संसदमा बालबालिकाका मुद्दाले प्राथमिकता पाउँछन् : राना

0
244

झापा ।

सामाजिक अभियन्ताका रुपमा देश विदेशमा परिचित झापाको अर्जुनधारा –११ निवासी इन्दिरा राना मगरको मुहार निक्कै हँसिलो र चम्किलो थियो ।

सधैँ बालबालिकाको हेरचाहमा तल्लीन र उनीहरुको भविष्यप्रति चिन्तित देखिने रानाको मुहार हँसिलो हुनुको पछाडिको कारण थियो – राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेसँंगै आम असहाय बालबालिकाको भविष्य सुधारका निम्ति नीति निर्माण गर्ने तहमा आफ्नो दर्विलो उपस्थिति हुनु ।

आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै उनी झापाको अर्जुनधारा –११ स्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित जंगल गार्डेन ब्वाइज परिसरमा शनिवार पत्रकार सम्मेलनको आयोजनाा गर्दै आम झापाली सञ्चारकर्मीसहित मतदातालाई धन्यवाद ज्ञापन गर्दै थिइन् ।

‘प्रिजनर्स असिस्टेन्स नेपाल’की संस्थापक अध्यक्ष समेत रहेकी रानाले आफू प्रतिनिधिसभामा निर्वाचित भएसंगै आफैंले स्थापना गरेको बाल गृहमा आएर आममतदातालाई धन्यवाद ज्ञापन गरेकी हुन् ।
उनले स्थापना गरेको मनमाया आमा बाल गृहमा १० जना र जंगल गार्डेन ब्वाइज होम मा ९ जना बालवालिका अहिले आवाससहित बसोवास गरिरहेका छन् । उनीहरुको पालनपोषण र शिक्षादीक्षाको अभिभारा लिएकी उनले देशभरका विभिन्न स्थानमा यस्तै बालगृह सञ्चालन गर्दै सयौं बालबालिकालाई निःशुल्क आवास सहितको शिक्षा प्रदान गरिरहेकी छिन् ।

शनिवार जंगल गार्डेन ब्वाइज होम परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सामाजिक न्यायका मुद्दामा केन्द्रीत रहेर काम गर्ने बताएकी छिन् । उनले संसदमा आफूले उठाउने मुद्दा यही विषयमा केन्द्रीत हुने बताइन् ।

लामो समयदेखि आफूले कैदीबन्दीका छोराछोरीका लागि सक्रिय भएर काम गर्दै आएको र अब संसदमा पनि आफूले बाल अधिकारका पक्षमा आवाज उठाउने बताइन् । अब बाल संरक्षणको मुद्दा ओझेलमा पर्न दिन्नँ –उनले भनिन– संसदमा अब बालबालिकासंगै लैंङ्गिक अल्पसंख्यकका विषयमा पनि सशक्त आवाज उठाउँछु ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेलले समेत आममतदाताहरुलाई धन्यवाद दिएका थिए । झापामा आफ्नो पार्टीले समानुपातिकतर्फ ७७ हजारभन्दा बढी मत ल्याएको भन्दै उनले आम मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here