झापा,

झापाको दक्षिणी नाकाबाट नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका औषधि तस्करी गर्ने गतिविधि अझै रोकिएको छैन । तस्कर समूहले नेपाली बजारमा भारतीय ब्रान्डका औषधि भित्राइरहेको छ । यस क्रममा झापा गाउँपालिका ५ स्थित सिमलडाँगीबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको औषधि प्रहरीले बरामद गरेको छ।
बिहीबार अन्दाजी साँझ ५:४० बजेको समयमा नाम थर ठेगाना समेत थाहा नभएका अपरिचित व्यक्ती (तस्कर)ले भारतबाट लुकाइछिपाई अवैध रुपमा बोरामा हालेर ल्याउँदै गरेको ८८ हजार ७ सय ४५ रुपैयाँ मुल्य बराबरको औषधि प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै बोरा छोडेर उनीहरू फरार भएका थिए । प्रहरीले घटनास्थलबाट भारतीय ब्रान्डका केल्सिएम प्लस, केलसिप्रो, एभल हेल्थ जस्ता विभिन्न नामका औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फेला पारिएको औषधि आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइने प्रहरीले जनाएको छ । दक्षिणी नाकाबाट प्रहरीले यसअघि पनि पटक-पटक भारतीय ब्रान्डका औषधि बरामद गरे पनि तस्करीमा संलग्न व्यक्ति पक्राउ नपर्दा सो धन्दा अझै नरोकिएको हो ।






























