झापा ।

उपेक्षित उष्ण प्रदेशीय रोगबाट विश्वका (१४९ देश)का दश करोडभन्दा बढी मानिस प्रभावमा रहेको बताइएको छ । जसका कारण लाखौं डलर बर्षेनि खर्च हुँदै आएको छ । नेपालमा पनि यस्तो रोगको जोखिम उच्च रहेको बताइएको छ । नेपालमा उपेक्षित उष्ण प्रदेशीय रोग अन्तर्गत पर्ने कुष्ठरोग र हात्तीपाइलेका बिरामी धेरै रहेको परियोजनाको तथ्याङ्कमा उल्लेख छ ।
उपेक्षित भन्नाले सामान्यतया वास्ता नगरिएको, हेला गरिएको रोग भन्ने बुझिन्छ । जस्तै कुष्ठरोग सहित हात्तीपाइले, जुका, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेविज, लुतो, फिते जुका, खस्रे उपेक्षित रोगहरु हुन् । यी रोगहरूहको भार गरिबीको रेखामुनि रहेका मानिसहरूमा देखिनुका साथै राजनीतिक प्रतिबद्धता कम भएका कारण जनस्वास्थ्यका हिसाबले प्राथमिकता प्राप्त गर्न नसकेको परियोजनाका को–अर्डिनेटर पवन राईले बताए ।
कुष्ठरोग नियन्त्रणका लागि सरकारले विभिन्न खाले कार्यक्रम सञ्चालन गरे पनि नेपालमा अझै कुष्ठरोग उन्मुलन हुन सकेको छैन । कुष्ठरोग उन्मुलनका लागि डब्लूएचओद्वारा १९९५ देखि नेपाल लगायत विश्वव्यापी रूपमा बहुऔषधि उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । यो उपचार प्रक्रियाले सबै प्रकारका कुष्ठरोग निको हुन्छ । तर, अझै पनि नेपालका ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण नियमित औषधि सेवन नगर्दा कुष्ठरोग पूर्ण रुपमा निर्मूल हुन सकेको छैन । विश्वास परियोजनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२०/०२१मा नेपालमा कुष्ठ रोगीको संख्या २ हजार १ सय ७३ रहेको छ ।
यता झापामा मात्रै कुष्ठ रोगीको संख्या १ सय २२ रहेको छ । अशिक्षा र चेतना अभावकै कारण ग्रामीण क्षेत्रका अधिकांश नागरिक उपेक्षित उष्ण प्रदेशीय रोगबाट पीडित देखिएपछि सहारा नेपालले झापा, मोरङ र सुनसरीमा विश्वास परियोजना सञ्चालन गरेको छ ।
गत वर्षदेखि झापाका १०, मोरङका ७ र सुनसरीका ८ वटा पालिकामा यो परियोजना सञ्चालनमा रहेको र दश प्रजातिका रोगका विषयमा समुदायका मानिसको क्षमता वृद्धि गरी स्वास्थ्य सेवामा पहुँच पु¥याउन काम भइरहेको शनिवार सहारा नेपाल सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
फेयरमेड फाउण्डेशन नेपालको सहयोगमा सहारा नेपालले विश्वास परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजना अन्तर्गत कुष्ठरोगसहित हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, , कालाजार, सर्पदंश, रेविज, लुतो, फिते जुका, खस्रे रोगका विषयमा समुदायक स्तरमा कार्यक्रम सञ्चालित रहेको परियोजनाका अनुगमन विशेषज्ञ वेदप्रकाश शर्माले जानकारी दिए । संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले परियोजनाले अहिले झापाको कचनकवल, झापा, वाह्रदशी, हल्दिवारी, गौरीगञ्ज, भद्रपुर, बिर्तामोड, कनकाई, गौरादह र मेचीनगरमा कार्यक्रम सञ्चालनमा रहेको बताए ।
त्यस्तै शिवसताक्षी, कमल, वुद्धशान्ति, दमक, अर्जुनधारामा समेत कार्यक्रम सञ्चालन गरिने उनले बताए । प्रदेश १का सवै पालिकाहरुमा समुदायको स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको गिरीको भनाइ छ । हाल परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारमा बढी केन्द्रित रहेको जनाएको छ ।
कुष्ठरोगसहित परियोजनाले हात्तीपाइले रोग निवारणका लागि समेत काम गरिरहेको बताइएको छ । परियोजनाले तयार पारेको तथ्याङ्क अनुसार झापामा अझै पनि २२ जनामा हात्तीपाइले रोग देखिएको छ । सन् २०२० ÷०२१ मा झापाका २२ जनामा यो रोग देखिएको कार्यक्रमका कोअर्डिनेटर राईले बताए ।
२०५१ सालमा स्थापना भएको सहारा नेपालले स्वास्थ्य, शिक्षा, कृषि, सशक्तिकरण, ऊर्जा तथा वातावरण लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । सामाजिक रुपान्तरणका लागि विकास भन्ने मूल नारासहित अगाडि बढेको यस संस्थाले सामुदायिक बिकास तथा सामाजिक सेवा प्रदान गर्दै आएको र हालसम्म विभिन्न ३४ वटा दातृ निकायहरुबाट ६४ वटा परियोजना सञ्चालन गरिसकेको कार्यक्रममा जानकारी दिइयो । सहारा नेपालले विगत १ वर्षदेखि फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा विश्वास परियोजना झापा तथा मोरङ जिल्लामा सञ्चालन गरिरहेको बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सञ्चारकर्मीले समेत यस खाले रोग निदानका लागि भूमिका निर्वाह गर्न सहयोग पु¥याउने बताए । उनले परियोजनासँग झापाली सञ्चारकर्मी सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रमको सञ्चालन सहारा नेपालका कर्मचारी मातृका सुवेदीले गरेका थिए ।






























