मरेका पशुको पनि मूल्य !

0
164

विनोद सापकोटा,
शिवगञ्ज ।

शिवसताक्षी–६ की अञ्जु खतिवडाले मरेर खाडलमा पुरेका पशुको पैसा (क्षतिपूर्ति) पाइन्छ भन्ने पत्याएकी थिइनन् । हाट बजारमा लगेर वा घरैमा मोलमोलाई गरेर बेचेको जस्तै गरेर खतिवडाले शुक्रबार वडा कार्यालयमै पैसा पाउँदा निक्कै खुशी भइन । ‘बीमा नराम्रो होइन रहेछ, अब व्यवसायिक रुपमा पशुपालन गर्छु’– उनले भनिन् ।

उनले पालेका तीन वटा बाख्राको बीमा वडा कार्यालयले गरेको थियो । बीमा गरेका सबै बाख्रा मरेपछि उनले वडामा खवर गरेकी थिइन् । वडाले बाख्राको बीमा गरेको कम्पनीलाई पत्राचार गर्यो । वडा र बीमा कम्पनीका प्रतिनिधि किसानका घरैमा गए । मरेका बाख्राको आवश्यक विवरण लिएर किसानलाई बीमा दावी भुक्तानी दिनका लागि बीमा कम्पनीले कारबाही शुरु गर्यो ।

खतिवडाको टाट्नाका बाख्रा गएको जेठमा विभिन्न रोग लागेर मरेका थिए । पुसमा पैसा पाउँदा उनले खुसी हुँदै भनिन्– ‘वडाध्यक्षको जवरजस्तीले बीमाको फारम भरेको थिएँ । अहिले हातमा बीमाको पैसा हाउँदा छक्क परेको छु ।’ बीमाबाट पाएको पैसाले बाख्रा किन्ने र अब आफैं पशुको विमा गर्ने उनले बताइन् ।

खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको ३० हजार ४९० रुपैँयाको चेक पाएकी थिइन् । उनले शुक्रबारै भुक्तानी लिएकी छन् । बीमाबापत एक वर्षभित्र पशु दुर्घटना वा रोग लागेर मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ । पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न र नश्ल सुधार तथा वडालाई दूध, दही, घ्यूमा आत्मनिर्भर बनाउनका लागि पशु बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले बताए ।

शिवसताक्षी–६ले १६० किसानको गत वर्ष निःशुल्क पशु बीमा गरिदिएको थियो । पशुपालनबाट किसानको आय–आर्जनमा वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले वडामा निःशुल्क पशु बीमा अभियान चलाइएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । ०७६देखि नै वडामा पशु बीमा कार्यक्रम सञ्चालनमा छ । जिल्लामा पहिलोपटक शिवसताक्षी नगरपालिका–६ले पशु बिमा कार्यक्रम सञ्चालन गरेको थियो ।

‘एक घर एक पशु बीमा’ कार्यक्रम अन्तर्गत किसानले पालेको गाई, भैंसी, बाख्रा, बङ्गुरलगायतको निःशुल्क बीमा गरिएको र सो बापत बीमा कम्पनीलाई बुझाउनुपर्ने सम्पूर्ण शुल्क वडा कार्यालयले नै भुक्तानी दिएको वडा अध्यक्ष कार्कीले बताए ।

बीमा कम्पनीले बीमा गरेको पशुको कानमा सिरियल नम्बरसहितको ट्याग लगाइदिन्छ । बीमाको दाबी भुक्तानी माग गर्ने किसानले पशु मरेको तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस–पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ ।

वडाध्यक्ष कार्कीका अनुसार शुरुमा किसानले नबुझेर बीमा गर्न मानेका थिएनन् । अहिले किसानले पशुको बीमा गर्ने कार्यक्रम वडामा भए नभएको बुझ्नेको ताँती छ । दिनमा दुई तीनवटा फोन त पशु बीमाकै आउने गरेको छ ।

स्थानीय बालकृष्ण शिवाकोटीको पनि दुईवटा गाईको बीमा गरेको थियो । व्याउन नसकेर एउटा गर्भिणी गाई मर्यो । खाडलमा पुरेको गाईको पैसा आउँछ भन्ने उनले पनि पत्याएका थिएनन् । वडाले बीमाबाट पैसा आएको भन्ने खवर घरैमा पु¥याएपछि वडामा आएका शिवाकोटीले भने– ‘कल्पना नगरेको ३६ हजार मूल्य पाएँ ।’ स्थानीय दुर्गादेवी नेपालको विपन्नतालाई हेरेर वडाले गाईको बीमा गरिदिएको थियो । उनले पनि २७ हजार बीमाको भुक्तानी पाइन् । उनले भनिन्– ‘भिजन भएका अभिभावक वडाले पाएपछि विपन्नको जीवनस्तर उकास्न मद्दत पुग्दोरहेछ ।’

वडाले चालूआर्थिक वर्षमा पनि १ लाख ५० हजार बजेट पशु बीमा कार्यक्रमका लागि छुट्याएको छ । यो वर्ष वडामा पशु पाल्ने किसानको संख्या पनि बढेको छ । गत वर्ष १ लाखको कार्यक्रम भएको वडाध्यक्ष खुलालले बताए । बीमा कम्पनीका अभियकर्तालाई लिएर वडाध्यक्ष आफैं पशु बीमा गराउनका लागि किसानको गोठगोठमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here