जसले साहसपूर्वक मृत्यु रोजे !

0
337

झापा ।

‘सानु, सानी , मेरा आँखाको नानी तिमीलाई धेरै माया गर्छु है । अलवेज लभ यू है । जहाँ भएपनि जसरी बसे पनि बुबाले तिमीलाई सँधै सम्झन्छ है ।’ कम्वोडियाको पोइपेतस्थित ग्राण्ड डायमन्ड सिटी क्यासिनो एण्ड होटलमा आगलागीमा परेका झापा बिर्तामोडका निराकार पाण्डेले छोरालाई सम्झाएको बाक्यांश हो यो । उनले आगलागी भएको होटलको १२ औं तलाको झ्यालमा बसेर छोरालाई सम्झाउँदै यसो भनेका छन् – छोरा सँधै राम्रो मान्छे बन्नू, कसैलाई चिट नगर्नू है ।

निराकारले छोरालाई मात्र सम्झाएनन् परिवारका अन्य सदस्यसँग चार घण्टासम्म निरन्तर कुरा गरिरहे । आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडियो कलमा कुराकानी गरेका थिए । होटलबाट पाण्डेले बुवा, आमा, श्रीमती, बुहारी र छोरासँग कुराकानी गरेका थिए । पाण्डेले आफ्ना छोरासँग कुराकानी गरेको अन्तिम समयको भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामान्यतया मानिस आत्तिएका समय होस् गुमाउँछ । तर, निराकारले आफू बसेको होटल जलिरहँदा साहसपूर्वक परिवारसँग कुराकानी गर्दै उनले छोरालाई सम्झाएको भिडियो हेरेपछि धेरैका आँखा रसाएका छन् ।

आगलागी भएको होटलमा बसेर पाण्डेले छोरालाई ‘राम्रो मान्छे बन्नु है छोरा, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नु हुन्न’ भनी सम्झाएको समयमा धुँवाले घरी–घरी उनको अनुहार नै नदेखिने गरी घेरिन्छ । तर, उनले उच्च मनोबलका साथ छोरा र घर परिवारलाई सम्झाइरहेका हुन्छन् । सो समयमा पृष्ठभूमिमा दमकलको साइरनको आवाज सुनिन्छ । उनले होटलबाट हाम फाल्नुअघि नौ वर्षीय छोरालाई ‘मामुलाई माया गर्नु, सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ भन्दै धेरै सम्झाएका छन् । ‘तिमीसँग बिताएका पलहरु सँधै यादगार रहनेछन्– छोरालाई उनले भनेका छन् ।

होटलमा आगलागी भएपछि आफ्नो मृत्यु निश्चित भएको भन्दै उनले भिडियो सन्देशमा दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन समेत आग्रह गरेका छन् । उनले दिनेशलाई दाइ सम्बोधन गरेका छन् । सम्वोधनका क्रममा उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन आग्रह गरेका हुन् । पाण्डेका सहपाठी हुन्– दिनेश सिलवाल ।

पाण्डे १८ तले होटलको १२औं तलामा बसेका थिए । होटलमा आगलागी भएपछि लामो समय परिवारसँग कुराकानी गर्दै बाँच्नका लागि १२ तलाबाट हाम फाल्नुको बिकल्प नरहेको बताएका छन् । होटलबाट हाम फाल्नु अघि उनले सो होटलको झ्यालमा बसेर पारिवारसंग भिडियो कलमा कुराकानी गरेको उनका भाइ निश्चल पाण्डेले बताए ।
होटलमा बिहीबारराति साढे ११ बजेपछि आगलागी शुरु भएको थियो । होटलमा आगो लागेको थाह पाएपछि दाइ निस्किन खोज्नुभएछ तर, ढोका नखुलेपछि झ्यालबाट हाम फाल्नु भएको हो– निश्चलले भने । निराकार बिर्तामोड नगरपालिका–१का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका छोरा हुन् । अग्निका ४ छोरा रहेका छन् । जसमध्ये निराकार माइँला छोरा हुन् । उनी काठमाडौं बस्दै आएका थिए । उनी भ्रमणका लागि कम्वोडिया पुगेका थिए । भिजिट भिसामा कम्बोडिया गएका उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए ।

होटलमा भएको आगलागीको कारण यकिन नभए पनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने एजेन्सीहरुले जनाएका छन् । सो आगलागीमा परी पाण्डेसहित कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ८ जनाको शव उद्धारकर्ताहरुले निकाले पनि अझै धेरै जना हराइरहेका छन् । आगलागी बढेपछि धेरै मानिसहरुले होटलबाट हाम फालेको दृष्य सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

यता कम्वोडियामा भएको आगलागीमा परी छोराको ज्यान गएसँगै उनको शव नेपाल ल्याउने तयारी भइरहेको वुवा अग्नि पाण्डेले बताएका छन् । उनको शव मंगलवार नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।

शुक्रबार नेपालमा तमू ल्होसारको अवसरमा सार्वजनिक विदा भएको र शनिबार नियमित सरकारी बिदा त्यस्तै आइतबार कम्बोडियामा नयाँ वर्ष भएकाले बिदा हुने र सोमवार मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु गरिने मृतकका भाइ निश्चलले बताएका छन् । पाण्डेसँगै होटलबाट हाम फालेकामध्ये दुई जनाको तत्कालै मृत्यु भएको र अन्य पाँच जनाको खुट्टाका चार पाँच ठाउँ भाँचिएको अवस्थामा फेला परेको र उपचार भइरहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीआइएनएनले जनाए अनुसार थाइल्याण्डको पोह टेक तुङ फाउन्डेशनका साथ सोम्बुन क्वान–उआमले भने– करिडोरहरूमा धुवाँको स्तर कम भएको कारण पहिलेको उद्धार प्रयासमा बाधा पु¥याएको थियो, जब धेरै पीडितहरू उनीहरूको होटलको कोठामा थुनिएको धुँवाको कारण मृत फेला परेका थिए । हामीले दोस्रो तल्लाको कोठाबाट थप सात वटा शव फेला पा¥यौं– सोम्बुनले भने– केही मृतकको शव शुक्रबार थाइल्यान्ड पठाइने अपेक्षा गरिएको छ– उनले थपे ।

थाई उद्धारकर्मीहरूले भने– केही पीडितहरूले भाग्नको लागि जलेको भवनबाट हाम फालेका थिए । जमिनमा ठोक्किएपछि दुई जनाको तुरुन्तै मृत्यु भयो र करिब चारदेखि पाँच (अन्य) को खुट्टा भाँचियो– अरण्यप्रथेत उद्धार फाउन्डेशनका पीरापान श्रीसाकोर्नले भने ।

समूहको फेसबुक पेजमा भिडियोहरूले हेलमेट र सुरक्षात्मक गियर लगाएका उद्धारकर्मीहरूलाई धुँवाले भरिएको करिडोरमा हिँडिरहेको देखाइएको छ । सेक सोखोमले भने होटलले कोठा र लिफ्टको लागि विद्युतीय प्रणाली प्रयोग गरेको छ, त्यसैले जब आगो शुरु भयो र भवनले बिजुली गुमायो, धेरै मानिसहरू आफ्नो कोठामा अड्किए र भाग्न सकेनन् । अधिकारीहरुका अनुसार करिब ७०० थाई नागरिकहरुलाई उद्धार गरी थाइल्याण्डका अस्पतालहरुमा पठाइएको छ । घटनास्थलमा करिब ३०० प्रहरी अधिकारी, ११ दमकल र धेरै हेलिकप्टर तैनाथ गरिएको बन्तेय मेन्चे प्रान्तीय प्रहरी आयुक्त मेजर जनरल सिथी लोहले बताए । होटलको साँघुरो र माथिल्लो लेआउटले आगलागीको अवस्था पूर्ण रूपमा मूल्याङ्कन गर्न गाह्रो भएको थियो, उनले थपे ।

पोइपेट, कम्बोडियाको सिएम रीप र थाई राजधानी बैंकक बीचको यातायात केन्द्र, यसको बहु क्यासिनोहरूको लागि परिचित छ र शहरको जुवा उद्योगमा काम गर्ने धेरै थाइहरूको घर हो । थाइल्याण्डमा लगभग सबै प्रकारका जुवा अवैध छन्, त्यसैले धेरै थाईहरू कानूनी रूपमा जुवा खेल्न सीमा पार गर्छन् । बुधबार राति घटनास्थलबाट प्राप्त तस्बिरहरूले कम्प्लेक्सबाट ठूलो चम्किलो एम्बर आगो र धँुवाको मुस्लो देखा परेको देखाएको छ ।

अरण्यप्रथेट रेस्क्यु फाउन्डेशनका पीरपानले यसअघि सीएनएनलाई भनेका थिए– आगो कम्पाउण्डको अन्य भागहरूमा फैलनु अघि तल्लो तलाको रेस्टुरेन्टमा शुरु भएको थियो । केही मानिसहरू छतमा दौडे, कम्बोडियनहरूलाई मद्दत गर्नको लागि एउटा उद्धार क्रेन हुनसक्छ – तर तिनीहरूसँग थिएन– उनले भने । मौसमी अवस्थाले आगो फैलन मद्दत गरेको हुनसक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here