विर्तामोड ।

नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले संविधानको रक्षा, लोकतन्त्रको प्रत्याभूति, जनताको समृद्धि सुनिश्चित नभएसम्म गठबन्धन यथावत रहने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले गठबन्धन नयाँ अभ्यास नभएको बताउँदै केपी ओलीले आफ्नै दम्भका कारण दुइपटकसम्म संसद विघटन गरेपछि संविधान र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि कांग्र्रेस सडकमा उत्रिएको र वर्तमान गठबन्धन बनेकोले यसको निरन्तरता अझै आवश्यक रहेको बताउनुभएको हो ।
अहिलेको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अग्रगमन पक्षधर रहेको र एमाले–राप्रपा लगायत दलको गठबन्धन प्रतिगमन पक्षधर रहेकाले निर्वाचनमार्फत जनताले प्रतिगमनलाइ परास्त गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
के.पी. ओलीले गठबन्धनको गलत प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गरिरहेकोतर्फ सचेत हुन आम जनतालाई आग्रह गर्दै सभापति थापाले गठबन्धनका उम्मेद्वारको पक्षमा प्रचार–प्रसार गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिक परिवर्तन एवं सामाजिक रुपान्तरणमा प्रेसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
सो कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका सञ्चारकर्मी लीला अनमोल र डा. आशिष भण्डारीलाई सभापति थापाले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । पूर्व केन्द्रीय सदस्य शिवाकोटी, कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, विर्तामोड नगरसभापति भोजराज सिटौला, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, झापा अध्यक्ष इन्दु पूर्वेली, लगायतले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।
कांग्रेसको सदस्यता ग्रहण गर्दै सञ्चारकर्मी अनमोलले आफ्नो विगतप्रति कुनै गुनासो नरहेको र आफू नयाँ सोच, नयाँ विचार र नयाँ जोश लिएर माइतीघर फर्किएको अनुभव भइरहेको बताउनुभयो । विगतमा पार्टीबाहिर रहँदा र पार्टीभित्र रहँदा पनि आफूले कांग्रेस पार्टीकै नजिक रहेर कार्य गरेको टिप्पणी गर्दै अनमोलले साहित्य र पत्रकारिताका माध्यमबाट सामाजिक रुपान्तरणका लागि सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । सो क्रममा डा. आशिष भण्डारीले गठबन्धन दलको एकताबाट मात्रै संविधान र लोकतान्त्रिक शासनपद्धतिको संरक्षण हुने देखेर आफू कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।


























