अब के गर्लान् माधव नेपाल ?

0
189

शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा दाहाल र देउवालाई जोड्न रसायनको भूमिका निर्वाह गरेका माधवकुमार नेपाललाई वर्तमान सरकार निर्माणमा भूमिकाहीन बनाइएको छ । ओलीसँगको रिस साँध्न अघिल्लो सरकारमा दाहालसँग सहकार्य गरेका नेपाल नयाँ पार्टी गठन गरेर चुनावमा गए पनि पार्टीले राष्ट्रिय रुप ग्रहण गर्न सकेन । कांग्रेस र माओवादीसँग चित्त दुखाएका नेपालको भावी यात्राबारे विभिन्न शंका उपशंका आरम्भ भएका छन् ।

माधवकुमार नेपाल सानो कुराले हौसिने र सानै चोटले तर्सिने नेतामा पर्नुहुन्छ । सैद्धान्तिकभन्दा व्यवहारवादीको पहिचान बनाउनुभएका नेता नेपाल एमालेको काँधमा रातारात दाहाल प्रधानमन्त्री बनेपछि झस्किनुभएको छ । आफूलाई थाहै नदिई समीकरण बनेको स्थितिमा न दाहाल सरकारलाई खुलेर समर्थन गर्नुभएको छ, न निरपेक्ष रहने आँट नै । दाहाल-ओलीको सहकार्यसँगै मूलधारमा रहेका कम्युनिष्टहरुको गौरवलायक सरकार बनाउने रहर सुरु भएको छ ।

त्यसको सुरुवात नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सरकारमा ल्याएर गर्ने योजना प्रधानमन्त्री दाहालको छ । दाहालको इच्छामा हारिजिति ओलीले पनि हरियो बत्ती बाल्ने लक्षण देखिएको छ । त्यसो त प्रत्यक्षमा १० सीट जितेको एकीकृत समाजवादीमा कम्युनिष्ट नेतृत्व सरकार बनाउनुपर्ने पक्षधरताको बहुमत छ । मन्त्रीका आकांक्षीलाई चित्त बुझाएर पार्टीको अस्तित्व बचाउने दायित्व पनि नेपालको काँधमा छ । त्यसैले अध्यक्ष नेपालको निर्णय यतिबेला बहुप्रतिक्षित बनेको छ ।

सत्ताको छिनाझम्टीले नेपाल कम्युनिष्ट पार्टी विघटन भएयता एकअर्कालाई अपराधी करार गर्न अनेक लाञ्छना लगाएका ओली–दाहालको यसरी सहयात्रा होला भन्ने नेता नेपाललाई नै पत्तो थिएन । प्रधानमन्त्री पदलाई प्रतिष्ठाको सवाल बनाएका दाहालले कांग्रेस र नेकपा एससहितको गठबन्धन तोडेर एमाले, रास्वपा, राप्रपालगायत ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेपछि नेता नेपालको मन कुँडिएको छ । तर प्रधानमन्त्री दाहालले स्वभावअनुसार गल्ती भएको भन्दै क्षमायाचना गरिसक्नुभएको छ ।

दोस्रो तहका एमाले नेताहरु पनि समाजवादीलाई गठबन्धनमा भित्र्याउनेमा नरम देखिएका छन् । कुनै समय माधव नेपालको नाम लिएर एकछिन पछि कुल्ला गर्छु भन्ने अध्यक्ष ओली र प्रधानमन्त्री दाहालले नेपालको पुनरागमन विषयमा सकारात्मक वार्ता गरिसक्नुभएको छ ।

नेकपा समाजवादीका नेताहरु नयाँ गठबन्धनसँग मिलेर जाने पक्षमा लचिलो देखिएका छन् । दाहाल नेतृत्वको सरकार बनेपछि नेता नेपालका अभिव्यक्ति त्यति निरासाजनक छैनन् । उहाँले आफूहरु पर्ख र हेरको नीतिमा रहेको र यो सरकारप्रति नकारात्मक नरहेको धारणा प्रकट गर्दै आउनुभएको छ । ओली–नेपालबीचको तिक्ततापूर्ण सम्बन्ध विस्तारै सुमधुर बन्दै जाँदा नेपाल पुरानै घरमा ओत लाग्ने सम्भावना धेरै भए पनि गुँड बसाल्ने अवस्था भने अहिले नै देखिँदैन । उसो त ओलीपछि पार्टी नेतृत्व ताकिरहेका एमाले नेताहरु पनि नेपाललाई सहजै स्वीकार्न तयार देखिँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here