कनकाईमा किसानलाई जियो कृषि एप

0
241

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकाले किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न जियो कृषि एप (मोबाइल एप) शुरुवात गरेको छ ।

एक कार्यक्रमका बीच संविधानसभा सदस्य एवं अभियान नेपालका अध्यक्ष प्रेम गिरी र हेफर नेपालका क्षेत्रीय प्रबन्धक दीपेश पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई डिजिटल मेसिन (किओस्क) हस्तान्तरण गरे ।

अभियान नेपालका अध्यक्ष गिरीले स्थानीय स्तरमा रहेका कृषकहरूलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउने उद्देश्यका साथ कनकाई नगरपालिकालाई डिजिटल मेसिन (किओस्क) प्रदान गरिएको बताए ।

यसबाट कृषि सूचना तथा प्राविधिक परामर्श सेवा समेत प्रवाह गर्न सकिने गिरीले प्रष्ट पारे । किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवा समेत उपलब्ध हुनेमा गिरीले जोड दिए । ‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ,’ गिरीले भने, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।’
मेसिन ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हेफर नेपालले कनकाई नगरपालिकालाई गरेको सहयोगप्रति आभार प्रकट गरे । हेफर नेपालसँगको सहकार्यमा कनकाई नगरपालिका कृषि क्षेत्रमा नमुना नगर बन्ने विश्वास व्यक्त गरे ।

जिओ कृषि एप मार्फत किसानले बढीभन्दा बढी फाइदा लिन सक्ने र नगरपालिकाले यसको सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिने कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुनाथ उप्रेतीले बताए ।

यो एप परीक्षणकै क्रममा कनकाई नगरपालिका क्षेत्रका २ सय ६५ जना किसान आबद्ध भइसकेको जानकारी दिँदै कृषि शाखा प्रमुख उप्रेतीले जिओ कृषि एपमा कनकाई नगर क्षेत्र भित्र लगाइने बढीभन्दा बढी बालीनालीलाई प्राथमिकताका साथ स्थान दिइने बताएका छन् ।

परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका अगुवा किसानहरुले आफूहरूका लागि यो प्रविधि निकै उपयोगी र आवश्यक रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here