भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्रीसहित स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी टोली पठाउने निर्णय गरेको हो । मानवीय गुण नै हो कि एउटालाई आपत–विपद् पर्दा अर्को मानिसले सघाउनु पर्दछ । सामाजिक सद्भाव पनि हो कि एकअर्काको दुःख पीडामा साथ र सहयोग गर्नु । त्यसमाथि असल मित्र राष्ट्रका रुपमा टर्कीले नेपालमा परेको विपद्को घडीमा सहयोग गरेको थियो । यसअर्थमा उसले गरेको गुनको बदलामा सकेको सहयोग गर्नु जो कसैको धर्म हो ।
गत सोमबार टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ । भूकम्प गए लगत्तै राहत तथा उद्धारमा खटिएका सहायता संस्थाहरुले भग्नावशेषमा पुरिएकाहरुलाई जीवित भेट्ने सम्भावना न्यून रहेको जनाएका छन् । भूकम्पमा भएको भौतिक क्षतिको अवस्था हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्ताले बताएका छन् । राहत तथा उद्धारमा खटिनेहरु रातदिन काममा जुटेका छन् । तर, मौसमको प्रतिकूलताका कारण उद्धारमा असहज भइरहेको बताइएको छ । सोमबार बिहान टर्कीको गाजियान्टेपलाई केन्द्र बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले हजारौं भवनहरु भत्किएका छन् । भूकम्पका कारण दश वटा क्षेत्र बढी प्रभावित बनेको त्यहाँको सरकारले जनाएको छ । टर्कीमा गएको भूकम्पमा नेपाली पनि प्रभावित हुनसक्ने भन्दै उनीहरुसँग सम्पर्कको प्रयास भइरहेको गैरआवासीय नेपालीको संगठनले जनाएको छ । यस्तोमा नेपालबाट पठाइने उद्धार टोलीले पनि उनीहरुसँग सम्पर्क गर्ने र आवश्यक राहत तथा सहयोग गर्नुपर्नेछ ।
नेपाल पनि भूकम्पको उच्च जोखिममा रहेको देश मै पर्छ । विगतमा गएका विनाशकारी भूकम्प र त्यसको असरबाट सिकेर पूर्व तयारी र प्रतिकार्यका लागि जहिल्यै तयार रहनुपर्नेछ । त्यसो त हरेक वर्ष माघ २ गतेका दिन नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ, सचेतनाका विभिन्न कार्यक्रमहरु पनि गरिन्छ । तर, भूकम्प कहिले, कुन समयमा र कुन ठाउँमा जान्छ भनेर संकेत गर्ने प्रविधिको विकास भएको छैन । त्यसैले विगतमा भएका अध्ययन तथा भूकम्पविद्हरुको भविष्यवाणीका आधारमा हामीले सचेतना अपनाउनै पर्दछ । भूकम्पीय जोखिमका आधारमा नेपाल ११औं स्थानमा रहेकाले जोखिम न्यूनीकरणमा बढी ध्यान दिनु उपयुक्त हुन्छ । त्यसका लागि पूर्व योजनासहितको कार्यक्रम मार्फत भूकम्पीय क्षतिलाई कम गर्नेतर्फ राज्यको ध्यान जानुपर्दछ । भौतिक संरचनाको निर्माण गर्दा पनि जोखिम न्यूनीकरणको अवधारणालाई महत्वका साथ लागू गरियो भने यो र यस्ता प्राकृतिक विपद्हरुबाट जोगिन सकिन्छ ।




























