अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
सभामा अध्यक्ष खड्काले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक भानु मिश्रले समितिको प्रतिवेदन, समितिका उपाध्यक्ष एवम् ऋण उपसमितिका संयोजक नरेन्द्रप्रसाद अधिकारीले उपसमितिको प्रतिवेदन, पशु सुरक्षण समितिका संयोजक पशुपति घिमिरेले समितिको प्रतिवेदन र प्रबन्धक भूमिनाथ बरालले प्रबन्धकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा जम्मा शेयर पूँजी ९१ लाख १५ हजार एक सय रुपैयाँ, कोष हिसाबमा एक करोड तीन लाख ५१ हजार आठ सय ३५ रुपैयाँ १७ पैसा, जम्मा निक्षेप दुई करोड ५६ लाख २२ हजार सात सय १३ रुपैयाँ ३६ पैसा र जम्मा ऋण लगानी छ करोड ११ हजार ८५ रुपैयाँ उल्लेख गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्ष ०७८÷०७९मा संस्थाको जम्मा आम्दानी ९८ लाख चार हजार चार सय १४ रुपैयाँ ८६ पैसा, जम्मा खर्च ६६ लाख १६ हजार नौ सय २७ रुपैयाँ ३९ पैसा र जम्मा नाफा ३१ लाख ८७ हजार चार सय ८७ रुपैयाँ ४७ पैसा रहेको छ ।
सोही सभामा उत्कृष्ट व्यावसायिक तरकारी खेतीतर्फ दुर्गा इङनाम, उत्कृष्ट पशुपालनतर्फ विचारी गुरागाईं, समितिकी निवर्तमान उपाध्यक्ष गोमादेवी बिमली, लेखा समितिका निवर्तमान संयोजक केदारनाथ पोखरेललगायत ११ जनालाई सम्मानित गरिएको थियो ।
सभामा अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई, साना किसान विकास बैंक इलाका कार्यालय बिर्तामोडका प्रबन्धक सुवास गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष अधिकारीले स्वागत गरेको उक्त सभाको सञ्चालन सदस्य विन्दादेवी सुवेदी लुँइटेलले गरेकी थिइन् ।































