झापा, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्ने बताएका छन् ।
कुनै पनि मतदान केन्द्रमा पुःन मतदान गर्नु पर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउने तयारीका साथ अघि बढेको बताए ।
झापाको बिर्तामोडमा निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजले आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक कार्यक्रममा बोल्नु हुँदै आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्ति बाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनैपनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियम संगत कारवाही गरिने बताए । उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सृजना गराउन आयोग जुटेको समेत बताए ।

कुनै पनि एक जना मतदाताले मलाई लोभ लालच, धाक धम्कीका कारण मतदान गर्नबाट अफ्ट्यारो स्थिति सृजना गरियो भन्ने गरीको बातावरण सृजना नै नहुँने गरी निर्वाचन आयोग देशभर नै सचेतना मूलक कार्यक्रम लिएर हिँडिरेको र सोही सन्दर्भमा झापामा समेत यसखाले कार्यक्रमको आयोजना गरिएको थपलियाको भनाई थियो ।
निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालना सहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रक्रियामा आयोग रहेको थपलियाको भनाई छ । उनले सामाजिक सञ्जाल मार्फत हुन सक्ने मित्या सूचना, दुस्प्रचार र अत्यान्त घृणष्पद अभिव्यक्ति लाई रोक्न समेत निर्वाचन आयोग लागि परेको बताए ।
निर्वाचनको स्वच्छतासंगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने गरीको बातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको मुख्य निर्वाचन आयुक्त थपलियाको भनाई छ ।
कार्यक्रममा बोल्दै थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले घोषणापत्रमा कस्तो विधेयक बनाउने भन्दा पनि विकासका कामलाई उल्लेख गरेको बताएका हुन् ।
‘मैले दलका घोषणापत्र पढेको छु । भ्याएसम्म उम्मेदवारको घोषणापत्र पनि हेरेको छु । हाम्रो संविधान र कानुनले भनेअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरू विद्यायक हो, विकासे कार्यकर्ता हैन,’ उनले भने, ‘एउटा विद्यायकले त यस्तो विधेयक पो बनाउँँछु भन्ने हैन र ? म यस्तो धारो बनाउँछु भन्ने हो र ? विधायकले बाटोमा गिट्टी हाल्दै हिँड्दा देश कतातर्फ जान्छ ?’
उनले निर्वाचन आयोगले वैज्ञानिक ढंगले निर्वाचन खर्च छुट्याएको बताए । उनले पहिलोपटक प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक निर्वाचन खर्चको सीमा तोकिएको दाबी गरे । ‘प्रत्येक निर्वाचन क्षेत्रको निर्वाचन खर्च विवरण फकरफरक छ । यो तीनवटा दृष्टिकोणले व्याख्या गरेका हौँ,’ उनले भने, ‘त्यहाँको उम्मेदवारले कति क्षेत्र भ्रमण गर्नुपर्दछ । त्यहाँ कति मतदाता छन् र त्यहाँ कति मतदानस्थल छन् भनेर तयार गरेका छौँन् । त्यसको समग्र व्यवस्थापनका निम्ति निर्वाचन खर्चको सीमा छुट्याएका छौँ ।’ उनले आयोगले खर्चको सीमा तोक्नु त्यति खर्च गर्नु भनेको नभई खर्चै नगरी पनि निर्वाचन लड्न मिल्ने बताए । तर, तोकिएको भन्दा धेरै गर्नु खतरनाक हुने चेतावनी दिए । उनले दलका निश्चित सिद्धान्त, नीति र कार्यक्रम हुने बताउँदै तलसम्म कार्यकर्ता हुने बताए । तर, पनि चुनाव प्रचारका लागि उम्मेदवारले धेरै खर्च लाग्ने बताइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियो । ‘दलको तलसम्म कार्यकर्ता हुन्छ । कृपया मिल्छ भने तपाईंको नेतालाई एउटा मात्र प्रश्न सोधिदिनुस् खर्च पुग्दैन भनेको के म राजनीतिक दलको भाडाको कार्यकर्ता हुँ भनेर सोधिदिनुस् । के तपाईं निर्वाचनमा परिचालन हुँदा कुनै पारिश्रमिक, तलब, भत्ता वा खर्च नलिई जानु हुन्न ?,’ थपलियाले भने, ‘जसले त्यसो भनु राख्नु भएको छ । उसलाई आफ्ना कार्यकर्ता भाडामा हिँड्ने कर्मचारीको रूपमा चित्रित गरिरहेको छ । उसलाई आफ्ना कार्यकर्तासँग विश्वास छैन ।’
थपलियाले दलका नेता र उम्मेदवारकै कारण निर्वाचनमा समस्या आउने गरेको बताए । ‘स्थानीय तहमा देखिएको एउटा दृश्यले मैले म यो भन्न बाध्य छु । एकजना कुनै राजनीतिक दलको कार्यकर्ता काँधमा मतपेटिका बोकेर कुदिरहेको हुन्छ । त्यहाँ बसिरहेका सुरक्षाकर्मी मुकदर्शक भएर उभिएका छन् अरू ताली पड्काइरहेका छन्,’ थपलियाले भने, ‘जुन देशमा राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू आफ्ना कार्यकर्तालाई यदि तिमीले मतपेटिका लुट्यो भने, मत पत्र च्यात्न सक्यो भने तिमीहरूलाई पुरस्कार दिन्र्छौँ भन्छ, जुन देशमाा सुरक्षाकर्मीलााई उसलाई कारबाही ग¥यो भने मेरो घटुवा हुन्छ भन्ने त्रास हुन्छ । त्यस्तो अवस्थामा निर्वाचन आयोगले कसरी स्वच्छ र निष्पक्ष निर्वाचन गर्नसक्छ ? यो मलाई एउटा दृश्यले भन्ने बाध्य गरायो ।’
झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली,प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, वारका पदाधिकारी, उम्मेद्वार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।






























