बिर्तामोड ।

आर्थिक तरलता बढी रहेका बेला अर्थतन्त्रलाई चलाएमान बनाउदैं ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बिर्तामोड उद्योग वाणिज्य संघले राजश्वका पदाधिकारीहरुसंग अन्र्तक्रिया गरेको छ ।

शुक्रबार बिर्तामोड स्थित वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल, आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दहाल, मेची भन्सार प्रमुख रामप्रसाद पाठक, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालसंग बिर्तामोड उद्योग वाणिज्य संघले अन्तरित्रया गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका अर्थमन्त्रालयका राजश्व सचिव दंगालले अर्थतन्त्रलाई चलायमान बनाउन नीजि क्षेत्रका ब्यवसायीको महत्वपूर्ण भूमिका रहेकाले नीतिगत सुधार गर्दै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा सेवा सुविधा लिने तर, किनमेल चाँही विदेशी मुलकमा गर्ने प्रवृतिका कारण पनि अर्थतन्त्रमा ह्रास आउनुको एउटा कारण भएको दंगालले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीले अवैध ब्यपार गर्नेहरुलाई ब्यवसायीहरुले नै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । ब्यवसायीहरुले ब्यवसायीक कारोबार गर्दा बिलबिजकलाई अनिर्वाय गर्नुपर्ने मैनालीको भनाई छ ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दहालले अवैध ब्यपार गर्नेको सुचना दिने असल ब्यवसायीको दायित्व भएको उल्लेख गरे । उनले अबैध कारोबार भएको जानकारी पाए आफुलाई सम्पर्क गर्न ब्यवसायीसंग आग्रह गरे ।
कार्यक्रममा ब्यवसायी प्रतिनिधिहरुले आफुहरुले गर्ने ब्यवसायलाई प्रर्वद्धन गर्नका लागि आवश्यक पर्ने सवारी अन्य मुलुकबाट सहुलियत दरमा किन्न पाउनुपर्ने माग राखे, बैंकको चर्को ब्याजदरका कारण ब्यवसायी मारमा परेको भनदै उक्त समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । दोहोरो करका कारण ब्यवसायी मारमा परेको भन्दै तत्काल दोहोरो कर प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष टीकाराज ढकाल, उद्योग परिषद प्रदेश–१ का सल्लाहकार मिनप्रकाश मैनाली, चेम्बर अफ कमर्शका झापा अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड उद्योग वाणिज्य संघकी सह–कोषध्यक्ष राधिका चुडाल(हुमागाई), महिला उद्योमी समूहकी अध्यक्ष तिलोतमा खत्री, पूर्वाञ्चल प्लाईउडका महासचिव दुर्गा भण्डारी लगायतले उद्योग तथा ब्यवसायीले भोग्नुपरेको समस्याका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।





























