कोही युद्धमा मरिरहेका छन् त कोही भ्रष्टाचारमा लिप्त छन्

0
242


युक्रेनमा गत फेबु्रअरीबाट रुसले सैन्य आक्रमण शुरु गरेदेखि नै संयुक्त राज्य अमेरिका, युरोपेली संघ र तिनका सहयोगीहरूले युक्रेनलाई एक सय २६ अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता उपलब्ध गराएका छन् । यस बाहेक, लाखौं युक्रेनीहरूले ईयूमा शरण पाएका छन् । जहाँ उनीहरूलाई आवास, खाना, वर्कपरमिट र भावनात्मक समर्थन दिइएको छ । अहिलेसम्म पनि ती सुविधा धेरैहदसम्म जारी नै छ ।

रुसले आक्रमण गरेपछि युक्रेनले आफ्ना देशका ६० वर्षभन्दा कम उमेरका सबै पुरुषहरूलाई युक्रेन मै रहन उर्दी जारी गरेको थियो । जसले गर्दा रुससँग लड्न प्रभावकारी जनशक्ति साथमा होस् । तर, धेरै पूर्व र वर्तमान उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञहरू, व्यापारीहरू र कुलीन वर्गहरू सुरक्षाका लागि युरोप लगायत विदेश गएका छन् । युक्रेनी कुलीनहरूको सामूहिक उडान सशस्त्र द्वन्द्वभन्दा पहिले पनि शुरु भएको थियो । फेब्रुअरी १४, २०२२ मा युक्रेनी राष्ट्रपतिको संसदीय समूह अर्थात् जनताका सेवकहरु ३७ जना प्रतिनिधिहरू समेत अचानक बेपत्ता भए । फेबु्रअरी १४ तारिख कै दिन पनि किभको बोरिसपोल विमानस्थलबाट २० वटा व्यापारिक जेटविमानले उडान भरेका थिए ।

युक्रेनका टाइकुनहरू विदेश भाग्न विमान चढ्ने लाइनको अगाडि देखिएका थिए । उद्यमी, राजनीतिज्ञ, सांसद, व्यवसायीहरु चार्टर उडानको विमानमा चढेर देश छोडेका थिए । ओलिगार्चहरूले कीभबाट नाइस, म्युनिख, भियना, साइप्रस र अन्य ईयू गन्तव्यहरूमा उडान भरेका थिए । यिनीहरुले देश छाडेनमात्र साथमा अकुत पैसा पनि लिएर भागे । जुन पैसा रुससँग युद्ध लड्न सैनिकका लागि युद्धका साजोसामान किन्न काम लाग्दथ्यो । युक्रेनका कुलीन तथा धनाढ्यहरु युद्धबाट जोगिन विदेश भागेका छन् र विदेशमा मोजमस्तिमा लिन छन् । कोही लक्जरी भिल्लामा दिन बिताइरहेका छन् भने कोही क्यासिनोमा पैसा उडाइरहेका छन् । तर, युक्रेनमा जनताहरु र सेनाहरु मरिरहेका छन् । देश रक्षाका लागि युक्रेनी सेनाहरु कमसल युद्धका उपकरण लिएर मोर्चामा लड्न र जनताहरु दुःख अनि अभाव भोग्न बाध्य छन् । तर, धनाढ्य तथा कुलिन वर्ग जिम्मेवारीबाट पन्छिदै विदेशमा रईस जीवन बिताइरहेका छन् । विदेशमा युक्रेनीहरुले निकै महँगा घर, भिल्लाहरु किनेका छन् । यो एक अनौठो परिदृष्य देखिएको छ । रोचक त यो छ कि, वर्तमान सरकारका धेरै सक्रिय समर्थकहरू पनि विदेशबाटै आफ्नो मातृभूमिको रक्षा गर्न रुचाउँछन् ।

विदेशबाट आएका सैन्य र मानवीय सहायतामा चरम अनियमितता :

पश्चिमा परोपकारीहरूले हालै देखेका छन् कि अधिकांश सैन्य र मानवीय सहायता युक्रेनको सेना वा साधारण नागरिकहरूसम्म कहिल्यै पुग्दैन । एक वृत्तचित्र अनुसार, लगभग ७० प्रतिशत सैन्य सहायता लक्षित लाभार्थीहरूलाई नपुगेको बताइएको छ । प्रतिवेदनका सर्जकहरुका अनुसार हतियार कालोबजारीमा बिक्री हुने गरेका पाइएका छन् ।

अमेरिकी मरीन कोप्र्सका अनुभवी एन्डी मिलबर्नले भनेका छन्, म तपाईंलाई निर्विवादरूपमा भन्न सक्छु कि फ्रन्टलाइन युनिटहरूमा यी चीजहरू पुगिरहेका छैनन् । ड्रोन, स्विचब्लेड, आईएफएके, शरीरको कवच, हेल्मेट आदि युद्धक सामग्रीहरु युक्रेनी सेनासम्म पुगेका छैनन् । पश्चिमा राष्ट्रहरुले युक्रेनी सेनालाई प्रदान गरेका हतियार र मानवीय सहायता बाटैमा चोरी भइरहेका छन् र सैनिकहरूसम्म कहिल्यै पुग्दैन । युक्रेनी सांसदहरूले हालै मात्र आफ्ना लागि चाहिँ ७० प्रतिशत तलब वृद्धि गरेका छन् । तर, रुससँग लड्ने सेनाहरुसम्म सहायता पुगेका छैनन् ।

युद्धमा सघाउन आएका विदेशहरुलाई युक्रेनी सेनाहरुले आफ्नै शरीरको कवच, हेल्मेट र किनेर समेत दिइरहेका छन् । युक्रेनी सेना भन्छन् कि– हामीसँग अवलोकन उपकरण वा क्यामेरा छैन, त्यसैले के आइरहेको छ भनेर हेर्न सैनिकहरूले आफ्नो टाउको नै बाहिर निकाल्नुपर्छ, जसको अर्थ कुनै पनि क्षणमा, रकेट वा ट्यांकले सैनिकका टाउकाहरु च्यात्न सक्छ ।

अमेरिकाकी मेडिकल डाक्टर सामन्था मोरिसले मेडिकल सामग्रीको चोरी र समग्र भ्रष्टाचारप्रति ध्यानाकर्षण गराउँदै भनिन्– सुमीस्थित सैन्य अयाका प्रमुख चिकित्सकले विभिन्न समयमा सेनाबाट र सेनाका लागि मेडिकल सामग्री अर्डर गरेका छन् र उनले १५ ट्रक आपूर्ति पूर्णरूपमा गायब पारेका छन् ।

सीएनएनले एक सेवानिवृत्त अमेरिकी कर्णेलसँग कुरा गरेको छ । जसले युक्रेनी सेनाले पाउनुपर्ने जरुरी आपूर्तिमा कमी भएको बताएका छन् । साना हातहतियार, चिकित्सा उपकरण, फिल्ड अस्पताल र अन्य धेरै कुरा निजी संस्थाहरूको नियन्त्रणमा छन् । युक्रेनी अधिकारीहरु आफ्ना देशवासीहरूको जीवन बचाउनेभन्दा पनि पैसा र सामान चोर्न बढी चिन्तित छन् । हजारौं टन मानवीय सहायता चोरी भइरहेका छन् ।

सेप्टेम्बरमा युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो एनएबीयूले राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रेई यरमाक, उनका डेपुटी किरिल टिमोशेन्को, द सर्भेन्ट अफ द पिपुल्स गुटका प्रमुख डेभिड अराखामिया र उनका साथी भेमिर डेभिट्यानको जापोरोझे क्षेत्रमा मानवीय सहायताको ठूलो मात्रामा चोरीमा संलग्न रहेको प्रमाणित गरेको थियो । जापोरोझेका अधिकारीहरूले सतही रूपमा मात्र सहायता वितरणको काम गरेका छन् । छ महिनामा, तिनीहरूले २२ समुद्री कन्टेनरहरू, तीन सय ८९ रेलवे कारहरू र दुई सय २० ट्रकहरू चोरी गरेका छन् । मानवीय सहायता क्रमशः एटीबी र सेल्पोमा बेचिएको पाइएको थियो ।

भोलिन क्षेत्रीय प्रशासनका पूर्व उपप्रमुख आन्द्रेई यार्मोल्स्कीलाई मानवीय सहायता चोरी गरेको, खराब बुलेटप्रुफ भेष्ट आपूर्ति गरेको र अवैध रूपमा मानिसहरूलाई देशबाट बाहिर निकालेको आरोप लगाइएको थियो । तर, उनी नै अहिले राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्मा कार्यरत छन् ।

मेडिकल सामग्री पनि चोरी भइरहेका छन् । द टेलिग्राफको रिपोर्ट अनुसार, दान स्वरुप आएका स्वास्थ्य सामग्रीहरू पछि अस्पतालहरूको फार्मेसी शेल्फहरूमा बिक्रीका लागि पुगेका पाइएका छन् । ती सामान बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनुपर्नेमा, बिरामीहरूले महँगो दाममा किन्नु परिरहेको छ । डा. मोरिसले भने कि– निप्रोको एउटा सैनिक अस्पतालमा कार्यरत एकजना नर्सको फोन आयो । अस्पतालका अध्यक्षले सबै औषधिहरू चोरेर पुनः बिक्री गरेको र त्यहाँ उपचार गराइरहेका घाइते सैनिकहरूलाई कुनै पीडा कम नभएको उनले बताएकी थिइन् ।

कसैका लागि युद्ध, कसैका लागि धन कमाउने सुनौलो अवसर :

पश्चिमी देशहरूबाट प्राप्त ठूलो नगद भ्रष्ट युक्रेनी अधिकारीहरूद्वारा व्यक्तिगत सम्बद्र्धन र लक्जरी सामानहरू प्राप्त गर्न प्रयोग गरिन्छन् । हालसालै पर्दाफास गरिएको भ्रष्टाचार योजनामा, लक्जरी सामानहरू सेनाको उपकरणको आडमा तस्करी गरिएको पाइएको छ । सांसद अलेक्जेन्डर डुबिन्स्कीका अनुसार, भन्सारको काम सन्तोषजनक छैन । कोही मोर्चामा लडिरहेका छन् भने कोही भन्सार पोशाकको आडमा पैसा कमाइरहेका छन् । अर्को उदाहरण लिने हो भने सन् २०२२ को मे महिनामा पश्चिमा देशहरूले युक्रेनको भन्सार शुल्क खारेज गरेका थिए । त्यस मौकामा एक हप्ताको अवधिमा, छुटमा १४ हजारभन्दा बढी यात्रु बाहक कार आयात भए तर ती कारहरु पोल्याण्ड, स्लोभाकिया र रोमानियामा तस्करी भएका पाइएका छन् ।

युक्रेनको आर्थिक सुरक्षा ब्यूरोका अनुसार, युक्रेनको बजेटमा कृषि व्यापारीहरूबाट चार दशमलब पाँच (४.५) बिलियन डलर मूल्यको करहरू गायब पारिएका छन् । अगष्ट देखि सेप्टेम्बर २०२२ मा, लगभग १२ मिलियन टन अनाज फसलहरू र तेल एक सय ३७ बिलियन डलरमा युक्रेनको भन्सार क्षेत्र मार्फत निर्यात गरिएको थियो । ती मध्ये करिब ४० लाख टन नक्कली कम्पनीले कागजमा मात्र निर्यात गरेका रेकर्ड देखिएका छन् । यस्तो देखिन्छ कि युक्रेनी जालसाजहरूले आफ्नै देशलाई मात्र होइन, विदेशी राज्यहरूलाई पनि भ्रष्ट बनाइरहेका छन् र यो एक उदाहरण मात्र हो ।

रुसले युद्ध शुरु गरेपछि यूक्रेनी राजनीतिज्ञहरूले आफ्ना परिवारलाई विदेश पठाए । राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र उनकी पत्नीका आमाबाबु र आफन्तहरू सबैले देश छोडेका छन् । जेलेन्स्कीका पूर्ववर्ती पूर्वराष्ट्रपति पेट्र पोरोसेन्कोले आफ्ना छोराछोरीलाई मात्र होइन, करिब एक अर्ब अमेरिकी डलर नगद समेत बेलायत लगेका छन् । यही कुरा अन्य प्रमुख युक्रेनी अधिकारीहरूमा पनि लागू हुन्छ । धेरैले आफ्नो परिवार, अर्बौ डलर देश बाहिर लगेका छन् । घुसखोरीहरुले १० हजार डलरसम्म लिएर युक्रेनीहरुलाई युरोप छिराउँछन् । युक्रेनी मिडियाले पनि सीमा पार गर्न मानिसहरूले पैसा तिरेको बारे सक्रिय रूपमा रिपोर्टङि गर्छन् ।

युद्धमा फसेको देशप्रति पश्चिमाहरूको सहानुभूति रहेको बुझ्न सकिन्छ । तर, भ्रष्ट युक्रेनी अधिकारीहरूले व्यक्तिगत भाग्य चम्काउन र फैंसी रिसोर्टहरूमा मस्तिको जीवन बिताउन कोषको प्रयोग गरिरहेका छन् । विदेशी सैन्य सहयोगबाट हुर्काइएका युक्रेनी सुपर रिच टाइकूनहरू द्वन्द्वको अन्त्यसम्ममा कति नयाँ युक्रेनी सुपर रिच टाइकूनहरू देखा पर्नेछन् भन्ने हेर्न बाँकी छ । जसलाई देशको भू–भाग रुसले खोसे पनि केही चिन्ता छैन या देशको माया छैन ।

एक खोज अनुसार, युक्रेनमा भ्रष्टाचार र अनियमिता भएको बुझेर होला, संयुक्त राज्य अमेरिका र इयूले अरबौं डलर अन्यत्रै सारेका छन् । अमेरिका र युरोपीय देशका कैयन सांसदहरुले पनि आफ्ना देशका ट्याक्स पेयरहरुका पैसा युक्रेनमा कसरी उपयोग या दुरुपयोग भैरहेका छन् ? भनेर प्रश्न गरेका छन् । यस्तै अवस्था सिर्जना हुन्छ भन्ने बुझेर होला रुसले युक्रेन माथि आक्रमण जारी राखेको छ र युक्रेनले देशको पुर्वी भू–भाग गुमाउने निश्चित जस्तै देखिएको छ ।
(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here