लैङ्गिक हिंसाको अन्त्यका लागि ओठे प्रतिवद्धता त्याग्न प्रशासकीय प्रमुख राईको भनाई

0
137

अर्जुनधारा,

अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले लैङ्गिक हिंसाको अन्त्य ओठे प्रतिवद्धताबाट मात्र सम्भव नहुने बताइन् ।

शनिश्चरे बजार स्थित देवकोटा चोकमा आयोजित ३१ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राईले लैङ्गिक हिंसाको अन्त्य गर्न ओठे प्रतिवद्धता त्यागेर अब व्यवहारमा उतार्नु पर्ने बताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राईले हिंसा विरुद्धको अभियान विश्वभर सम्पन्न भइरहँदा आफ्नै नगरमा आयोजित कार्यक्रममा पुरुषहरुको सहभागिता नहुँदा दुःख लागेको बताइन् ।

उनले सहअस्तित्व र समानताको आवाज उठिरहेको बेला महिलाहरुले आयोजना गरेको कार्यक्रममा नगरका प्रमुख, वडाध्यक्ष, पुरुष जनप्रतिनिधि र संघसंस्थाका पुरुष प्रतिनिधिहरुको सहभागिता नहुँदा हिंसा यहीबाट सुरु भएको बताइन् ।

महारानीगञ्ज माविकी शिक्षक चन्द्रकला ढकालले हिंसा विरुद्धको अभियानलाई नारामात्र सीमित राख्न नराखि अब घरघरबाट कार्यान्वय गर्नुपर्ने बताइन् । जलेश्वर सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वडा नं. ११ की सदस्य सुशिला गिरीले गरेकी थिइन् ।

महिला तथा बालबालिका शाखाको आयोजनामा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित नगरपालिका प्राङ्गणबाट गरिएको प्रभातफेरी देवकोटा चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख सूर्यमाला पन्धाकले गरेकी थिइन् । यसअघि नगरका महारानीगञ्ज मावि, जनता मावि, सिंहदेवी मावि, कालिस्थान मावि, अर्जुनधारा संस्कृत मावि र भानु माविमा लैङ्गिक हिंसा विरुद्धको कानुनी शिक्षा प्रदान गरिएको शाखाकी पन्धाकले बताइन् ।

उनका अनुसार नगरका सामुदायिक विद्यालयमा गरिएको कानुनी शिक्षा सम्बन्धि अन्तरक्रियाको सहजीकरण अधिवक्ताहरु देवीकुमारी निरौला, तारादेवी बाराकोटी र शान्ता पाठकले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here