सैन्य अभ्यासबारे भारत र चीनबीच वाक्युद्ध

0
224

भारत,

भारत र अमेरिकाले गरिरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर चीन र भारतको वाक्युद्ध सुरु भएको छ ।

भारत र अमेरिकाका सैनिकहरूले उत्तराखण्डको औलीमा संयुक्त सैन्य अभ्यास गरिरहेका छन । चिनियाँ सीमाबाट करिब एक सय किलोमिटरभित्र भइरहेको उक्त अभ्यासप्रति बुधबार चीनले आपत्ति जनाएको थियो ।

भारतले भने बिहीबार चीनको उक्त विरोधलाई अनावश्यक भनेको छ । भारत र अमेरिकाबीच भइरहेको पछिल्लो सैन्य अभ्यास १८ औं संस्करण हो । अभ्यास आगामी दुई सातासम्म चल्ने छ । त्यस अभ्यासप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सीमा क्षेत्रमा गरिएको उक्त अभ्यासलाई भारत र चीनबीच १९९३ र १९९६ मा भएको सम्झौता विपरीत भनेका छन ।

त्यसको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत र अमेरिका दुई देशले गरिरहेको कुनै पनि सहकार्यको विरोध गर्ने ‘विटो’ चीनसँग नरहेको बताएका छन । बिहीबारको नियमित पत्रकार सम्मेलनमा बागचीले अहिलेको युद्ध अभ्यासको चीनसँग भएको १९९३ र १९९६ को सम्झौतासँग कुनै तारतम्य नरहेको भन्दै चीनको तर्फबाटै पटक–पटक सम्झौताको उल्लंघन हुँदै आएको भनेका छन । चीन या कुनै पनि अर्को देशलाई भारतले गर्दै गरेको सैन्य अभ्यासका बारेमा केही भन्ने अधिकार नरहेको उनले टिप्पणी गरे ।

सन् २०२० मा भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकहरूबीच भिडन्त भएयता दुवै देशको सम्बन्ध सुमधुर भई नसकेको स्थितिमा सैन्य अभ्यासलाई लिएर वाक युद्ध भएको छ ।

उत्तराखण्डको औलीमा ९ हजार ५ सय ४४ फिट उचाइमा मंगलबार रातिबाट अमेरिका र भारतका सैनिकहरूले संयुक्त अभ्यास थालेका छन । प्राकृति विपत्तिमा गरिने सर्च अपरेसन, उग्रवादीले कसैलाई कब्जामा लिएको खण्डमा त्यसलाई कसरी मुक्त गराउने, साथै उच्च क्षेत्रमा उग्रवादी गतिविधिमाथि कसरी नियन्त्रण गर्ने, शान्ति स्थापनामा कसरी भूमिका खेल्नेलगायतका विषय संयुक्त अभ्यासमा समेटिएका छन । दुवै देशका सैनिकले आफ्नो तर्फ गरिरहेको उत्तम अभ्यासलाई साझा गर्दै सैन्य अभ्यास गरेका छन । पहिलोचोटि हाई अल्टिच्युडमा संयुक्त सैन्य अभ्यास गरिएकाले यसलाई महत्त्वपूर्ण मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here