झापा ।

ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुर्नजिवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई कसरी सफलतापूर्वक आयोजना गर्ने उद्देश्यले सोमबार बिहान नगरपालिकामा सर्वपक्षीय रुपमा वृहत् छलफल गरिएको थियो ।
सो छलफलबाट युवा उद्योगी दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवालालाई निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलीप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका छन् । त्यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, वसन्त बानिया, धर्म सिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेका छन् ।
भद्रपुर ८ स्थित सदरमुकामको मुटुमा रहेको मेची रंगशालामा पहिला जिल्लास्तरीय ठुला प्रतियोगिता यही हुने गरेको थियो । ‘पछिल्लो समयमा जिल्लामा हुने ठुला प्रतियोगिताहरू अन्यत्र सार्न थालेपछि सरकारी स्वामित्वमा रहेको रंगशालालाई ओझेलमा पार्ने काम गरियो,’ नगर प्रमुख पोखरेलले भने, ‘ रंगशालालाई पुर्नजिवन दिने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको हो ।’
यस गोल्डकपले नगर क्षेत्रभित्रका फुटबल खेलाडी उत्पादनलाई समेत प्रोत्साहन गर्ने उनको भनाई छ । नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपसहित खेलकुद क्षेत्रका लागि ४० लाख बजेट छुट्टाएको छ । गोल्डकपका लागि त्यसबाट कति बजेट निकासा गर्ने त्यो कार्यपालिका बैठकले निर्णय गर्ने जनाइएको छ । एनफासँग स्वीकृत लिएर गोल्डकप सञ्चालन गर्नुपर्ने भएकोले सम्भवतः माघ वा फागुन महिनाभित्र प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष ढकालले जानकारी दिए ।

























