चेतना फैलिँदै जाओस्

0
210

राष्ट्रको समृद्धि स्थिर राजनीतिक अवस्थाबाट मात्र सम्भव हुन्छ । नेपाली जनता सधैँ स्थिर राजनीतिक व्यवस्था, स्थायी सरकारसँगै राष्ट्रको सर्वाङ्गिण विकासका पक्षमा छन् । तर, शासनको बागडोर सम्हालेकाहरु भने जहिल्यै व्यक्तिगत तथा दलगत स्वार्थका पछि दौडिएर अस्थिरता सृजना गर्न लागीपरेका छन् । यसैपटक पनि आमनिर्वाचनमा दलहरुले प्राप्त गरेको मत परिणामले पनि अस्थिर राजनीतिक भविष्यको संकेत गरेको छ । देश संघीय गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेको डेढ दशक भइसकेको छ । तर, राज्यसत्ताका सञ्चालकहरु तथा मूलधारका राजनीतिक दलहरुको अकर्मण्यताले देश झनै पछि धकेलिएको छ ।

राजनीति गर्नेहरुको दुराशयपूर्ण व्यवहार र प्रवृत्तिले समृद्धिको यात्रा समेत अवरुद्ध बनेको छ । भर्खरै सम्पन्न निर्वाचनमा त्यहीकारण नेपाली मतदाताले मतपत्रद्वारा विद्रोह गर्दै सहमति, सहकार्य र सहयात्राको अर्थपूर्ण सुझाव दिएका छन् । अहिलेसम्म प्रकट भएको मत परिणामले कुनै एक दलले सरकार निर्माण गर्ने हैसियत देखिएको छैन । त्यसमा पनि देशको राजधानी समेत रहेको काठमाडौं जिल्लाको मत परिणामले मुलुककै ठूला, शक्तिशाली र जेठा भन्ने दलहरुको दम्भलाई खण्डित गरिदिएको छ । सचेतनाले जहिल्यै गलत कामको विरोध गर्छ, प्रतिकारमा उतार्छ र नित्य परिवर्तनको नेतृत्व गर्छ । नानीमैना दाहाल, पद्मरत्न तुलाधर, मदन भण्डारी लगायतका विद्रोही शक्तिको उदय भएको सोही क्षेत्रमा यसबेला विजेता बनेका अधिकांश पात्रहरु त्यही चेतना र त्यसले उत्पन्न गरेको विद्रोहको परिणाम हो ।

मतदाता स्वतन्त्र हुन्छन् । उनको यो नैसर्गिक अधिकारलाई कहीँ कसैले बन्धकीमा लिन वा राख्न पाइँदैन र हुँदैन । सार्वभौम जनताले कुनै दल, कुनै नेता वा कार्यकर्ताको पुच्छर पनि भइरहनु पर्दैन । आफ्नो ब्रह्म, विवेक र चिन्तनले उपयुक्त प्रतिनिधि छनौट गर्न सार्वभौम जनता स्वतन्त्र र सक्षम हुनुपर्छ । त्यही क्षमता, सामथ्र्य र विवेकले गरेको विद्रोहको पयार्य बनेको सचेतनाको आलोकले जुन दिन देशै आलोकित हुन्छ त्यही समयदेखि मात्रै दशकौंदेखि जरा गाडेर बसेको बेथिति, विसंगति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने ऊर्जा प्राप्त हुन्छ । त्यसैले काठमाडौं, चितवन लगायतका जिल्लाहरुमा प्रकट भएको मत र परिणामले सम्पूर्ण नेपालीलाई ऊर्जावान बनाओस्, उत्प्रेरित गरोस्, त्यसले मात्र नेपालीको स्थायी शान्ति, स्थिरता र समृद्धिको सपनालाई विपनामा परिणत गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here