डेंगु, कोरोना र कान्तिपुर

0
270

अहिलेको समय कोरोना–कोलाहल पछिको समय हो । अर्थात् डेंगुको समय । तै पनि डेंगुको चर्चा छैन । कोरोनाको धङ्धङी अहिले पनि जारी छ । किनभने, कोरोना अन्तर्राष्ट्रिय रोग हो । डेंगु स्थानीय रोग हो । डेगु ज्वरोको बारेमा थाहै नपाइ मानिसहरु डंगडङ्गती मर्ने गरेका हुन् । कोरोना फैलिएको हल्ला नचल्दासम्म भारत, नेपाल, बांगलादेश र पाकिस्तानमा डेंगु लागेर कति मरे कति । त्यसको हिसाव–किताब छैन । कोरोनाको जति चर्चा भयो, डेंगुको त्यति चर्चा कहिल्यै भएन । हाम्रो नेपालमा त कसैले पनि आफ्ना परिवारका सदस्य वा परिचितको डेंगु लागेर मृत्यु भएको कहिल्यै बताएका छैनन् ।

हिजोआज देशमा आयोजना गरिने आर्थिक–व्यापारिक सेमिनारहरुमा हाम्रा अर्थशास्त्री तथा अर्थविदहरुले हाम्रो आर्थिक अवस्थालाई बरबाद तुल्याउन कोरोनाको मुख्य हात रहेको चर्चा गर्न थालेका छन् । सरकारी भनाइ अनुसारः अहिले ब्यापक भइ रहेको डेंगु स्थानीय महामारी हो । कोरोना जस्तो अन्तर्राष्ट्रिय होइन । कोरोना–काल सकिएकोले अब अर्थतन्त्रमा सुधार आउँछ । अब कोरोनाको भ्याक्सिन किन्नुपर्ने छैन ।
कसले दिन्छ हाम्रा बिद्हरुलाई यस्तो कुराको ज्ञान ? संसारमा कसैले गर्न नसकेको अनुमान नेपालमा गरिन्छ ।

यो पटकको मेरो कान्तिपुरगाथा पुरानै श्रृंखलाको पुननिर्माण मात्रै हो । देशको बाहिरी साजसज्जा र श्रृंगारमा परिवर्तन आएको छ । तर, मौलिक अवतार सिन्को जति पनि बदलिएको छैन ।

हाम्रो देशको कथा यस्तो छः यो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबद्धता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरुको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ मानिएका छैनन् । उसैपनि यी शब्दहरु इतिहासको कुनै चरणमा शोभायमान देखिएनन् । नेपाली समाजले भीम मल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो, भाइभारदारलाई चिन्यो । तर, देशका लागि ज्यानको आहूति दिने अरु कसैलाई चिन्दै चिनेन ।

मल्ल राजाका भारदार थिए भीम मल्ल । त्यतिबेला तिब्बतको आर्थिक र ब्यापारिक संप्रभूता कान्तिपुरको हातमा थियो । कान्तिपुरका जनता ‘भोटे नून’ खान्थे । तिब्बतीहरु नेपाली चामल । सालबसाली उठ्तीपुठ्तीमा गएका भीममल्ल तिब्बतबाट फर्किनासाथ राज–दरबारको ढोकैमा काटिए । उनको अपराध के थियो ? कसैले थाह पाएन । अपराध थियो भने पनि त्यसका प्रमाण–प्रमेय थिएनन् । सबै अनुमानको कुरा थियो ।

नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ । हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थेः नेपाली इतिहासका स्रोतहरु सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन् । भीम मल्ललाई जनताले आजपनि शानका साथ सम्झिन्छन् । भीमसेन थापा यो देशका गौरवशाली पुरुष मानिन्छन् । उनको इतिहास पनि बिबादास्पद छ । उनको ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन । अमरसिंह थापाको कद भीमसेन थापाको भन्दा धेरै अग्लो थियो । यो सत्य हो ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जसदिने कुरा लगभग सल्टिइ सकेको छ ।

पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन् । हिजोसम्म उग्रवादी बाटोमा लागेका नेत्रबिक्रम चन्दले पनि अव पृथ्वीनारायण शाहको बिरोधमा काम नगर्लान् । पृथ्वीनारायण शाहको मूलराज्यका रुपमा परिचित गोर्खामा हालै भएको चुनावमा नेपाल राष्ट्रबाट शाह बंशका राजाहरुको स्वामित्व समाप्त तुल्याउने अभियानका नेता प्रचण्डको ‘प्रचण्ड’ बिजयपछि पृथ्वीनारायणको पूजा जति गरे पनि भयो । नेपालको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारी भद्रगोल खूब चल्यो । जो जो बलिया भए ती सबैले आ–आफ्नो ‘इतिहास’ लेखाए । रानीहरुसंगको प्रेमसम्बन्धका कारण दरबारमा धेरै भारदारहरुको शक्ति बिस्तार भयो । भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत बिबिध थर र एकैवर्गका व्यक्तिहरु नेपाली समाजमा हावी भए । यी त केही उल्लेखनीय उदाहरण मात्रै हुन् । नेपालको इतिहासको आकार देशको बास्तविक आकारभन्दा कैयौं गुना अग्लो र लामो छ । यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र ।

जतिबेला माओवादी लडाइँमा थिए त्यतिबेला ती रनबन घुम्थे । देशमा पाइने अपार जडीबुटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे । नेपालगन्जमा सीमित जडीबुटीको ब्यापारलाई देशब्यापी प्रचारमा ल्याएका हुन् माओवादीले । यो कुरालाई मान्नै पर्छ ।

देशमा राजनीतिक आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन । तर, जनता–जनताकाबीच वार्ता भएकै छैन । संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि देशका समस्याहरुमाथि छलफलगर्ने चलन ह्वात्तै बढेको थियो । त्यो संगै बढेको थियो आसन ग्रहणको चलन । व्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै आसन ग्रहणका लागि मञ्चमा पुगे । सभाकक्षमा भाषण सुन्ने कोही भएन । सभाकक्ष आमन्त्रित ब्यक्तित्वका चालकहरु, सुरक्षाकर्मीहरु र निजी सचिवहरुले ‘भरिएको’ थियो । मञ्चमा जो बिराजमान थिए ती आपसमा मस्त थिए । एकअर्कासंग ‘तीन तेह्र’को सम्बन्ध नहुनेहरु पनि एकापसमा ‘भलाकुसारी’ गर्दै थिए । यो थियो शहरी सभ्यताको बिस्तार । त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने !

त्यतिबेलाका सभामा, स्वाभाविक थियो, शहीदहरुको सम्मानमा एक मिनेटको मौन धारण । त्यसपछिको अर्को एक मिनेट बीपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुबैको बर्षा हुन्थ्यो । ‘भलाद्मी’ राजा बीरेन्द्रको लोकप्रिय व्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो– उनको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो । त्यसको प्रमाण स्वरुप कान्तिपुरका सम्भ्रान्त बैठकहरुमा कथाको एक अंश नियमित सुनाइन्थ्यो– कसरी राजा बीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ शब्दले संवोधन नगरेर ‘मेरी श्रीमती’ शब्दले संवोधन गरेका थिए । यो घटना राजा बीरेन्द्रले राज्यारोहण गरे लगत्तै नेपाल बिश्व सम्बन्ध परिषद्को आयोजनामा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सभागृहमा देशका बुद्धिजीवीहरु सहभागी भएको एउटा महत्वपूर्ण सभामा भएको थियो । त्यसैदिनदेखि राजा बीरेन्द्रका बिरुद्ध पुराना र घरानियाहरुले षड्यन्त्र शुरु गरेको कथा शहरका संभ्रान्त बैठकहरुमा दोहोरिन, तेहोरिन थालेको थियो ।

२०४७ सालमा कान्तिपुर शहरमा बीर गणेशमानको सघन चर्चा हुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि गणेशमानजीलाई ‘बीर’ त के, प्रजातान्त्रिक देशको ‘अकिञ्चन’ नागरिकका रुपमा समेत शान्तिसंग बस्न दिइएन । उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो । तर, के कांग्रेसले उहाँलाई साँच्चै सर्बोच्च रहन दियो त ? यसको जवाफ इतिहासले खोज्दै गर्ला ।

सभा–समारोहमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्तदिंदै उनलाई राजनीतिमा इमान–जमानको प्रतीकका रुपमा सम्झना गरेको हिजो पनि सुनिन्थ्यो र आज पनि सुनिन्छ । त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुंगो हुन थालेपछि बिस्मृतिको गर्भमा लोप भयो । गणेशमानजी र किशुनजीको आदर्श नेपालको राजनीतिबाट लगभग लोप हुनुभयो । प्रजातन्त्र पुनस्र्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन–मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए ।

पुनस्र्थापित संबैधानिक राजतन्त्र तथा वहुदलीय प्रजातान्त्रिक व्यवस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो । यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमत ल्याएर जित्यो ।

प्रजातन्त्र पुनस्र्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनस्र्थापनापछि, अभिमान भन्दापनि हलक्क बढेको थियो घमण्ड । अभिमान र घमण्ड एकै अर्थदिने शब्द होइनन् । अभिमानी हुनु र घमण्डी हुनुका भेदहरु थुप्रैछन् । प्रजातन्त्र पुनस्र्थापनापछि, पहिलो चुनावी मौसममा, आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रुपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । चुनावकै प्रसंगमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’ संग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा तत्कालीन पत्रकार रघुपन्तले आफनो स्तम्भ लेखेका थिए । धन्य हो, पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र ओली गुट भनेर चिनिने एमालेमा छन् ।

उतिबेलाका सभा–समारोहमा कांग्रेस–कम्युनिष्टको ‘बोक्रे’ मित्रता देख्न पाइन्थ्यो । कांग्रेसहरु कम्युनिष्टहरुलाई दुई हात जोडेर ‘नमस्कार’ गर्दथे । कम्युनिष्टहरु मुड्की उजाएर ‘सलाम’ फर्काउँथे । यतिबेला चाहिँ देशका नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरु मुड्की उजाएर कांग्रेसलाई नमस्कार गर्न होइन, डँडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन् ।

दुईवटा पूरा र एउटा मध्यावधि चुनाव बितेपनि पुनस्र्थापित प्रजातन्त्रले जनतालाई सन्तुष्टि दिन सकेको थिएन । राजा बीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्र राजाका रुपमा भन्दा पनि पारस शाहका पिताका रुपमा बढी चर्चित भए । राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे । उनका चाकरीदारहरुले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो– ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महशुस गरिबक्सियो ।’ अप्ठेरो महशुस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सिएको थियो त ? यो प्रश्नको जवाफ ती कीर्तिकारहरु कसैसंग पनि छैन होला ।

राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन् । उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन् । राजाहरु ती बेलायतका हुन् कि नेपालका, धनी हुन् कि गरीब, मूर्ख हुन् कि बुद्धिमान ः अलिकति सन्की सन्की नै हुन्छन् ।

गणतान्त्रिक राष्ट्रका रुपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए । मल्लकालीन नेपालमा भारदारहरुको बृत्तको बिस्तार भएको थियो नेपालको शासन–प्रशासनमा । पृथ्वीनारायणका आफ्ना मानिस थिएनन् । मल्ल राजाहरुको पतनपछि अलमल्ल परेका भारदारहरु शरणार्थीका रुपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे । मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो । यसैको बिंडो थामेर, शाह राजतन्त्रलाई गणतान्त्रिक शासन ब्यबस्थाले निरन्तरता दिएको छ अहिले । गिरिजा प्रचण्ड र परिवर्तनका अन्य महत्वपूर्ण नेताहरुले एउटा संविधानसम्म पनि लेख्न सकेनन् समयमा । संविधानसभाको पहिलो कार्यकालमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो प्रधानमन्त्री भए । त्यतिबेला, ‘बाइ हुक्स एण्ड त्रूmक्स’ बाबुराम प्रधानमन्त्री नभएको भए फेरि कहिल्यै हुने थिएनन् ।

यही क्रममा पहिलो संविधानसभा टुंगियो । दोस्रो संविधानसभाका लागि परिवर्तनका नेताहरुले सर्बोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए । त्यसपछि रेग्मीले जुन चुनाव गराए त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो ।

तै पनि, संविधान बन्यो । संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लागेन । नेताहरु कुनैपनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस् भनेर सतर्क थिए । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरुले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भयो ।

अहिले जमाना बदलिएको छ । दशबर्ष लगाएर बडो कष्टका साथ ठसठसी, कनी कनी लेखिएको थियो संविधान । संविधानका सन्दर्भमा भारतका हालका बिदेशमन्त्री जयशंकर प्रसाद काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौ भनेर नेपाली नेताहरु आफ्नो गुनगान अझै गाउँदैछन् । उता जनता भने नेपालको संविधान ‘सक्रिय निष्क्रियताको बाटोमा लागेको’ अनुभव गर्न थालेका छन् । किनभने, देशमा द्वन्द्व कायम नै छ । संविधानले एकै झमटमा गाउँका गाउँलाई नगरपालिका बनाएको छ । तर, मानिसका सामान्य आबश्यकताको पहिचान गर्ने चेष्टा गरेको छैन । समावेशी शब्दको अर्थ र तात्पर्य दुबैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा ।

जनयुद्धमा ‘सत्र हजार जनता’ मारिएकोमा माओवादीको सत्तो–सराप गर्नेहरु शाहीसेनाबाट मारिएका जनताको हिसाब–किताब गर्न उत्सुक देखिदैनन् । जनयुद्धका समयमा भेरी, कर्णाली, तीला र पूर्व पश्चिमका अरु नदीहरुको भेलमा कतिलाई जवर्जस्ती हेलिएको थियो ? त्यो न माओवादीलाई थाह छ, न त सुनेकै आधारमा भए पनि कसैले त्यसको अभिलेख नै राखेको छ ।

कुनैबेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीनेपालमा गणतन्त्र आउने भनेको गोरुगाडा चढेर अमेरिका पुग्ने भने जस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएको छ । उखान टुक्का र कथा कहानीमा रुची राख्नेहरुका लागि धेरै नै चाखलाग्दो व्यक्तित्व छ– ओलीको । उनको नेतृत्वमा गठन भएको सरकारले बिदेश नीतिका आफ्ना प्राथमिकता बदलेको थियो । भारतसंगको खुला सीमाना बन्द गरेर चीनसंग सीमा खुला गर्नुपर्ने बिचार जागृत हुँदैछन् । उसो त, चीनसँग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेकोछ । चीन चिढिएला भनेर राजाहरु समेत सतर्क रहन्थे । तिब्बत चीनमा गाभिँदा पनि नेपालको सरकार केही बोलेको थिएन । सन १९८९ मा चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको माग गर्दै बेइजिंगको तियानमेन स्क्वायरमा ‘चार जुनको आन्दोलन गर्ने’ युवा बिद्यार्थीहरुको दमन र हत्याका समाचार नेपालका भारदारवर्गले पढेकै छैन जस्तो पो छ !

अहिले एकथरि वामपन्थीहरु रन्थनिएका छन् नेपालमा एमसीसीको उपस्थितिले । शीतयुद्ध कालमा युरोप अमेरिकाका मानिसहरु जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे । उनीहरुलाई यो थाह छैन एमसीसी चीनकै बाटो आउँछ । आज नआए भोलि आउँछ । चीनसँग मूठभेड नगरेर उसलाई आर्थिक बिकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले । उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले । यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन् १९७२ मा ।
कम्युनिष्टहरुका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ । सोभियत संघसंगको सीमा युद्धले माओ उद्विग्न बनेका थिए । त्यही रन्कोमा उनले अमेरिकासंग मित्रताको हात बढाएका थिए ।

माओत्से तुंगमा ब्यबहारवाद प्रचूर मात्रामा थियो । उनको राजनीति र कुटनीति, नैतिक र सैद्धान्तिक आधारमा होइन, तत्कालीक परिस्थितिका आधारमा निर्भर हुन्थ्यो । उनी भन्थे– ‘थोरै क्रान्ति, आवश्यकताका आधारमा धेरै कुटनीति ।’ माओको यो नीतिको अबलम्बन चीनमा जारी छ । नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेका छन् । यो सत्य हो, बितेको पचास बर्षमा आर्थिक बिकासमा चीनले फराकिलो छलांग मारेको छ । चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ बिकास गरेका छन् ।

यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरुको ‘मौलिक’ चरित्रसंग अनभिज्ञ छ । त्यो मामिलामा चीनियाँहरु माहिर छन् । चीनका नेताहरुले नेपाली नेताहरुको नाडी छामी सकेका छन् । नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन् । त्यसबाट आकर्षित भएका छन् । त्यसैले, चीनका नेताहरु पूर्व राजदूतहरुलाई बेला बेलामा भाषण गर्न नेपाल पठाएर नेपाली जनतालाई उनीहरुको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन् ।

हामीले जानेका छौं गफ गर्न । हाम्रा सरकारहरुले जानेका छन् छड्के हान्न । आफ्ना कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा सक्रिय गराएर बिरोधीको मान–मर्दन गर्न । जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ । चुच्चे नक्सा अनुसारको जमिनमा दावी गर्न सरकार नै पुगेको छैन । बिचरा हामी जनता । कान्तिपुरका रैथाने, पुरानिया र घरानिया भारदारहरुले काउकुती लगाइ दिएर सरकारलाई प्रसन्न तुल्याएका छन् । हामी नेपाली ‘सार’ मा सबै कुरा बुझ्छौ– जस्तो गीतासार । श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको चूरो जम्मा आठ पंक्तिमा ।
एकताका शहरका पुस्तक पसलहरुमा एउटा पोष्टर पाइन्थ्यो– कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन् ? आजकाल त्यस्तो पोष्टर कसैले बेच्दैन । किनभने, अहिले देशको अवस्था र नर्कका अवस्थाका बीच कुनै भेद छैन । नर्क पनि यो भन्दा खराब त के होला र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here