट निर्माणको जिम्मा लिएको छैन’– उनले भने– ‘व्रतालु परिवारजनले आफैं घाट निर्माण गरेको हो, समाजले पूजास्थल वरिपरि व्यवस्थापनको जिम्मा मात्र लिएको हो ।’
उता युनिक समूह भने आफैंले घाट निर्माण गरिसकेको छ । समूहले १० फुट घाटको १५०० सय रुपैयाँ सम्म लिएको समूहका निवर्तमान अध्यक्ष नारद राजवंशीले बताए । गरीब तथा विपन्न परिवारका लागि २० वटा घाट निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ ।

मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले पनि मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने गरेको आयोजक समितिको ठहर छ । ‘मेचीसहित, विरीङ, निन्दा, अन्धुवा, देउनियाँ, हडिया, कनकाई, मावा, कमल लगायतको नदीहरूमा पनि छठ पूजाको तयारी धमाधम भइरहेको छ ।

म्यादीसहित २०० भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने

प्रहरीले भीडभाडलाई मध्यनजर गरी यसबर्ष कुनै पनि सवारीसाधन मेची नदी किनारसम्म लैजान रोक लगाउने भएको छ ।

व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षालाई दृष्टिगत गरी भद्रपुर मावि, भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्याक्टरसहित ट्याम्पो, रागाँगाडा, मोटरसाइकल, चार पाङ्ग्रे सवारीसाधनमाथि रोक लगाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर ऋषि ढकालले जानकारी दिए । व्रतालु परिवारजनले लिएर आउने साना सवारीसाधनलाई मेची नदी किनारसम्म जाने अनुमति दिने निर्णय भएको छ ।

सीमावर्ती मेची नदीको छठ पूजामा हजारौँ भक्तजनहरू आउने अनुमान गरिएकोले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाइएको इन्स्पेक्टर ढकालले बताए ।

आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पूजाका दिन नदी किनारमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाली प्रहरी, ट्राफिक र म्यादी प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन हुनेछन् । छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानसहित प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनले बताए ।

नदी किनारमा राखियो सूर्य भगवानको मूर्ति

भद्रपुर–५ नम्बर वडा कार्यालयले मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरिएसँगै युनिक समूह भद्रपुरले नदी किनारमा स्थायी सूर्य भगवानको मूर्तिसहित मन्दिर निर्माण गरेको छ ।

अघिल्लो वर्ष नै देवीवस्तीको नदी किनारमा स्थायी सूर्य भगवानको मूर्ति राख्ने अभियान थालिएको बताउँदै युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले भने– ‘यस वर्ष सूर्य भगवानको मूर्ति राख्ने काम पूरा भएको छ, छठ पर्वको दिन त्यसको विधिवत् रुपमा उद्घाटन हुन्छ ।’

वडा कार्यालयको ५ लाख बजेट र अपुग रकम विभिन्न दाताहरूबाट सङ्कलन गरी सूर्य मन्दिर निर्माण गरिएको उनले बताए । मन्दिर निर्माणाधीन अवस्थामै छ । मन्दिरको छतसँगै रंगरोगन, ग्रील, प्लस्टर, बिजुली जडानको काम बाँकी नै छ । आउँदो वर्षभित्र यसले मन्दिर निर्माण भइसक्ने अभियानमा रहेको उनको भनाइ छ । ‘हरेक वर्ष छठ पर्वको दिन माटोले निर्मित सूर्य भगवानको मूर्ति खरिद गरेर ल्याउनुपर्ने बाध्यता थियो’– उनले भने– ‘यस वर्षदेखि अस्थायी मुक्ति खरिद गर्ने समस्याको अन्त्य भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here