मोरङ्ग क्षेत्र नं ३ मा १ लाख ३९ हजार बढि मतदाता, ४८ मतदान केन्द्र

0
225

छविराज ढकाल/ पथरीशनिश्चरे,

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाँउपालिका र पथरी शनिस्चरे नगरपालिकाका कूल २४ वडाहरु मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार ८ सय ३३ मतदाता सङ्ख्या रहेको छ।

प्रदेश–१ मा ७५ हजार तीन सय ९३ कुल मतदाता सङ्ख्या रहेकोमा ३८ हजार छ सय १२ महिला मतदाता छन् । त्यस्तै, प्रदेशसभाको २ तर्फ ७४ हजार दुई सय ४० कुल मतदाता सङ्ख्या रहेकोमा ३८ हजार ६ सय २७ महिला मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जनाएका छन् । क्षेत्रभर ४८ मतदान केन्द्र रहनेछन् । जसमध्यें सबैभन्दा बढी बेलबारीमा २८, पथरीशनिस्चरेमा १, सुन्दरहरैँचामा १२ र कानेपोखरीमा ८ स्थानमा रहने जिल्ला निर्वाचन कार्यलयले जनाएको
छ ।

मोरङको क्षेत्र नम्बर ३ मा सङ्घ र प्रदेशमा गरी ३३ जना उम्मेदवार चुनावी मैदानमा छन । तीमध्यें १९ जना स्वन्तन्त्र उम्मेदवार छन । नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले)का उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन् ।

त्यसैगरी, स्वतन्त्रमा दिनेश चापागाईं, जयराज संयोक, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार छन ।
आगामी निर्वाचनमा प्रदेश ३ (क) तर्फ कांग्रेसका शेखरचन्द्र थापा एमालेका दिलिपकुमार राई, राप्रपाका तिर्थबहादुर गुरुङ लगायत सात जनाको उम्मेदवारी रहेको छ भने (ख) तर्फ एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा(एकिकृत समाजवादी)बाट लक्ष्मीकुमार श्रेष्ठ र राप्रपाबाट रमेश रिजाल लगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४१० र जनता समाजावादी पार्टीको ४६३ मत आएको थियो । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार १२१ मत छ । अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३ सय ७३, एकीकृत समाजवादीको एक हजार ८५५ मत रहेको छ । सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here