पथरीशनिश्चरे,

मोरङको सुन्दरहरैँचामा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार राति दुई जनालाई पक्राउ गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ पक्राउ परेका हुन्। सुन्दरहरैँचा–३ र ५ घर भएका १४ वर्षीया दुवै बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
गत पुस १ गते शुक्रबार विद्यालय जान भन्दै घरबाट हिँडेका बालिकालाई ललाई फकाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको छुट्टाछुट्टै कोठामा रातभर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले बताउनुभयो । बालिकाहरू भोलिपल्ट अर्थात् शनिबार बिहान मात्रै घर फर्किएका थिए ।
उनीहरूका परिवार सदस्यहरुले सोधीखोजी गर्दा आफूहरु बलात्कृत भएको बताएपछि घटनाको वास्तविकता खुलेको थियो । पीडितका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तिम्सिना र तामाङलाई पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा सम्लग्न भएका अन्य २ जनालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले सुन्दरहरैँचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिएको हो । उनीहरुले अभियुक्त तिम्सिना र तामाङसँग बालिकाहरूको भेट गराएको तथा होटल मिलाइदिने काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताएका छन्






























