मतपत्रका गुनासाहरु

0
156

आइतबार सम्पन्न आमनिर्वाचनको नतिजा सार्वजनिक हुन थालेको छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले विजयको शुभारम्भ गर्दै आफ्नो विजय यात्रालाई निरन्तरता दिँदै आएको छ । देशकै ठूलो दल भएका नाताले उसले प्राप्त गरेको विजयले सो दललाई हर्ष लागेको हुनसक्छ, जो स्वभाविक पनि हो । यद्यपि यो नतिजा प्रारम्भिक मात्रै हो, कुनै दलको सरकार गठन गर्ने अवस्था नआउञ्जेल ठूला दलका निम्ति हर्षको विषय बन्न सक्दैन । एकातिर यसपटकको निर्वाचनमा इतिहासकै कम मत खसेको छ, अर्कातिर प्रभावशाली नेताहरु मतगणनामा पछि पर्दै गएका छन् । नेपाली कांग्रेसले भने थोरै भए पनि समयको आवश्यकता महशुस गरेका कारण नयाँ अनुहारले निर्वाचन जित्ने संकेत देखिएको छ ।

मतदान गर्नेहरुको मानसिकता संस्थापन पक्षीय दलहरुसँग रुष्ट रहेको अहिलेको प्रारम्भिक नतिजाले देखाएको छ । तीन दशकदेखि सत्ताको वरिपरि बसेर हालीमुहाली गरेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र जस्ता दलहरुसँग मतदाताले मतपत्रद्वारा असहमति प्रकट गरेका छन् । ती दलका नेतृत्व तहका नेताहरुको रवैयाप्रति मतदाताले मतका माध्यमबाट असन्तुष्टि र आक्रोश प्रकट गरेका हुन् । त्यही आक्रोशको परिणाम हो कि मतगणनाका क्रममा नयाँ अनुहारहरुलाई सम्मानजनक मत प्राप्त भइरहेको छ । सत्तामा बस्नेहरुको गैरजिम्मेवार चरित्र र निरंकुश व्यवहारले देश झन गरीब, झन पछि प¥यो भने आन्तरिक मामिलामा वाह्य हस्तक्षेप बढ्न थालेको छ ।

अबको दुई दिनभित्रमा आगामी सरकारको सुनिश्चितताको पनि ऐना देखिनेछ । त्यसको केही दिनपछि सरकारले पूर्णता पनि पाउने नै छ । तर, उसले विगतको मानसिकता, प्रवृत्ति र व्यवहार त्याग्नु पर्दछ । बाँचुञ्जेल सत्तामा झुण्डिने, विमति राख्नेहरुलाई कित्ताकाट गर्ने, निषेध गर्ने र आमजनताप्रति उदासीन र निरपेक्ष रहने मानसिक दरिद्रता मूलधारका दलहरुले त्याग्नैपर्छ । यदि त्यसो भएन, यसपटकको निर्वाचनको चोटले पनि दुखेन र जनताको आक्रोश, असहमति र अस्वीकृतिको सम्बोधन भएन भने राजनीतिक प्रणालीलाई धरापमा पार्ने अपजस पनि उनीहरुले नै लिनुपर्नेछ । त्यसैले मूलधारका राजनीतिक दलहरु गम्भीर बनून् र मतदाताका असरल्ल गुनासाहरु फेरि दोहोरिन नपाउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here