पद्य कविता संग्रह

0
455

 

नेपाली भाषा साहित्यलाई समृद्ध पार्न धेरै–धेरै स्रष्टाहरुले योगदान गरेका छन् । एक स्रष्टा हुन्– ‘डि.बि. इलामे’ । उनको नवीन कृति ‘कथा÷ब्यथा’ पद्य कविता संग्रह भर्खरै प्रकाशित भएको छ ।
‘डुब्छन् सिर्जना सिन्धुमा गहिरिई डि. बि. इलामे जहाँ, धेरै छन्द टिपेर काव्य रसमा आस्वाद दिन्छन् । उहाँ, वर्षौंवर्ष यसैगरी कलमले धान्ने गरुन् यो थलो, के दिन्थ्यो अब बुँदले हृदयले यस्तै चितायो भलो ।’ – बुँद राना ।
नेपाली साहित्य ढिकुटीमा एकपछि एक काव्यहरु थप्दै, जाने कवि डि.बि. इलामको यो काव्य यात्रा झन्झन्, चम्किलो र सफलतम् हुँदै जाओस् भन्ने कामनाका साथ, उहाँको नवप्रकाशित कृतिको सफलताको आशा गर्दछु । –कृष्ण धराबासी । चर्चित साहित्यकारहरुका यी उद्गारहरुबाट पनि जान्न सकिन्छ कि कवि डि.बि. इलामेका नवीन कृति उच्च कोटीको छ भनेर ।
विद्वान तथा साहित्यकार सोम निरौलाका शब्दहरुबाट जानौं यस कृतिका विशेषताहरु– ‘कवि डि.बि. इलामेका कविता देश प्रेमले भरिएका हुन्छन् । भ्रष्टाचार, विकृति विसंगतिबिरुद्धमा आगो ओकल्दै लोकतान्त्रिक र न्यायपूर्ण समाजको निर्माणमा वकालत गर्दछन् । कवि उमेरले पाका भए पनि उनका कविता जवान देखिन्छन् । कवि इलामे समाजको उन्नति प्रगतिको लागि कलम चलाउँछन् । त्यसो त उनका कवितामा कल्पनाभन्दा बढी यथार्थता पाइन्छ । इलामे, समाजका वास्तविक समस्याहरुलाई टिपेर आफ्ना कवितामा सजाउँछन् । उनमा आफ्नो पन छ । इलामको प्राकृतिक सौन्दर्य आँखाभरि मनभरि सजाएका कविका कवितामा प्राकृतिक सौन्दर्य आँखाभरि पोखिनु अनौठो कुरा होइन । यस संग्रहभित्रका कविताले कवि धार्मिक स्वभावका छन् भन्ने कुरा छर्लङ्ग हुन्छ । उनी जीवनलाई क्षणिक मान्दछन् र यसप्रति सचेत रहन आह्वान गर्दछन् । चम्किलो देखेर बत्तीसँग झुम्मिने पुतलीलाई क्षणभरमा आफू खरानी बन्छु भन्ने कुरा थाह हुँदैन । ऊ काललाई सुन्दर देख्छ । पुतलीलाई प्रयोग गरेर कविले जीवनको यथार्थ बुझ्न अनुरोध गरेका छन् । उमेरले पाका भएका कवि आफ्नो जीवन भोगाइबाट जीवनको यथार्थ परिभाषा निर्माण गर्न सफल भइसकेका छन् । जसलाई उनका हरेक कवितामा पढ्न पाइन्छ ।’ साहित्यकार निरौलाका यी विचारबाट पनि जान्न सकिन्छ कि कवि इलामेका कविता उच्च स्तरका छन् भनेर ।
यस नवीन कृतिका कृतिकार कवि इलामे आफ्नो मन्तव्यमा लेख्छन्– ‘यो पुस्तक मेरो सातौँ प्रकाशनमा पर्दछ । यसमा दुईवटा लघु कवितासहित ९३ वटा कविता समेटिएका छन् । गहनताको लेखाजोखा मैले गर्न चाहिनँ । किन्तु केही समकालीन विकृतिहरुका बारेमा केही अर्थ र महत्व भने छन्दोबद्ध शैलीमा बोकेका छन् भन्ने ठान्दछु । यथार्थभन्दा बाहिर जान नचाहे पनि केही श्रृंगारिक र करुण भावका मानव वेदना भने यसमा नपोखिएका होइनन् र पोखिए पनि कसैको जीवनमा मेल खाए त्यो संयोग मात्र हुने र लेखकले यसलाई लेखकीय सफलता मान्ने कुरामा दुईमत नहोला ।’ कवि इलामेले यसरी अरु धेरै कुराहरु पनि व्यक्त गरेका छन् ।
कवि इलामेका यस कृतिमा कविताहरु छन्दमा सिर्जना भएका छन् । स्वागता, स्रग्धरा, भुजङ्गप्रयात, महालक्ष्मी, चम्पकमाला, स्रग्विणी, दोधक, भद्रिका, इन्द्रबज्रा, शार्दुलविक्रीडित, शालिनी, उपेन्द्रबज्रा, स्वछन्द, पञ्चचामर, मल्लिका, उपस्थिता, संयुक्ता, रथोद्धता, अपरान्तिका, बंशस्थ, पृथ्वी, बसन्ततिलका, शिखरिणी, झ्याउरे छन्दहरुमा कविता सिर्जना गरिएका छन् । सबैजसो छन्दमा कविता लेख्नसक्नु अब्बल तथा उच्च ज्ञान, सिप र क्षमताको परिचय हो ।
कवि इलामेका कविताहरु मध्येका केही कवितांश पढौँ, परदेश पुगेपछि छोरा शीर्षकको कविताबाट, ‘जननि मुटुभरीकी आज छोडी पिँढीमा, उडिकन म गएँ त्यो कर्मकारी जिमीमा, चयन पनि त मेरो यो नपाई नपाई, पनि त ठीक छ भन्दै हिँड्नु पर्यो म रोई ।’ अर्को कविताको अंश– ‘छन् यहाँ तत्व सारा सही बुझ्नमा, सक्त हामीकहाँ छौँ यहाँ शून्यमा, तै बुझेँ तत्वज्ञानी बढेरै अघि, लाग्नु नै हो तिनैको त हामी पछि ।’ यस्तै–यस्तै यथार्थ, रोचक र चोटिला कविताहरु यस कृतिमा समेटिएका छन् ।
प्रथम उद्गार, यही देशको निम्ति, वियोग व्यथा, मोती सम्झना, घुम्टोभित्र, कथा÷व्यथा, इलाम सम्झँदा, तिमी सम्झँदा, भोगाइका क्षणहरु, गुप्त वेदना, बैँश फुल्दा, वृद्धकाल, यो देशको गौरव, अध्यात्म तत्व– शीर्षक लगायत रोचक शीर्षकका करिब ९० भन्दा बढी कविताहरु यस कृतिमा समेटिएका छन् ।
‘डि.बी. इलामे’ साहित्यमा बहुआयामिक प्रतिभा हुन् । यस अघि उनका आधा दर्जन कृति प्रकाशित भएका छन् । नदीका दुई किनार (कविता), बैँशका फूल (खण्डकाव्य), विलाप लहरी (खण्डकाव्य), आखिर जिन्दगी (उपन्यास), मुलुकभित्र (उपन्यास) र अंंग्रेजी भाषामा समेत चार्म अफ् ब्यूटी (कविता संग्रह) प्रकाशित भएका छन् ।
फुटकर साहित्य सिर्जनामा समेत सक्रिय उनका सिर्जनाहरु मधुपर्क, तन्नेरी, अनुराग, बगर, सगर (वीरगञ्ज), यथार्थ कुरा (भद्रपुर), आँखा, हाम्रो ध्वनी (गुहावटी), सगरमाथा दैनिक शिलगढी भारत, जमर्को इलाम, मेची पद्यमाला, करुण क्रन्दन, माइबेनी, सन्दकपुर दैनिक, लोक चक्षु र मोती समस्यापूर्ती लगायत देश तथा विदेशका विभिन्न स्थानबाट प्रकाशित हुने प्रकाशनमा प्रकाशित भएका पाइन्छन् ।
कर्मको रुपमा लामो समयसम्म निजामती कर्मचारीको रुपमा नेपाल राष्ट्रको सेवामा प्रवेश गरेका उनले वि.सं. २०३० सालमा जिल्ला शिक्षा कार्यालयबाट राष्ट्रसेवा शुरु गरी उनको कर्म यात्रा जिल्ला प्रशासन कार्यालय, कारागार शाखा प्रमुखसम्म रहेर २०५७ मा सेवानिवृत्त भएका हुन् । राष्ट्रसेवाका साथै साहित्य सिर्जनामा समेत उत्तिकै सक्रिय स्रष्टा इलामेका साहित्यहरु सिर्जनाहरु उत्कृष्ट रहेका पाइन्छन् ।
स्रष्टा इलामे विभिन्न पुरस्कार र सम्मानहरुले पुरस्कृत तथा सम्मानित भएका छन् । (१) नगर प्रतिभा विकास शाखा (कविता गोष्ठी) वि.संं. २०४४, (२) इलाम क्याम्पस (१९३औँ भानु जयन्ती) वि.सं. २०६३, (३) भानु जयन्ती समारोह वि.सं. २०६७, (४) नेपाल साहित्य गुठी काठमाडौ, वि.सं. २०५०, (५) देवकोटा शतवार्षिकीमूल समारोह समिति वि.सं. २०६८ ।
साहित्यकार इलामे समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । (१) संस्थापक अध्यक्ष, समता सा. परिवार इलाम वि.सं. २०५०, (२) सम्पादन (क) समता लहर पत्रिका ३ अंकसम्म, (ख) समता वाङ्मय अंक १ वि.सं. २०५५, (३) आजीवन सदस्य, गुरुकुल संस्कृत वाङ्मय अ.के. बरबोटे, (४) आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी इलाम, (५) सदस्य (हाल), नेपाल ज्योतिष परिषद् जि.स. इलाम, (६) अध्यक्ष (हाल), इलामेली साहित्य प्रतिष्ठान इलाम ।
जीवनको लामो समयसम्म इलाम बसोबास गरेका उपन्यासकार इलामे हाल बिर्तामोड नगरपालिका वडा नंं. १ जगतबस्ती दुर्गा पाञ्चायन टोल बसोबासी रहेका छन् । साहित्य अध्ययन तथा लेखनमा रुची राख्ने इलामेमा अर्को छुट्टै गुण, एक पारङ्गत ज्योतिष ज्ञान रहेको छ । चिना बनाउने, चिना हेर्ने काममा समेत निकै सिपालु पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here