सेवा र समर्पणको सम्मान

0
177

नर्सिङ सेवा भन्नासाथ सम्झना र सम्मानमा आउने नाम हो– ‘फ्लोरेन्स नाइटिङ्गेल’ । बेलायतको एउटा सम्भ्रान्त परिवारमा जन्मिएकी उनले अभावग्रस्त र पीडामा रहेका मानिसहरुको सेवा गर्ने कठोर निर्णय गरिन् । त्यही ब्रत र निर्णय अनुसार क्रिमियामा भइरहेको युद्धका घाइते सिपाहीको सेवा गर्न तयार भइन् । त्यसपछि घाइतेहरुको सेवा गर्ने महिलाहरुको समूह तयार गरी टर्की पठाइन् । त्यसैताका घाइतेहरुको उपचार तथा सेवामा दिन–रात, भोक–तिर्खा नभनी बलेको ‘कुप्पी’ बोकेर भररात सेवा गरेकी कारण ‘लेडी बिथ द ल्याम्प’को उपाधि प्राप्त गरिन् । त्यो उपाधि तिनै घाइतेहरुको रोदन र क्रन्दनबाट सिर्जना भएको सम्मान थियो, जसलाई आज पनि सम्झिइन्छ । नर्सिङ सेवा भन्ने बित्तिकै उनै सेवाकी देवीको स्मरण गरिन्छ ।

त्यो बेला दुःखी, बिरामीको सेवा त गरिन्थ्यो तर त्यो सेवा तल्लो वर्ग र जातका मानिसले मात्रै गर्छन् भन्ने मान्यता थियो । त्यही मान्यतालाई तोडेर, पुुरातनवादी सोचलाई चिरेर ‘मानवताको सेवा नै सर्वोच्च’ सेवा हो भन्ने मान्यतालाई स्थापित गरिन्– उनले । युद्ध विराम भएपछि नर्सिङ शिक्षालाई औपचारिक रुपमा प्रारम्भ गर्दै यो सेवा सम्बन्धी पुस्तक लेखेर यी दुबै विषयलाई विश्वमा स्थापित गर्ने श्रेय यिनै नाइटिङ्गेलले प्राप्त गरिन् । उनकै प्रेरणा, सेवा र योगदानबाट नेपालको नर्सिङ क्षेत्र पनि समृद्ध बनेको छ भने बर्षेनि हजारौंको संख्यामा नर्स उत्पादन भइरहेको छ ।

नाइटिङ्गेलकै प्रेरणाबाट सम्मानित बनेको नेपालको नर्सिङ सेवाले औचापरिकता पाएको साढे छ दशक हुँदैछ । नेपालमा प्रत्येक बर्ष माघ १५ गतेका दिनलाई नर्स दिवसका रुपमा मनाउने गरिन्छ । नर्स भन्ने वित्तिकै अस्पताल र त्यहाँ कार्यरत माया, ममता र सेवाका प्रतिमूर्तिको सम्झना हुन्छ । वीर अस्पतालको स्थापनाको नौं बर्षपछि नेपाली महिला विशेष प्रशिक्षणसहित नर्सिङ पेशामा प्रवेश गरेको इतिहास छ । त्यसपछि औपचारिक शिक्षा ग्रहण गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा सेवा गर्नेहरुको संख्या बढ्दै आज यो आकर्षणको केन्द्र बनेको छ । त्यसो त यो पेशा सहज छैन, रात–दिन नभनी मातृभावले दिन दुःखीको सेवा गर्न तत्पर हुनुपर्दा अनेक व्यवधान आउँछन् नै । तर, ती सबैको सामना गर्दै मानवीय सेवामा समर्पित देशभरका सम्पूर्ण सेवकहरुप्रति नर्सिङ दिवसका अवसरमा शुभकामना । सबैलाई नाइटिङ्गेलकै सेवाभाव र त्यागको अनुशरण गर्दै प्रेरणा र ऊर्जा प्राप्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here