अर्जुनधारा धाममा नवनिर्मित पार्वतीको मन्दिर र १०८ शिवलिङ्गको उद्घाटन

0
213

अमित खम्बू/अर्जुनधारा ।

महाशिवरात्री पर्वको अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा नवनिर्मित माता पार्वतीको मन्दिर र १०८ शिवलिङ्गको शनिबार उद्घाटन गरिएको छ ।

बिर्तामोड–३ निवासी कमल+झुमादेवी बस्नेतबाट आमाबुबा भीमबहादुर+सावित्रादेवी बस्नेतको स्मृतिमा निर्माण गरिएको उक्त मन्दिरको प्रमुख अतिथि भारतको हिमाचल प्रदेशस्थित केदारनाथ धामका आदिदेव बाबा बर्फानीजीले उद्घाटन गरेका थिए ।

त्यसैगरी १०८ शिवलिङ्गको आचार्य आशुतोष खनालले उद्घाटन गरेका थिए । उक्त मन्दिर र शिवलिङ्गको उद्घाटन अघि गत फागुन १ गतेदेखि ६ गते महाशिवरात्री पर्व सम्म धामका व्यासाचार्य कुवेर सुवेदी र मूलअर्चक अग्निप्रसाद सिग्देलको प्रमुख आचार्यत्व, ११ जना विशिष्ठ गुरु र ३५ जना बटुकबाट विविध धार्मिक अनुष्ठान, दैनिक हवन, रुद्राभिषेक, प्राण प्रतिष्ठा र दैनिक गंगा आरती भएको मूलअर्चक सिग्देलले बताए ।

त्यस्तै पोखरा निवासी डा.हीरालाल कोइरालाको परिवारबाट धाम प्रवेश गर्ने पश्चिमतर्फ नवनिर्मित प्रवेशद्वारको पनि उद्घाटन गरिएको छ । निर्माण भएका सबै संरचनाहरु धामको गुरुयोजना अनुसार नै निर्माण भएको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले दावी गरे ।

एउटा शिवलिङ्गमा पूजाअर्चना गर्दा जति फल प्राप्त हुने गर्दछ त्यस्तै १०८ शिवलिङ्गमा पूजाअर्चना गर्दा त्यही बराबरको फल प्राप्त हुने हुँदा यसको विशेष धार्मिक महत्व रहेको मूलअर्चक सिग्देलले जानकारी दिए । चन्द्रमा आकारको शिवलिङ्ग जहाँ आकर्षक शैलीको परिक्रमा मार्गको व्यवस्थापन भएको हुँदा यहाँ निर्माण भएको १०८ शिवलिङ्ग देशकै उत्कृष्ट भएको उनले दावी गरे ।

धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता दम्पत्ती कमल+झुमादेवी बस्नेतलाई अभिनन्दन पत्रद्वारा अभिनन्दित गरिएको थियो ।

सोही कार्यक्रममा समितिलाई अर्जुनधारा–७ निवासी दुर्गाप्रसाद+मञ्जू बाँस्तोला भट्टराईबाट धाम अन्र्तगत रहेको गुरुकुल सञ्चालनार्थ स्थापना भएको अक्षयकोषको लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो । दाता भट्टराईले रकम बराबरको चेक समितिका अध्यक्ष गट्टानी र कोषाध्यक्ष जोशीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मूल अर्चक सिग्देल, आचार्य आशुतोष खनाल, माता पार्वती मन्दिरका डिजाइनर प्राविधिक शंकर सुवेदीलगायतले मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य भानुप्रसाद शिवाकोटीले गरेका थिए ।

समितिका अध्यक्ष गट्टानीका अनुसार रात्री चार प्रहर पूजा तथा कलाकारहरुबाट “एक साँझ शिवको माझ” भजन सन्ध्या कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here