मत समृद्धिको आधार बनोस्

0
238

निर्वाचन राजनीतिक दलहरुलाई सत्ताको न्यानो दिने अवसर हो । यस कारण सबै दलहरु आश्वासनको पोको बोकेर मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरिरहन्छन् । राजनीतिक दलहरु गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचारको सहजता र रोजगारको अवसर निर्माण गर्नेतर्फ भने सधैँ उदासीन छन् । यद्यपि पूर्वाधार निर्माण लगायतका उल्लेखित विषयहरु उनीहरुका प्रतिबद्धतापत्रमा समाबिष्ट हुन्छन् । अहिलेको सन्दर्भमा सामाजिक सुरक्षाका नाममा २०५१ सालदेखि वितरण गर्न थालिएको वृद्धभत्ता वितरण कार्यक्रम भने त्यसपछिका निर्वाचनहरुमा दलहरुको मतदाता आकर्षित गर्ने अस्त्र भएको छ । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जान बाध्य लाखौं युवाहरुलाई देशमै रोक्ने कार्यक्रम दलहरुको प्राथमिकतामा छैन । त्यसका लागि आवश्यक उद्योगधन्दाको सुव्यवस्थापन, स्तरोन्नति तथा स्थापनातर्फ न सरकारको ध्यान पुगेको छ न त राजनीतिक दलहरुले पहलकदमी नै गरेका छन् ।

देश र जनताको समृद्धिको मूल आधार भनेकै असल नेतृत्वको चयन हो । त्यसका लागि हुने प्रत्येक आवधिक निर्वाचनहरु मतदाताका लागि अवसर हुन् । तर, मतदाताले आफू, आफ्नो महत्व र मतदानको मूल्य थाह नपाउँदा त्यस्ता अवसर दलहरुलाई सत्तारोहण गराउने साधन भएका छन् । सामाजिक सुरक्षा सरकारको दायित्व हो, तर यसलाई केवल भत्ता वितरणमा सीमित गर्नुहुँदैन । राज्यको ध्यान पूर्वाधार, जनशक्ति, गुणस्तरीय शिक्षा, रोजगारी र सर्वशुलभ स्वास्थ्य सेवामा जानुपर्दछ । तर, हामीकहाँ सबैको मुख्य ध्यान भत्ता वितरण मै केन्द्रीत भएको छ । राज्यको स्रोत हेरेर वितरण गरिएको भत्ताले मात्र सामाजिक सुरक्षा हुनसक्छ अन्यथा लोककल्याणकारी भनिएको यस्तो काम प्रतिगामी हुनपुग्छ ।

निर्वाचनको माध्यमबाट योग्य तथा सक्षम व्यक्तिको चयन गर्ने दायित्व मतदाताको हो । त्यसैले निर्वाचनलाई अवसर भनिन्छ, जसले देश र जनताको आवश्यताको पहिचान गरी राष्ट्रकै प्रतिनिधित्व गर्ने नेतत्व चयन गर्दछ । तर, हाम्रा प्रमुख दलहरु र तिनका नेतृत्व सत्तामोहमा चुर्लुम्म डुबेका कारण लामो संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिताको मुद्दा ओझेलमा मात्रै छन । परिवर्तनका बाहक भनिने नेताहरुकै साख खस्किएको छ । यही संक्रमणको परिस्थितिमा नयाँ शक्तिहरु जुर्मुराउन थालेका छन् । त्यसकै उदाहरण हो कि अहिले सबै निर्वाचन क्षेत्रमा नयाँ दलहरुसँगै स्वतन्त्र उम्मेदवारहरुको बाढी नै आएको छ । यस्तो संक्रमणग्रस्त क्षणमा आम मतदाताहरुले विवेकको प्रयोग गर्नैपर्छ । अहिलेसम्म जे गरियो–गरियो, जे भयो–भयो त्यसलाई सच्याउने अवसर पनि यही हो । यही अवसरको सदुपयोग गर्दै बिरासत जोगाउने र कायम राख्ने दलहरुको स्वार्थमा अलमलिनुभन्दा राष्ट्रको समृद्धिमा हुनसक्ने योगदानको मूल्यांकन गरी मतदान गर्नु समयको माग हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here