२१५६८ वटा लैङ्गिक हिंसा

0
107

झापा ।

घटना नम्वर १ : धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा महिलामाथि सामुहिक कुटपिट भयो । कुटपिटबाट घाइते भएकी ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो ।

अमरघाटमा सिलाइ–बुनाइको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो । उनीहरूको बीचमा झगडा हुँदा उर्मिलाले समूह लगेर कुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । महिलाहरुको समूहले एकल महिलामाथि कुटपिट गर्दा उनको ज्यान गयो ।

घटना नम्वर २ः काठमाडौँ शहरमै आफ्नो प्रेमीले दिएको पीडा र मानसिक यातना सहन नसकेर पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन् । नुवाकोट घर भई काठमाडौँको बुद्धनगरमा बस्दै आएकी २७ वर्षीय पुष्पाले काठमाडौँको धुम्रबाराहीस्थित आफ्नो प्रेमीकै घरमा पुगेर यही बुधबार आत्मदाह गरेकी हुन् ।

घटना नम्वर ३ः सुर्खेतका अमरबहादुर आलेमगरले आफ्नी पत्नीको हत्या गरे । सुर्खेतको पञ्चपुरी नगरपालिका–२का ३८ वर्षीय अमरबहादुर आलेमगरले आफ्नी ३० वर्षकी पत्नी मीना आलेमगरको टाउको काटेर प्लाष्टिकमा बोकी प्रहरी चौकी जान लागेको भन्दै हिँडेको देखेर छिमेकीहरू आश्चर्यमा परे । दुई साना छोराछोरी भएका मगर दम्पतीबीच के विषयमा विवाद भएर पत्नीको ज्यान नै लिन पुगे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अमरले किन पत्नीको हत्या गरे भन्नेबारेमा आफन्तलाई पनि थाह छैन । छिमेकी र गाउँलेले पनि मीनाको टाउको काटेर हातमा लिएर गाउँमा निस्किएपछि मात्र थाहा पाए । महिलामाथि हुने हिंसाको बर्बरतापूर्ण घटनामध्ये माथिका यी उदाहरणका पछिल्ला घटना हुन् । हरेक दिन देशभर कुनै न कुनै माध्यमबाट अझै पनि महिला हिंसाका घटना घटिरेहका छन् । यीमध्ये माथिका घटना प्रतिनिधि मात्रै हुन् ।

हरेक वर्ष नोभेम्वर २५देखि डिसेम्वर १० तारिखसम्म लैङ्गिक हिंसाबिरुद्ध विभिन्न कार्यक्रम गरेर देशभर १६ दिनसम्म लैङ्गिक हिंसाबिरुद्धको दिवस मनाइँदै आएको छ । देशभर लैङ्गिक हिंसाका घटना बढी रहेका बेला १६ दिने अभियान भने होटल र सेमिनारमा नै सीमित बन्दै गएका छन् ।

हिंसाबिरुद्ध गरिएका कार्यक्रमहरु लक्षित समूहसंग पुग्न नसक्दा अझै पनि झापासहित देशभर यसखाले घटनामा कमी आउन सकेको छैन । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने वर्षेनि लैङ्गिक हिंसाका घटनामा वृद्धि भइ रहेको छ । तर, लैङ्गिक हिंसाबिरुद्धका कार्यक्रम हरेक वर्ष होटल र सेमीनारमा सीमित हुने गरेका छन् । प्रविधिको विकाससँगै लैङ्गिक हिंसाका घटना पनि फरक तरिकाले हुने गरेको पाइएको छ ।

प्रविधिको प्रयोग गरेर हुने अपराधको संख्यामा वृद्धि भएसँगै यसलाई रोक्न प्रहरीले छुट्टै रुपमा साइवर व्यूरो खडा गरेर अपराध नियन्त्रणमा तीव्रता दिएको जनाएको छ । साइवर अपराधबाट लुम्विनी प्रदेश सबैभन्दा धेरै प्रभावित रहेको छ भने सुदूरपश्चिममा कम अपराध भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टा, वाट्सएप, इ–सेवा, ट्वीटर, युट्युव, भाइवर, वैंक तथा वित्तीय संस्था लगायतका माध्यमबाट अपराधका घटना हुने गरेका प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९को श्रावणदेखि असार मसान्तसम्मको अवधिमा फेसवुकमार्फत ३ हजार ९ सय ५६ वटा अपराधका घटना भएका छन् भने टिकटकबाट २ सय ३३ वटा, वैंक तथा वित्तीय संस्थाबाट १२७, वाट्सएपबाट ९६, इन्स्ट्राग्रामबाट ७६ वटा, इ–सेवाबाट ६६, यूट्युवबाट ६०, भाइवर र ट्वीटर लगायतका सामाजिक सञ्जालबाट ७२ वटा अपराधका घटना घटेको नेपाल प्रहरीको साइवर व्यूरोले जनाएको छ ।

साइवर सम्बन्धि एक वर्षको अवधिमा ४ हजार ६ सय ८६ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । साइवरको माध्यमबाट दुई हजार ३ सय ८९ जना महिला पीडित भएका छन् भने एक हजार ८ सय ९९ पुरुष पीडित बन्न पुगे । साइवर अपराधबाट १ सय ४२ जना बालिका र १४ बालक पीडित बनेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । साइवरको माध्यमबाट २१५ जना पीडित बनेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

साइवर अपराध काठमाडौं उपत्यकामा सबैभन्दा धेरै रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश अन्तर्गतको उपत्यका क्षेत्रमा मात्रै ३ हजार ५ सय ७७ वटा अपराध भएका छन् भने प्रदेशगत रुपमा लुम्विनी प्रदेशमा सबैभन्दा धेरै ३२९ वटा साइवर अपराध भएको प्रहरीले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ४० वटा यस्ता अपराधका घटना घटेका छन् ।

घरेलु हिंसाको अवस्था पनि उस्तै

प्रदेश १मा पछिल्लो एक वर्षमा एक हजार ३ सय ३३ वटा घरेलु हिंसाका घटना घटेको पाइएको छ । लैङ्गिक हिंसामा घरेलु हिंसा सबैभन्दा धेरै ७८.८२ प्रतिशत रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

देशभर घरेलु हिंसाका १७ हजार मुद्दा तथा उजुरी दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घरेलु हिंसा मधेश प्रदेशमा धेरै छ । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा घरेलु हिंसाको अवस्था कम रहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाबाट २६ देखि ३५ उमेर समूहका ३८.३४ प्रतिशत महिला पीडित रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै १९ देखि २५ वर्ष उमेर समूहका २८.३१ प्रतिशत महिला पीडित रहेको बताइएको छ । घरेलु हिंसामा सम्लग्न २६ देखि ३५ उमेर समूहका पुरुष पीडत धेरै छन् ।

घटनामा शैक्षिक योग्यताको आधारलाई विश्लेषण गर्दा सामान्य लेखपढका ८०.९१ प्रतिशत महिला पीडित छन् भने सामान्य लेखपढका ८४.८४ प्रतिशत पुरुष पीडक संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश १मा ५१२ जवरजस्ती करणीका मुद्दा

पछिल्लो एक वर्षमा देशभर २ हजार २ सय ८० वटा जवरजस्ती करणीका घटना भएका छन् भने ६ सय ५५ वटा करणीको प्रयास भएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये प्रदेश १मा मात्रै ५ सय १२ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने १ सय ४१ वटा जवरजस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ ।

अझै पनि हिंसाकै दलदलमा महिला

महिलाले अकालमै ज्यान गुमाउने र बलात्कार जस्तो जघन्य अपराधमा परेर शारीरिक र मानसिक तनाब झेल्नुपरेको छ । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समयमा महिला हिंसाको घटना डरलाग्दो तरिकाले बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७६/०७७मा १५ हजार सात सय ५५ महिला हिंसाका घटना भएकामा आर्थिक वर्ष २०७७/०७८मा १८ हजार नौ सय ६१ घटना भएका छन् । एक आर्थिक वर्षमै तीन हजार दुई सय पाँच घरेलु हिंसाका घटना बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९मा २१ हजार चार सय ५१ छ । यो वर्ष दुई हजार चार सय ९० घटना बढेको तथ्याङ्क छ । पछिल्ला दुई वर्षमा जबर्जस्ती करणी उद्योगका घटना पनि उत्तिकै बढेको पाइन्छ । आव २०७७/०७८मा दुई हजार पाँच सय ३२ भएका छन् भने आव २०७८/०७९ मा दुई हजार तीन सय ८० छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here