विराट ज्योतिर्लिङ्गको साधारणसभा

0
202

बिर्तामोड ।

झापाको बिर्तामोड -३ विराटपोखरस्थित विराट ज्योतिर्लिङ्ग समावेशी कीर्तन मण्डलीे संघको पाँचौ वार्षिक साधरणसभा सम्पन्न भएको छ।

मण्डली संघका अध्यक्ष मनप्रसाद उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नपा-३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव गणेश प्रसाईंले स्वागत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थल विराटपोखरीको संरक्षण-संबर्द्धनमा वडाको ध्यानाकर्षण भएको बताएका छन्। बिर्तामोडलाई चिनाउने र मानवीय स्वास्थ्य एवम् आध्यात्मिक शान्तिका लागि प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको विराटपोखर क्षेत्र अझ पनि ओझेलमा परिरहेको बताउँदै उनले अब यस क्षेत्रको विकासमा प्राथमिकताका साथ डीपीआर तयार गरि कार्ययोजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

उनले शुभकामना मन्तव्यका क्रममा स्थानीयको सकारात्मक सोच प्रशंसनिय भएको भन्दै सामाजिक विकृति विसंगति हटाई विशुद्ध र समुन्नत सामाजको निर्माणमा कीर्तन मण्डलीको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

धार्मिक अभियान्ता ध्रुवप्रसाद शिवाकोटीले सामाजिक सद्भाव कायम राख्दै मौलिक संस्कृति,परम्पराको संरक्षणमा सानातिना कीर्तन समूहजस्ता धार्मिक संघ-संस्थाको महत्व रहने भएकाले त्यसैअनुसार काम गर्नुपर्ने बताए।

संस्थाका सचिव गणेश प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह-कोषाध्यक्ष अर्जुन उप्रेतीले आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सचिव प्रसाईंले गत दशैंको अवसरमा आयोजित दुर्गा पूजाको आयव्ययसमेत सार्वजनिक गरेका थिए। विवरणअनुसार पूजाका लागि विभिन्न दाताहरुबाट संकलित एक लाख ३५ हजार ६सय ७० रुपैयाँमध्ये एक लाख २५ हजार ५ सय ५०रुपैयाँ खर्च भई १० हजार एक सय२० रुपैया वचत रहेको छ। २०७५ सालमा स्थापित मण्डलीले नियमित कीर्तनसँगै सामजिक कार्य गर्दै आएको बताइएको छ।

सोही अवसरमा संस्थाकी उत्कृष्ट सदस्य लीला राजबंशीलाई सम्मान गरिएको थियो। कार्यक्रममा धार्मिक सामाजिक व्यक्तित्व ध्रुवप्रसाद शिवाकोटी,मनकामना कीर्तन मण्डलीकी अध्यक्ष नैनकला थापा,लक्ष्मीनारायण कीर्तन मण्डलीका अध्यक्ष मोहन चुडाल,नवदुर्गा कीर्तन मण्डलीकी उपाध्यक्ष कविता गौतम, विराट सरोवर कीर्तन मण्डलीका उपाध्यक्ष युवराज न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सह-सचिव चन्द्रप्रसाद भट्टराईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here