ट्राफिक प्रहरीको काम, कर्तव्य, भूमिका र सडक सुरक्षा

0
511

– जीवनकुमार कार्की
ट्राफिक प्रहरी कर्मचारीको मुख्य काम सवारी आवागमनलाई सुचारुरुपले सञ्चालन गर्नु सवारी ऐन विपरीत चलेका सवारीसाधनहरुलाई कानून बमोजिम कारवाही गर्नु, राजश्व वृद्धि गर्नु र दुर्घटना न्यून गराउनु हो । त्यसको रेखदेख तथा व्यवस्थापन गर्नु ट्राफिक प्रहरीको कर्तव्य हो भने सो सम्बन्धी कार्यान्वयन गर्दा ट्राफिक प्रहरीको धेरै भूमिका रहेको हुन्छ । यातायात तथा सडक सम्बन्धी संक्षिप्तमा कुरा गर्नुपर्दा देशको मुख्य पूर्वाधार भनेको सडक यातायात हो । नेपालको सम्पूर्ण व्यवस्था धानेको नै सडक यातायातले छ ।

सडक यातायातसँग जीवन र संस्कृति पनि जोडिएको छ । भनिन्छ, कि देशको आर्थिक अवस्था कस्तो छ भन्नको लागि त्यहाँको सडक मार्ग कस्तो छ भनेर अवलोकन वा निरीक्षण गर्ने बित्तिकै थाह हुन्छ । देशको आर्थिक अवस्था प्रत्यक्षरुपमा सडक मार्गसँग जोडिएको हुन्छ । हरेक देशमा नियम कानून हुन्छ । संरक्षण र सुरक्षा दिनका लागि नेपालमा सडक यातायातलाई सुरक्षा र चेकजाँच गर्नका लागि ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ । सडकमा सवार गर्ने यातायातका साधनदेखि यात्रु महानुभावलाई सचेत, सजग तथा एक जिम्मेवार नागरिक तथा पेशामा मर्यादित बनाउनको लागि पैदलयात्रुको जीवन रक्षा वा दुर्घटना कम गर्नका लागि सचेतनामूलक कार्य गरी नागरिकलाई सुसूचित बनाउनु आवश्यक छ । नेपालको सडक यातायातलाई लिएर भन्नुपर्दा वा लेख्नै पर्दा वास्तवमा एकदमै नाजुक अवस्था देखिन्छ ।

नेपालको भौगोलिक अवस्था पूर्णरुपमा मिलेको छैन नेपालको अधिकांश भाग पहाडी भेगले ओगटेको छ । नेपाली नागरिकको पहाडी भेगमा ४०% बसोबास गरेको पाइन्छ । त्यहाँको नागरिकको जनजीवन प्रत्यक्ष सडक यातायातमा जोडिएको छ । त्यहाँ सुविधासम्पन्न सडक यातायात तथा व्यवस्थित सडक मार्ग बनेको अवस्था छैन भने तराईका स्थानहरुमा सडक निर्माण भएता पनि चेतना सम्बन्धीका कुराहरुमा कमी भएको पाइन्छ । पहाडी सडकको अवस्था व्यवस्थित नभएका कारण र उकालो–ओरालो, घुमाउरो बाटो भएको कारणले दुर्घटना बढी भएको पाइन्छ भने तराईका स्थानहरुमा तीव्रगति, ओभरटेक र लेन अनुशासन पालना नगर्दा सवारी दुर्घटना हुने गरेको पाइन्छ । त्यसलाई हामी ट्राफिक प्रहरीले जति न्यूनीकरण गर्न खोज्दा पनि सवारीसँग सम्बन्धित व्यक्ति तथा चालक वर्ग सचेत नभई दिँदा दुर्घटना न्यूनीकरण गर्न कठिनाइ भइरहेको छ । जसमा दुईपाङ्ग्रे सवारीसाधन मोटरसाइकल, स्कुटर जस्ता सवारीसाधनहरु बढीभन्दा बढी दुर्घटना भएको तथ्यांकले देखाएको छ ।

त्यसलाई मध्यनजर गरी ट्राफिक प्रहरी के अपिल गर्दछ भने सबैको जीवन अमूल्य छ । त्यसलाई आत्मसात गर्दै तपाई हामी जो कोही सडकमा सवारीसाधन लिएर निस्किन्छौं तब उल्लिखित ओभरटेक, तीव्रगति र लेन अनुशासनको पालना गरी सवारी चलाऔं । त्यसैगरी सवारी चालकले ध्यान दिनुपर्ने तथा ख्याल गर्नुपर्ने कुराहरु जस्तै शाखा सडकबाट मूल सडकमा निस्कँदा घुमाउरो बाटोमा सवारीसाधनलाई दिइने प्राथमिकता, बजार एरिया तथा विद्यालयको छेउछाउमा चलाउँदा गर्नुपर्ने गति सीमितप्रति सजग बनौं । आफूले सवारी चलाउँदा अरुलाई पर्ने असर आदि–इत्यादी समेतलाई मध्यनजर गरी सवारी चलाउँदा दुर्घटनाबाट आफू बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । बर्षेनि नेपालमा सडक दुर्घटनामा परी हजारौं नागरिकहरुको ज्यान गइरहेको छ । धेरै व्यक्तिहरु अङ्गभङ्ग भएर बाँच्नु परेको अवस्था छ । त्यसमा मुख्य दोषी चालकको लापरवाही र अव्यवस्थित सडकका कारणले भएको हो ।

अर्कोतर्फ कुनै पनि व्यक्तिले सवारी चलाउँदा योग्य नभएको, सडक सम्बन्धी र सडकमा राखिएको ट्राफिक संकेत सम्बन्धी ज्ञान नभएको कारणले पनि दुर्घटना हुने गरेको छ । कुनै व्यक्ति कानून सम्बन्धी सजायको ज्ञान नभएको कारणले पनि दुर्घटना गराएर सजाय भोगिरहेको पाइन्छ । कुनै व्यक्तिले सवारी चालक अनुमति पत्र प्राप्त नगरी दुर्घटना गराई मानिसको मृत्यु भएमा ज्यान मारे बराबरको सजाय भोग्नुपर्छ भन्ने कुरा थाह नहुनु र सवारी चालक अनुमति–पत्र नभएको व्यक्तिलाई सवारीधनीले सवारी दिई दुर्घटना भई कसैको मृत्यु भएमा सवारी दिने व्यक्ति समेतलाई २ बर्ष कैद सजाय हुने कुरा थाह नहुँदा पनि सवारी दुर्घटना हुने गरेको पाइन्छ । जनहितमा जानकारीका लागि काठमाडौंको सतुंगल भन्ने स्थानमा एउटा घरमा चार जनाको परिवार थियो । उक्त घरमा श्रीमान, श्रीमती, छोरी र छोरा जम्मा चार जना बस्दथे । घरव्यवहार चलिरहेको थियो । घरव्यवहार चलाउनका लागि आयश्रोत कम भएको कारणले श्रीमान वैदेशिक रोजगारका लागि विदेश गए । घरमा आवश्यकता थपिँदै गयो ।

श्रीमतीलाई स्कुटीको आवश्यकता भयो । श्रीमानले स्कुटी किन्नको लागि पैसा पठाइदिए । श्रीमतीले स्कुटी किनिन् । उनीसँग स्कुटी चलाउनका लागि सवारी चालक अनुमति पत्र थियो । तर, स्कुटी छोरीले पनि सिक्ने मौका पाइन् । किनकि एउटै घरमा भएको सवारीसाधन त्यो पनि आफ्नो आमाको उनी सिक्दै गईन् । स्कुटी चलाउन सक्ने भइन् । तर, उनीसँग सवारी चालक अनुमतिपत्र थिएन । उनी कक्षा १२ मा पढ्दैथिइन् भने भाइ कक्षा ८ मा पढ्दथे । उनीहरुलाई ल्याउन लैजान आ–आफ्नो स्कूलको गाडी आउँथ्यो । तर, कुनै एक दिनको कुरा हो, उनका भाइको स्कूलको गाडी छुट्यो रछोरीले भाइलाई पु¥याइदिन्छु, म पनि कलेज जान्छु भनेर आमासँग स्कुटर मागेर भाइलाई स्कुटरमा लिएर गइन् । तर, अफसोच ! भाइलाई लिएर जाने क्रममा स्कुटर चिप्लिएर दुर्घटना भयो । पछाडिको बसेको भाइ उछिट्टिएर केही तल पुग्यो । भाइको घटनास्थलमै मृत्यु भयो । सवारी दुर्घटनाको कानूनी प्रक्रिया अनुसार प्रहरीले छोरीलाई नियन्त्रणमा लियो । उक्त सवारी दुर्घटनामा पहिलो प्रतिवादी छोरी भइन् भने सवारीसाधन धनी खोजतलास गर्दा आमाको नाममा रहेछ ।

चालक अनुमति–पत्र प्राप्त नभएको व्यक्तिलाई सवारीसाधन दिएको कसूरमा आमालाई पनि प्रहरीले नियन्त्रणमा लियो र आमा दोस्रो प्रतिवादी भइन् । पछि कानूनी प्रक्रिया अनुसार दण्डसजायको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ज्यान मरेमा हुने सजाय दफा १६१ को विभिन्न उपदफा बमोजिम उनीहरुलाई जेल सजायका लागि कारागार पठाइयो । पछि श्रीमान, बुवा आउँदा घरमा न श्रीमती न छोरी न त छोरा । कोही नभएको अवस्थामा त्यसले के सन्देश दिन्छ भने त्यो घटना चेतनाको कमी भएकाले घटेको हुन सक्छ । यस्तो घटना अरुलाई पनि पर्न सक्छ भन्ने कुरा तपाई हामी जो–कोहीले पनि बुझ्न र सचेत हुन जरुरी छ । अन्त्यमा ट्राफिक प्रहरीको अनुरोध के छ भने तपाई हामी जो जहाँ भएर आ–आफ्नो स्थानबाट कार्य गरेतापनि सबैले सवारीसाधन चलाउँछौं । सडकको आवश्यकता सबैलाई पर्छ, ज्यान सबैको उस्तै हो । त्यसलाई मध्यनजर गरी सचेत र सुरक्षित भई सवारी चलाऔं । दुर्घटनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।

(कार्की जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापाका प्रहरी नायव निरीक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here