सिर्जना बाल युवा क्लबको अध्यक्षमा पुनः न्यौपाने

0
147

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको अध्यक्षमा पुनः शर्मिला न्यौपाने निर्वाचित भएकी छिन् ।

क्लबको शनिबार सम्पन्न भएको तेस्रो अधिवेशन तथा छैटौं वार्षिक साधारण सभाबाट आगामी तीन वर्षे कार्यकालको लागि उनी पुनः अध्यक्षमा निर्वाचित भएकी हुन् ।

त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा सविन बुढाथोकी, सचिवमा आदर्श पोखरेल, सहसचिवमा मेनुका दियाली र कोषाध्यक्षमा स्वस्तिका बस्नेत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अस्मिता पोखरेल, प्रतिमा आचार्य, प्रदीप आचार्य र सन्देश बस्नेत चयन भएका छन् ।

सोही अधिवेशनले ओमबहादुर बस्नेतको संयोजकत्वमा टंकबहादुर बस्नेत र लक्ष्मी आचार्य सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

क्लबकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि अर्जुनधारा–७ वडा समितिका सदस्य देवकुमार राईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिकी अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण चौधरीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा क्लबलाई आवश्यक पूर्वाधारहरु मञ्च, घेराबारा आदि निर्माण गर्ने, ‘सिर्जना बाल युवा’ अक्षयकोष स्थापना गर्ने, क्लबमा आबद्ध बालबालिका र युवाहरुको लागि समय सान्दर्भिक तालिमहरु सञ्चालन गर्ने, क्लबले सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाक्लाप, दुर्गा पुजा, देउसी भैली एवम् सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनेलगायतका कार्यक्रमहरु उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष ०७८/०७९मा दुई लाख ५३ हजार पाँच सय ७६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाको वासलात छ लाख ८२ हजार तीन सय ३३ रुपैयाँ ९२ पैसा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा नृत्य प्रशिक्षकद्वय मेनुका दियाली र सालमली दियालीसहित २६ जना कलाकारलाई मायाको चिनोबाट सम्मानित गरिएको समितिका सहसचिव आदर्श पोखरेलले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना “नविन”, समाजिक अगुवा लक्ष्मी आचार्य, सञ्चारकर्मी अमित खम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी सल्लाहकार सीता भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here