झापा ।

बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक तरलताको कारण देखाउँदै अप्रत्यासित रुपमा ब्याजदर बढाएको भन्दै झापाका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् ।
तत्काल ब्याजदर फिर्ता गराउनुपर्ने मागसहित सरकारलाई दबाब दिने उद्देश्यले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जिल्लाभरका उद्योगी व्यवसायीहरूले मंगलवार बिहान जिल्ला प्रशासन कार्यालय झापा घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
झापा उद्योग वाणिज्य संघ भद्रपुर, उद्योग संघ भद्रपुर, बिर्तामोड, मेची, शनिश्चरे, सुरुङ्गा लगायत उद्योग वाणिज्य संघमा आबद्ध पदाधिकारीहरू भद्रपुरस्थित टे«ड युनियन चोकमा भेला भएर ¥यालीसहित प्रशासन कार्यालय पुगेका थिए । जिल्लाभरका उद्योग संघहरूले सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई १८बुँदे मागसहितको छुट्टाछुट्टै ज्ञापन–पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाए पछि आयोजित कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश १ उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, उद्योग संघ भद्रपुरका अध्यक्ष यमबहादुर श्रेष्ठ र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बैङ्क तथा वित्तीय संस्थाहरूले बढाएको चर्को ब्याजदरका कारण यहाँका उद्योगी व्यवसायी पलायन हुने अवस्था सृजना भएकोले तत्काल वृद्धि गरिएको ब्याजदर फिर्ता लिनुपर्नेमा जोड दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले सम्बन्धित निकायमा ज्ञापन–पत्र पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । माई पश्चिमका उद्योग वाणिज्य संघहरूले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको बताइएको छ ।
कोभिड महामारी, रुस र युक्रेनको युद्धले देशको अर्थतन्त्र संकुचित हुँदै गएको तथा आर्थिक गतिविधिमा आएको शिथिलताले आम उद्योगी व्यवसायीसहित सर्वसाधारणको समेत जनजीवनमा प्रत्यक्ष असर परिरहेको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह नगरी अप्रत्यासित रुपमा ब्याजदर बढाएर अप्ठ्यारो पार्न खोजिएकोले उद्योगी व्यवसायी आन्दोलित बन्नु परेको प्रदेश १ उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले बताए ।
बैङ्क तथा वित्तीय संस्थाहरूको ज्यादतीका कारण उद्योग तथा कलकारखाना बैङ्कलाई बुझाउनुपर्ने अवस्था आइसकेको छ । सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको त्रुटीपूर्ण नीतिले यस्तो समस्या आएको बताउँदै उनले भने– ‘तत्काल समस्याको समाधान नखोजिए देशभरका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिने छन् ।’
व्यवसायी संघहरूको आन्दोलनको कार्यक्रम अनुसार आज कात्तिक २३ गते बैङ्किङ कारोबार नगर्ने, बजार क्षेत्रमा प्ले कार्डसहित प्रदर्शन गर्ने, कात्तिक २५ गते प्रदेशको कार्यक्रममा सहभागी हुने र कात्तिक २८ गते केन्द्रीय कार्यक्रममा सहभागी हुने बताइएको छ ।































