फेरिँदै झिलझिले बजार

0
217

झिलझिले ।

शिवसताक्षीको मुख्य बजार झिलझिलेको सोमबारे हटिया पस्ने सडकमा ‘इन्टरलक टायल’ लगाउन थालिएको छ ।

शिवसताक्षी–८को वडा कार्यपालिका र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा सडकमा टायल लगाउन थालिएको हो । यसअघि यो सडक कालोपत्रे थियो । कालोपत्रे भत्काएर टायल लगाइएको वडा नम्बर ८का वडाध्यक्ष सन्तकुमार फेवदिनले बताए । यो योजना वडा गौरवको योजना हो ।

निर्वाचनका बेला मतदाताको घर–घरमा पुगेर पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका बजारका सडकलाई टायल लगाएर बजारको स्वरुप परिवर्तन गर्ने उनले आश्वासन दिएका थिए । पहिलो चरणमा बजारको बीच सडक अर्थात् सबैभन्दा पुरानो सडकमा टायल लगाइएको उनले बताए । ‘बाँकी सडकको क्रमैसँग स्तरोन्नति हुनेछ’– उनले भने ।

यसअघि सडक डिभिजन कार्यालय दमकले झिलझिले–जनता सडकको पुनः मर्मत गरेको थियो । त्यसदेखि पश्चिम तर्फको सडकमा पनि टायल लगाउने तयारी भइरहेको शिवसताक्षी नगरपालिका वडा नम्बर ८का वडा सदस्य विवेक थिंकले बताए ।

सडकमा टायल लगाउन नगरपालिकाले ७ लाख, वडाले ८ लाख र स्थानीय उपभोक्ताले ३ लाख ७६ हजार ९५० गरेर १८ लाख ७६ हजार ९ सय ५० खर्चेका छन् । ११० मिटर लम्बाइ सडकमा टायल लगाउन शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष राकेश रिजालले बताए । उनका अनुसार साढे ६ मिटर चौडाको यो सडकमा अब धेरै वजन भएका सवारी साधनलाई आउन जान निषेध गरिएको छ ।

साँघुरो र छोटो सडकको कालोपत्रे भन्दा यो टायल वातावरणमैत्री, सस्तो, टिकाउ र आकर्षक साथै चिटिक्क पनि देखिने वडा अध्यक्ष फेवदिनले बताए । टायल बिच्छ्याइएको सडकमा कालोपत्रेको जस्तो धुलो–मैलो नहुने पनि फेउदिनले बताए । शिवसताक्षी नगरका हरेक चोक बजारमा यतिबेला टायल बिच्छ्याउने र टायलको प्रयोग बढ्दो क्रममा छ ।

दुबै किनारमा गमलासहितको पूmल रोप्ने हो भने सडकको अझ आकर्षण थपिने स्थानीयले बताएका छन् । यो सडकलाई सेल्फी रोडका रुपमा विकास गर्न वडापालिकाले योजना बनाएको छ । स्थानीय उपभोक्ताको शतप्रतिशत लगानीमा अतिरिक्त ४६ मिटर सडकमा पनि टायल बिच्छ्याइएको छ । यो योजनाका लागि पालिकाको बजेट छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here