झापामा कुष्ठरोगी बढे

0
172

उमानाथ भण्डारी,
कमल।

रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानुदिन बढिरहेको एक कार्यक्रममा जानकारी दिइएको छ ।

कुष्ठ रोगीहरुको संख्याप्रति दशहजारमा १ जनाभन्दा कम हुनुपर्ने नेपाल सरकारको लक्ष्य भए पनि रोग लुकाएर बसेका कारण त्यो संख्या ह्वात्तै बढेको दमक अस्पतालमा आयोजित विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस–२०२३का अवसरमा कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।

शुरु–शुरुमा वयस्क र वृद्धमा मात्र कुष्ठरोगको संक्रमण देखिने गरे तापनि पछिल्लो समय ५ वर्षदेखि १३ वर्ष सम्मका बालबालिमामा समेत रोग देखिनु भनेको भित्र–भित्रै रोग तीव्र रुपमा फैलिरहेको छ भन्ने कुराको प्रमाण भएको बताइयो । यो रोग परजीवीका कारण मानिसमा लाग्ने गर्दछ । अशिक्षा र सरसफाइमा कमी भएका कारण रोग मनिसमा सर्ने गर्दछ ।रोग लागेको शुरु कै अवस्थामा औषधि प्रयोग गरेमा सजिलै निको पनि हुन्छ तर, ढिलो र नियमित औषधि प्रयोग नगर्ने हो भने अंगभग समेत हुन सक्छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १ सय २१ थियो । यो आर्थिक वर्षको ६ महिनामा ६ जना बच्चा सहित १ सय २० पुगिसकेकोले स्थिति अझ भयाभय हुन सक्ने दमक अस्पतालका डाक्टर गुरु पौडेलले बताए । खानपिन र जीवनशैलीका कारण रोग लाग्ने गर्दछ, समयमा उपचार गर्ने हो भने सबै रोगको उपचार हुन्छ । आर्थिक रुपमा विपन्न र कुष्ठ रोगीलाई तीनै तहको सरकारले सहयोग गरिरहेको छ । यस विषयमा दमक नगरपालिका सचेत छ र कुष्ठ रोगीलाई सहयोग गर्न नगरपालिका तयार रहेको दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले बताइन् ।

विश्वमा उपेक्षित उष्णप्रदेशीय रोग २० प्रकारका भए पनि नेपालमा कुष्ठरोग, हात्तीपाइले, डेंगु, लुतो, कालाजार, रेविज, सर्पदंश, जुका, फित्ते जुका र खस्रे रोग लगायत १० प्रकारका रोग बढी देखिने गरेको कार्यक्रममा जानकारी दिइयो । त्यसलाई न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सहारा नेपालका कार्यक्रम संयोजक पवन राईले बताए । शुरुमा रोगबारे आफूलाई जानकारी भएन, रोगले निकै च्यापेपछि डाक्टरलाई देखाउँदा कुष्ठरोग भएको जानकारी पाएँ, त्यतिवेला सम्ममा निकै ढिलो भएको रहेछ । अहिले नियमित औषधि सेवन गर्दैछु । हिँड्डुल गर्न र काम गर्न सक्ने अवस्था नभएकोले घरमै बस्ने गरेको छु– गौरीगञ्ज–१ निवासी नागेनप्रसाद राजवंशीले भने ।

डाक्टरको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुका साथै रोगलागेको भागलाई समेत नियमित सफा गर्नाले आफ्नो रोगको संक्रमण रोकिएको गौरीगञ्जकै नयलाल राजवंशी बताउँछन् ।

कुष्ठ रोगका विरामीलाई नियमित रुपमा उपचार गर्न र औषधि सेवन गर्न सहज होस् भनेर दमक अस्पतालमा एकीकृत उपचार कक्षको स्थापना गरिएको छ । यहाँ उपचार सम्भव नभए सर्लाहीको लालगढ र ललितपुरको आनन्दवन अस्पतालमा निःशुल्क उपचारका लागि यातायात खर्चसहित व्यवस्था गरिएको करुणा फाउण्डेशनका कार्यक्रम संयोजक अंकित पाठकले बताए । दमक नगरपालिकाका जनस्वास्थ्य अधिकारी नगेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम स्वास्थ्य शाखाका कर्मचारी देवकुमारी न्यौपानेले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here