किचकबध मेला, आइतबार बिदा

0
156

पार्थ मण्डल,
झापा ।

महाभारतकालीन किम्वदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २२ गते आइतबार माघे शुल्क पूर्णिमा÷स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्ने गरेको छ ।

अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण आयोजक समितिले मेला नलाए पनि यस वर्ष मेला लगाउने तयारीमा समिति जुटेको हो । भद्रपुर–२ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिकस्थलमा तीन दिनसम्म लाग्ने मेलाको तयारी भइरहेको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । किचकबधको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ । भक्तजनहरूले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा समेत पूजाअर्चना गर्छन् । किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत आउने गरेकाले भक्तजनको घुइँचो नै लाग्ने गरेको छ ।

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्कीले हानेर मारेको किंवदन्ती छ । सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको नामकरण गरिएको हो ।

भद्रपुर र कचनकवलमा स्थानीय बिदा

किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाकाले शुक्रबार सूचना जारी गर्दै किचकबध मेलाका दिन स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । नगर कार्यपालिका अन्तरगत रहेका सबै निकाय र शिक्षण संस्थामा बिदा दिइएको उनले बताए ।

त्यस्तै कचनकवल गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here