यात्री नवराजलाई झापामा स्वागत

0
151

झापा ।

‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सार्थक जीवन’ भन्ने नाराका साथ नेपाल भम्रण शुरु गरेका पत्रकार नवराज भट्टराईलाई नेपाल पत्रकार महासंघ झापा शाखाले स्वागत गरेको छ ।

पत्रकार महासंघ ललितपुर शाखाका सदस्य रहेका भट्टराई भ्रमणका क्रममा झापा आइपुगेसँगै उनलाई झापा शाखा अध्यक्ष एकराज गिरीसहितको टिमले स्वागत गरेको हो । महासंघ झापा शाखाले भट्टराईलाई स्वागतसहित भ्रमण सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित यात्री, लेखक, वक्ता तथा अभियन्ता नवराज भट्टराई (कोहम)ले पुस ५ गतेबाट नेपाल भ्रमण शुरु गरेका हुन् । नेपालसहित विश्वका विभिन्न मुलुक भ्रमण गर्दा समग्रमा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सिप, संस्कार र प्रविधिले युक्त नभएको देखेपछि भोजपुरमा जन्मिएका भट्टराईले भोजपुरको पौवादुङमा गाउँपालिकाकै सिंहदेवी प्राथमिक विद्यालय च्याङ्ग्रे मोहोरियाबाट भ्रमण शुरु गरेका थिए ।

यसअघि उनले भोजपुरकै नारायणप्रसाद भट्टराईसँग नेपालका सबै जिल्ला, भारतका सबै राज्य र तीन केन्द्रशाशित प्रदेश, भुटान, म्यानमार तथा चीनका केही भू–भागको भ्रमण गरी नेपाल भ्रमणका ७३० दिन, विश्वदृष्टि तथा देखेको विश्व र नेपाल तथा नेपाल दर्शन र त्रिदेश दर्शन सार्वजनिक गरिसकेका छन् । २०६५ साल कात्तिक २ गतेबाट पर्यटन र पत्रकारितालाई आधार बनाएर नेपाल भ्रमणमा निस्किएका भट्टराईले त्यसपछि भारत र भुटानसहित म्यानमारका विभिन्न ठाउँमा भ्रमण गरेका थिए ।

३५० रुपैयाँबाट शुरु चरणको यात्रामा निस्किएको बताएका भट्टराईले यसपटकको यात्रामा विद्यालयमा मोटिभेसनका कक्षा समेत सञ्चालन गर्ने बताएका छन् । आफ्नो यात्रा मोटिभेसनमार्फत एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्य दुई वर्षमा पूरा गर्न सम्बन्धित सबैमा सहयोगका लागि उनले हार्दिक अनुरोध गरेका छन् । यस दौरानमा भट्टराईले स्कूल कलेज, विश्वविद्यालय, सरकारी कार्यालय तथा व्यापारिक संघ–संस्थामा मोटिभेसन वर्कशप, सेमीनार तथा कक्षा सञ्चालन गर्ने बताए ।

यात्रामा निस्किएका भट्टराईलाई स्वागत सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी, महासंघ झापा उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाई, सहसचिव अर्जुन राजवंशी, सदस्य रञ्जित परियार, होमप्रकाश अधिकारी, स्वस्तिका आचार्य, स्वतन्त्र पत्रकार संघका झापा अध्यक्ष तथा मिडिया एक्सनका प्रदेश १ संयोजक नरेन्द्र ढकाल लगायतले सफलताको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here