बिर्तामोड ।

कनकाई–६ चम्पापुरस्थित श्री गायत्री मन्दिरमा श्रीमद् भागवत् धान्याञ्चल महायज्ञको तयारी गरिएको छ ।
राधिका फाउन्डेशनको आयोजनामा आगामी मंसीर २२ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत् धान्याञ्चल महायज्ञ गरिने भएको हो । अनाथ, असहाय, विपन्न परिवारका बालबालिकाको पालनपोषण तथा संरक्षण गर्दै उनीहरुलाई गुरुकुलीय शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिना (भिमाम्बिका तिम्सिना)को परिवारले निःशुल्क प्रदान गरेको साढे ११ कठ्ठा जग्गामा भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष एवम् राधिका फाउन्डेशनका सल्लाहकार पंकज नेपालले जानकारी दिए ।
महायज्ञको प्रमुख कथावाचक विदुषी राधिका दासी रहने र मंसीर २२ गते उद्घाटन गरिने जनाइएको छ । महायज्ञ सफल बनाउन मुक्तिनाथ तिम्सिनाको अध्यक्षतामा महायज्ञ व्यवस्थापन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्वय होमनाथ खतिवडा, गणेश थापा, महासचिव लक्ष्मीप्रसाद ओली उपमहासचिव सीतादेवी बस्नेत, सचिवद्वय कृष्णप्रसाद खतिवडा, दुर्गाबहादुर कटुवाल, कोषाध्यक्ष पंकज नेपाल, सहकोषाध्यक्ष दिनेशकुमार तिम्सिना रहेका छन् भने सदस्यहरुमा ५१ जनाभन्दा वढी रहेका छन् ।
त्यस्तै प्रचारप्रसार समितिको संयोजकमा नारायणप्रसाद निरौला रहेका छन् भने मन्दिर व्यवस्थापन समिति तथा विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीसहितको विभिन्न उप–समिति निर्माण गरिएको छ । महायज्ञ सम्पन्न गर्न १५ देखि २० लाख रुपैयाँ खर्च हुने र उक्त रकम विभिन्न दाताहरुबाट संकलन गरिने उनले बताए । श्रीमद् भागवत् धान्याञ्चल महायज्ञमा कथा श्रवणका लागि करिब १० हजार भक्तजन आउने अपेक्षा गरिएको उनले बताए ।































