चेप्टीको यात्रा

0
227


२०७९ साल मंसीर ७ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन दिनमात्र भएको थियो । अधिकांश ठाउँहरुमा मतगणना शुरु भइसकेको थियो ।

यसपाला चुनावमा देशका ठूला दलहरुको पुरानै कार्यशैलीले नयाँ पुस्तालाई समेट्न नसकिरहेको अवस्था हाम्रा मतदाता कार्यकर्ताहरुले हाम्रो चुनाव चिन्ह र हाम्रा नेतालाई मतदान गरिहाल्छन् भन्ने मनसायभन्दा माथि उठेर जनतामा आएको नैराश्यताका बाबजुद नेताहरुले सोचे अनुसार मतदान नभएर नयाँ पार्टी नयाँ व्यक्तित्व रोजेर मतदान भयो । पुराना पार्टीहरुलाई सबक सिकाउने कामको शुरुवात भएको आभाष भएको छ ।

यसैबीच सानो गाडी लिएर इलाम माई नगरपालिका वडा नं. २ मा भर्खरै निर्माण सम्पन्न भइरहेको ‘ह्याप्पी ड्रिम्स चेप्टी’ घुम्न जाने इच्छा भयो । बिहान ७ ः ३० बजे म, लछिमा र तत्काल बोलाएर मेचीनगर(६ मा म मेलमिलाप समितिको संयोजकलाई भरपूर सहयोग गर्ने मेलमिलाप समिति सदस्य तथा राप्रपा जिल्ला सदस्य हरिप्रसाद पौडेल प्रस्थान गरियो । बिर्तामोड पुरानो आँखा अस्पताल छेउबाट शान्ता श्रेष्ठ समेतलाई लिएर हामी चार जना हिँड्यौं ।

शनिश्चरे बजारबाट खुदुनावारी बजार पार गरेर घना जङ्गलभित्र २०२९ साल फागुन २१ गते झापा कारागारबाट इलाम कारागार सरुवा गर्ने निहुँमा क.नेत्र घिमिरे, क.रामनाथ दाहाल, क.वीरेन राजवंशी, क.कृष्ण कुइँकेल र क.नारायण श्रेष्ठ समेत पाँच जनालाई पञ्चायतका जल्लादहरुले गोली हानी हत्या गरेको ठाउँमा पाँच वटा बिरुवा उम्रिएर हाल ठूला रुख भएको स्थान अवलोकन गरी सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गरियो ।

त्यसपछि घना जङ्गलको बाटो हुँदै शुक्रबारे बजार पुगियो । त्यसभन्दा केही पर गएपछि इलाम जाने बाटो छोडेर भित्री बाटो गाडीमा करिब २० मिनेट अगाडि गएपछि इलामको ह्याप्पी ड्रिम्स चेप्टी पुगियो । प्रवेश शुल्क प्रतिव्यक्ति दुई सय रुपैयाँ दिएर प्रवेश गरेपछि त्यहाँ छुट्टै नयाँ संसार देख्न पाइन्छ ।

माई किनारामा करिब दुई सय रोपनी जग्गामा फैलिएको चेप्टीमा विभिन्न आकृति, फूलहरु, ठाउँ–ठाउँमा बस्ने व्यवस्था, फोटो खिच्ने, भिडियो बनाउने, टिकटक खेल्ने, गाईको आकार, गैडा लगायत धेरै जनावरहरुको आकृति, ठाउँ–ठाउँमा खेल्ने पिङ, ठाउँ–ठाउँमा पोखरी, चारैतिर फूलहरुले सजाएको रोमाञ्चक दृश्य हेर्नका लागि पुनः जाऔं–जाऔं लाग्ने रहेछ ।

त्यहाँ नपुग रहेका कुराहरु

असाध्यै सुन्दर र रोमाञ्चक ठाउँ भए पनि चेप्टीमा होटलहरु नहुनु, खानाको व्यवस्था नहुनु दुःखको कुरा हो । एकपटक गएकाले थाह पाउँछन् त्यहाँ खान पाइँदैन भनेर तर हामी जस्तो पहिलोपटक जानेलाई त दिनभर भोकै बस्न बाध्य हुनुपर्दोरहेछ । सञ्चालकले माछा–मासु नखाने भएकाले त्यहाँ खाना खाने होटल राख्न नदिएको भन्ने बुझियो । सञ्चालकले माछा–मासु आफूले नखाए पनि खान चाहनेहरुको आत्मा मार्नु हुँदैन । त्यसकारण आन्तरिक तथा वाह्य पर्यटक धेरैमा धेरै भित्र्याउने सोच छ भने र भएको लगानी उठाएर नाफामा जाने हो भने पर्यटकले चाहेको व्यवस्था गर्नु उचित हुनेछ ।

पर्यटकले बाहिरबाट ल्याएर वा घरबाट बनाएर ल्याएको खानेकुरा खाएर छाडेका सामान कता कता भेटिन्छ । छिट्टै बिहानै सफा गरी बस्ने सिट पुछेर पर्यटकलाई सहज बनाउन ध्यान जान आवश्यक छ । सञ्चालक तथा व्यवस्थापकहरुले यस्तो नलेखिदिएको भए त हुन्थ्यो भनेर मन दुखाउनुहुन्छ होला । कृपया सल्लाह सुझाव दिँदा नमीठो लाग्न सक्छ । तर, सुझाव सल्लाहलाई मनन् गरी कार्यान्वयन गर्नुभयो भने तपाईंहरु कै फाइदा हो ।

हामी त यस्तो नव–उदय भएको रमाइलो ठाउँमा खानाको के अभाव ? जस्तो पनि खान पाइन्छ भनी बिहान नास्ता मात्र खाएर केही नबोकी गइयो । खानाको प्रबन्ध नहुँदा भोकले छिट्टै फर्किन बाध्य भइयो । त्यहाँ व्यवस्थापन गर्ने देबेन्द्र तिम्सिना (विक्रम) हुनुहुँदोरहेछ । उहाँ अति नै मिलनसार, हँसिलो, मिजासिलो, फूर्तिलो, लगनशील, मेहनती र इमान्दार हुनुहुँदोरहेछ । अन्तिममा उहाँसँग भलाकुसारी गर्दै विदा भइयो । भोक निकै लागेको थियो ।

यात्राकै क्रममा हामीले सुनेका थियौं– खानाको लागि उत्तम नाङ्लो फुड एण्ड कर्नर । अर्जुनधारा–३ खुदुनाबारी गरुवाचोक अथवा खुदुनाबारी बजारको पश्चिम दक्षिणमा सन्तोष लिम्बू र नवीन भट्टराईले सञ्चालन गर्नुभएको रहेछ । त्यहाँ नाङलोभरि सिङ्गै कुखुराको सेकुवा, चाउमिन, कलेजो, मम, कोकाकोला आदि लगाएर दिनुहुँदोरहेछ । खाना मीठो स्वादिलो रहेछ । खाइयो, अघाइयो र त्यहाँबाट सिधै घर प्रस्थान गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here