अर्जुनधारा ।
चासोक तङनाम(उभौली पर्व)को अवसरमा झापाको अर्जुनधारास्थित चासोक तङनाम व्यवस्थापन समितिले दुई दिवसीय वृहत कार्यक्रम गर्ने भएको छ ।
चासोक तङनामको तयारी बारे जानकारी दिने उद्देश्यले अर्जुनधारा–३स्थित वडा समिति कार्यालयको सभाहलमा समितिद्वारा बिहीबार आयोजित पत्रकार भेटघाटमा उक्त कार्यक्रम बारे बताइएको हो ।
कार्यक्रम अन्र्तगत मंसीर २१ गते स्थानीय टाङटिङ नदी किनारमा नौ जना सेवासाँवाबाट विधिपूर्वक पुजासहित गालीश्राप तथा साकमुरा बहन्ती सेवा र विभिन्न मौलिक खेलकुद प्रतियोगिता सञ्चालन गरिने समितिका अध्यक्ष राजेश जवेगुले बताए ।
उनका अनुसार मंसीर २२ गते अर्जुनधारा–१स्थित मदनपुर खेल मैदानमा राष्ट्रिय कलाकार गंगा फियाकसहित स्थानीय कलाकारहरुको प्रस्तुती, विभिन्न जातजातिका झाँकीसहितको नृत्य, स्रष्ट सम्मान, पुरस्कार वितरणसहित शुभकामना आदानप्रदान गरिने बताइएको छ ।
नगरपालिकामा रहेको ११ वटा वडामा रहेका किरात समुदायहरुको प्रतिनिधित्वसँगै नगरमा रहेका सबै जातजातिहरुको मौलिक नृत्यहरु प्रस्तुत हुने यस कार्यक्रमले नगरवासीको एकता र धार्मिक सहिष्णुताको सकारात्मक सन्देश प्रवाह गर्ने अध्यक्ष जवेगुले दावी गरे । कार्यक्रम स्थलमा किरात समुदायको मौलिक खानाका परिकार र भेषभुषाहरुको स्टल पनि सञ्चालन हुने बताइएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संयोजक लक्ष्मीप्रसाद इङनाम र सहसंयोजक फिपराज कुरुम्वाङ रहेको खोला पुजा उपसमिति, संयोजक विजेन्द्रकुमार एक्तेन र सहसंयोजक विजय राई रहेको अतिथि सत्कार उपसमिति, संयोजक महेन्द्र आङदेम्बे रहेको खेलकुद सञ्चालन उपसमिति, संयोजक गर्जमान सुब्बा र सहसंयोजक रोहित हाङसुरुम्बा रहेको स्वयंमसेवक परिचालन उपसमिति, संयोजक मोहन सुब्बा रहेको मञ्च व्यवस्थापन उपसमितिलगायत गठन गरिएको समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।
उक्त कार्यक्रम सम्पन्न गर्न अनुमानित सात लाख ५० हजार रुपैयाँ लाग्ने समितिकी कोषाध्यक्ष शर्मिला सुब्बाले जानकारी दिइन् । आवश्यक बजेटको स्रोत भने अर्जुनधारा नगरपालिका, विभिन्न दाताहरु र माङभेटी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । अनुमानित बजेटबाट एक लाख रुपैयाँ बचत गरि आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित गर्दै निरन्तरता दिन र स्रष्टा सम्मान गर्नको लागि अक्षयकोष स्थापना गरिने उनले बताइन् ।
त्यस्तै यस वर्षको स्रष्टा सम्मानबाट किरात साहित्यकार नरबहादुर योङहाङ (नवल फाइवाली)लाई मरणोपरान्त किरात साहित्य योग्दानबाट सम्मान गरिने सचिव लिङदेनले जानकारी दिए । समितिका अध्यक्ष जवेगुको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सदस्य रुद्र फागोले र कार्यक्रमको सञ्चालन सचिव लिङदेनले गरेका थिए ।