प्रायोजित विद्रोहको संकेत

0
246


अहिलेको संसदीय व्यवस्थाले नेपाली जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सक्दैन भन्ने विचार हाम्रो नेपाल कम्प्युनिष्ट पार्टीले राख्दै आएको हो । हामी कुनै ब्रम्हज्ञानी भएर होइन समाज विकासको नियमको वस्तुगत विश्लेषणको आधारमा पूर्वानुमान गरेका थियौं । २०५२ सालतिर फर्केर हेरौं त्यसबेला हामीले विद्रोहको कुरा गर्दा एमबी सिंहले– ‘गुलेली चलाउन नजान्नेले बन्दुकको कुरा गर्छन’ भन्थे । निर्मल लामाले– ‘पहरामा टाउको ठोक्नेलाई राम–राम भन्न सकिन्छ काँध थाप्न सकिन्न’ भनेका थिए । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले– ‘तीन महिनाभित्र समाप्त गर्ने’ धम्की दिएका थिए । तर, यी सबै घोषणा र गुप्तचर विभागका प्रक्षेपणहरु गलत सावित भए । जनयुद्ध बिस्तार भएर गयो ।
हाम्रा नीति र कार्यक्रमहरु समाज विकासको नियम अनुसार भए भने सफलता प्राप्त हुन्छ । तर, त्यसको प्रतिकूल भए भने असफलता प्राप्त हुन्छ । नेपाली जनताले शोषण र उत्पीडनबाट मुक्ति चाहेका थिए । सत्तारूढ कांग्रेस र एमाले पार्टीबाट त्यो काम भएन । सामन्तवाद र साम्राज्यवादसँग लडिरहेको पार्टी माओवादी मात्र थियो त्यसैले जनताले माओवादीलाई समर्थन र सहयोग गरे । नेपाली समाजको दिशा सामन्तवाद र साम्राज्यवादबिरुद्ध थियो । त्यो कुरा माओवादीले बुझ्यो । त्यसैले कसैले नपत्याएको सानो शक्ति मुख्य शक्तिको रुपमा आयो ।
राजतन्त्र ढल्यो आज पुरानै संसदवादी दल सत्तारुढ दलको रहेको छ । नेपाली नागरिकता लिएका मारवाडी नामका भारतीयहरुको हातमा अर्थतन्त्र कैद भएको छ । नेपालमा कमाएर भारतमा थुपार्ने गरेका छन् । तिनै व्यापारीको कारिन्दाको रुपमा संसदीय व्यवस्था नाचिरहेको छ । आर्थिक–शक्ति र तिनीहरुद्वारा नाचिरहेको राजनीतिक प्रणालीबिरुद्ध जनता छन् । यो नेपाली समाजको अपेक्षा र आवश्यकता हो । हाम्रो पार्टी यो पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा छ । त्यसैले हाम्रो विकास निश्चित छ भन्ने हामी ठान्छौं ।
संसदीय व्यवस्था असफल भयो भन्नुको अर्थ पश्चगमन वा राजतन्त्र भन्ने हुँदैन । राजतन्त्र त संसदीय व्यवस्थाभन्दा पनि पश्चगामी र जनविरोधी प्रणाली हो । संसदीय व्यवस्थालाई एउटै (पुरानै) सारतत्व बोकेका तर नयाँ पात्रद्वारा प्रतिस्थापित गर्ने खेलहरु भइरहेका छन् । त्यसो गर्नु भनेको ‘तावाबाट हाम फालेर भुङ्ग्रोमा’ भने झैं हुनेछ । समस्या सिस्टममा हो कि सोसाइटीमा । यो नै आजको बहसको केन्द्रमा छ । सोसाइटी वा नेता र पार्टीमा मात्र समस्या देख्नु भनेको ‘टाउको दुखेको औषधि नाईटोमा’ भने झैं हुनेछ ।
रवि लामिछाने देशको नागरिकता त्यागेर, देशप्रति गद्धारी गरेर अमेरिका गएका एक मान्छे हुन् । उनले सांसद हुनासाथ व्यवस्था होइन अवस्था फेर्न लाग्ने बाचा गरेका थिए । उनी यही व्यवस्थाभित्र सुधारको पाखण्डी कुरा गर्दछन् । दोहोरो राहदानी लिएका मान्छेले देशको भलो गर्ने कुराको अपेक्षा आफैमा मुर्खतापूर्ण छ ।
मध्ये तराईमा विद्रोको मुद्दा उठाउने सिके राउतलाई नाटकीयरुपमा उभ्याइएको हाम्रो ठहर छ । थारुहाटमा त्यस्तै पात्र रेशम चौधरीको उदय गराइएको छ । झापा, मोरङ्ग र सुनसरीमा दुर्गा प्रसाईं जस्ता विचारमा विचलित पक्षपाती (धर्म र राजतन्त्रका हिमायती)लाई उभ्याउन खोजिएको छ । जसको प्रत्यक्ष ‘बुस्टर’ विभिन्न संघ–संस्थाहरु रहेका छन् भने अप्रत्यक्ष ‘बुस्टर’मा राजावादी कुलीन शक्ति र पछौटे धार्मिक शक्तिहरु छन् ।
कांग्रेस र एमाले जस्ता पुराना नेताको स्थानमा नयाँ जेलेन्स्कीहरु तयार गर्ने, पुराना पार्टीको स्थानमा पुरानै सारतत्व बोकेका नयाँ पार्टीहरु उभ्याउने षड्यन्त्र भइरहेको छ । संसदमा भएका कम्युनिस्ट पार्टीलाई संसदमै समाप्त पार्ने, सडकमा भएकालाई दमन गरेर सिध्याउने षड्यन्त्र देखिन्छ ।
अमेरिकासामु एमाले र कांग्रेस पनि घाँडो भएका छन् र जेलेन्स्कीहरुको खोजी भइरहेको छ । सजिलै नयाँ शक्तिहरु उदय भएन भने दुर्गा प्रसाईं, सिके राउत, रबि लामिछाने, रेशम चौधरी र राजेन्द्र लिङ्देन समेतले राष्ट्रपतीय प्रणालीको माग गरेर विद्रोहको आह्वान नगर्लान् भन्न सकिन्न । जसलाई पुराना पार्टीभित्रका थुप्रै नेताहरुले समर्थन गर्न सक्छन् । सदनमा त्यसै पनि राष्ट्रपतीय प्रणालीको चर्चा भइरहेकै छ ।
देशको राजनीतिक निकासको लागि समाजवादी व्यवस्था आवश्यक छ । तर, राष्ट्रपतीय प्रणालीको मागद्वारा जनताको असन्तुष्टि र परिवर्तनको चाहनालाई संसदीय प्रणाली वरपर घुमाइरहने चालबाजी देखिन्छ । जसलाई समयमा नै जनपरिचालन तथा खबरदारी गर्न आवश्यक छ । जसका लागि नेपाल कम्प्युनिष्ट पार्टीले विभिन्न जनसरोकारका विषयलाई उठान गरेर मेचीबाट शुरुवात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here