बिर्तामोड ।

आसन्न निर्वाचनका लागि प्रचारप्रसारका क्रममा राजनीतिक दलहरुले बालबालिका तथा विद्यार्थीको प्रयोग गरेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
संविधान, कानून र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै दलहरुले बालबालिका तथा विद्यार्थीको प्रयोग गरिरहेको शनिवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बताइयो ।
दलहरुले गर्ने जुलुस, सभा, घरदैलो अभियान जस्ता चुनावी कार्यक्रममा बालबालिका तथा विद्यार्थीको प्रयोग गरिरहेको भन्दै सरोकारवालाले त्यस्तो कार्य तत्काल बन्द गर्न दलहरुलाई आग्रह गरे ।
त्यस्तै चुनावी अभियानमा चर्को ध्वनियन्त्रको प्रयोगबाट विद्यार्थीको पठनपाठन र विद्यालयको शैक्षिक वातावरण खल्बलिएको उनीहरुले बताए । गीत, भाषण र सूचनाका लागि चर्को स्वरमा माइक बजाउँदा पठनपाठन प्रभावित भएको उनीहरुको भनाइ थियो । सरोकारवालाले विद्यालय वरपर यस्ता गतिविधि नगरिदिन, संविधान, कानून र निर्वाचन आचारसंहिताको ख्याल गरिदिन, विद्यालय र बिद्यार्थीलाई राजनीतिबाट मुक्त राखिदिन दलहरुलाई आग्रह गरे ।
न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, शिक्षा बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा पत्रकार सुब्रत न्यौपाने, शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल, सञ्चारकर्मी प्रकाश पौडेल, नेत्रबिक्रम बिमली, अर्जुन राजवंशी, चन्द्र बस्नेत, सृजन घिमिरे, सुरज प्रधान, अस्मिता साँखी, केशव चापागाँई, लीला शिवाकोटी, जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र लगायतले बालअधिकारको सम्मान गर्न दलहरुलाई आग्रह गरे ।































